१५ फाल्गुन २०७७, शनिबार

हामीले प्राविधिक शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छौंः मन्त्री ज्वाला



१८ मंसिर, सल्यान । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । उनले प्रदेश सरकारका तर्फबाट प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्न आवश्यक कार्यक्रम अगि बढाइएको बताए ।

सल्यानमा शहिद नेत्रलाल अभागि प्राविधिक शिक्षालयको भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले अहिलेको युग भनेको प्राविधिक शिक्षाको युग भएकाले अवको शिक्षा उत्पादन र स्वरोजगारमुलक हुनु पर्ने बताए ।

शिक्षा बिना मान्छे असाह्य जस्तै हुने भएकाले मान्छेलाई अनुशासन बनाउन र आचरण बदल्नको लागि शिक्षा नै महत्वपूर्ण हुने मन्त्री ज्वालाले बताए । धेरै युवा युवतीहरुले डिग्री पास गरेर प्रमाणपत्र बाकसमा थन्क्याउनु परेकाले अवको शिक्षा भनेको रोजगार र उत्पादनमा केन्द्रित हुनु पर्नेमा उनले जोड दिए ।

मन्त्री ज्वालाले भने, ‘अवको युवा पढ्दै र सिप पनि सिक्दै जाओस्, रोजगारी पनि प्राप्त गर्दै जाओस्, रोजगारी प्राप्त गरेपछि आम्दानी पनि बढछ । अवको शिक्षा समृद्धिको लागि हो ।’

अवको शिक्षालाई नमुना प्राविधिकको रूपमा लैजानको लागि भौतिक पूर्वाधार निर्माण, अन्य बिषयहरुको पढाई पनि संचालन गर्नुपर्ने उनको भनाई छ । अहिले यहाँ इन्जिनियरिङ र पशु बिज्ञान बिषयको पठनपाठन भैरहेकाले यतिले मात्र नभएर वन बिज्ञान, कृषि बिज्ञान जस्ता विषयहरू समेत थप्नु पर्ने बताए । प्राविधिक शिक्षालय स्थापना भए पछि पहिले जिल्लाका विद्यार्थीहरु प्राविधिक तथा सिपमुलक शिक्षा आर्जनका लागि बाहिर गएको र अहिले बाहिरी जिल्लाबाट विद्यार्थीहरु शिक्षा आर्जनको लागी सल्यानमा आइरहेको मन्त्री ज्वालाले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका उप–प्रमुख हरि प्रकाश बुढाथोकी, नेकपाका नेता रमेश मल्ल, प्राविधिक शिक्षा तथा तालीम परिषदका कर्णाली प्रदेश निर्देशक हेमन्त पराजुली लगायतले आफ्नो विचार राखेका थिए।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु