नेकपाको सचिवालय बैठकमा चर्काचर्की
१६ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बाझाबाझ भएको छ। बैठकको सुरुवातमै प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिन भएकाले शुभकामना दिऔं भन्दै केट काट्न लगाएका थिए ।
महासचिव विष्णु पौडेलको जन्मदिनको केक काटिसकेपछि अध्यक्ष एवम् प्रधानमन्त्र ओलीले बैठक सुरु भएको बताउँदै कार्यकारी अध्यक्ष प्रचण्डतिर हेर्दै आजको एजेण्डाचाहिँ के हो नि ! भनेर ठाडो रूपमा प्रश्न गरे । जवाफमा कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी जटिल मोडमा रहेको भन्दै दुबै प्रतिवेदनमाथि छलफल गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने बताए ।
तर, ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्ताव लाञ्छना–पत्र मात्रै भएको र यसले पार्टीको शाख गिराउने काम गरेको प्रतिक्रिया दिए । यसमाथि पार्टीमा छलफल हुन नसक्ने भन्दै उनले प्रस्ताव फिर्ता लिएर प्रचण्डले माफी माग्नुपर्ने भने । प्रचण्डको प्रस्ताव सहित दुई नेताहरुको पत्रलाई बुकलेटका रुपमा प्रकाशित गरेर वितरण गरेकोमा पनि प्रचण्डले माफी माग्नुपर्ने ओलीले अडान राखे ।
ओलीले आफ्नो प्रस्तावमा उल्लेख गरेजस्तै पार्टीमा बहुमत वा अल्पमतका आधारमा नभई सहमतिबाट मात्र निर्णय हुनुपर्ने बताए । सहमतिका आधारमा अगाडि नबढ्ने हो भने पार्टी एकता कायम रहन नसक्ने बताउँदै ओलीले बैठकमा भने, ‘अन्तरिम कमिटीमा बहुमत–अल्पमत भन्ने हुँदैन र मान्दिनँ पनि ।’
प्रचण्डले आफूमाथि लगाएको आरोपको खण्डन गर्दै आलीले ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन पनि दिन्नँ’ भने । उनले त्यसो भनिरहँदा प्रचण्ड भने मुसुमुसु हाँसिरहेका थिए । त्यो देखेपछि आक्रोशित बनेका ओलीले भने, ‘किन हाँसेको ? म गम्भीर कुरा गरिरहेको छु ।’ त्यसपछि प्रचण्डले भने, ‘अध्यक्ष ओलीले उत्तेजित बनाउने गरी बोलेको तर आफूहरु उत्तेजित नभई शान्तपूर्वक छलफल गरेर निष्कर्षमा पुग्न चाहेको बताए । उनले यसो भनिरहँदा अध्यक्ष ओलीले तत्कालै प्रतिवाद गरे । जे मन लाग्यो त्यही बोल्ने ? भन्दै उनी प्रचण्डमाथि आक्रामक शैलीमा प्रस्तुत भए।
त्यसपछि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले पनि ओलीको अर्को विरोध गरे । प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘बोल्न पनि नपाइने ?’ भन्दै ओलीको प्रतिवाद गरे । ईश्वर पोरेखलले पनि बोल्नै नपाउने त भएन भन्दै बैठकमा ओलीको आलोचना गरेका थिए । नेताहरुले एकसाथ लागेर ओलीको प्रतिवाद गरेपछि प्रचण्डले सम्हालिएर आफ्ना कुराहरु राखे ।
‘पार्टीमा बोल्नसमेत नदिने स्थिति छ, आएका प्रस्तावहरुमाथि छलफलै हुन्न भन्नुहुन्छ, साथीहरु आफ्नो दृष्टिकोण राख्नुस्’ भन्दै प्रचण्डले छलफलका लागि आह्वान गरे ।
वरिष्ठ नेता नेपालले छलफल गर्ने कि नगर्ने भन्ने प्रश्नै उठाउन आवश्यक नरहेको र बैठकमा आएका प्रस्तावहरुमाथि छलफल हुनैपर्ने बताए ।
वरिष्ठ नेता खनालले बैठकमा आएका सबै प्रस्ताव पार्टीको सम्पत्ति भइसकेको बताए । उपाध्यक्ष गौतमले छलफल त सुरु भइसक्यो र अध्यक्ष केपी कमरेडले पनि भाग लिइसक्नुभयो भने ।
प्रवक्ता श्रेष्ठले छलफल गर्न पाइन्न भन्ने पनि हुन्छ र ? भन्दै प्रश्न गरे । नेता ईश्वर पोखरेलले प्रस्तावहरु आएपछि त छलफल हुने नै भयो भने । रामबहादुर थापा बादलले पनि छलफल त सुरु भइसकेको छ भने ।
त्यसपछि प्रचण्डले फेरि बोले । बहस र छलफल गरेर पार्टीलाई एउटा निष्कर्षमा पुर्याउन चाहेको उनले बताए । आफूहरुले २२ कात्तिकमा सचिवालय बैठकका लागि सहमति माग गर्दै पत्र बुझाएको, तर ओलीले १० पन्ने जवाफ लेखेर फायर खोलेको प्रचण्डले बताए । र, आफूले त्यसको प्रतिवाद मात्र गरेको प्रचण्डले बैठकमा बताए ।
केपी ओली कुण्ठाग्रस्त बनेको र व्यक्तिवादी भएको भन्दै प्रचण्डले अध्यक्ष एवं प्रधानमन्त्री ओलीको आलोचना गरेका छन् । साथै उनले ३७ पृष्ठको प्रस्तावमा ओलीले आफूमाथि लगाएका आरोप र उठाएका प्रश्नहरुको बुँदागत रुपमा लिखित जवाफ दिने प्रचण्डले बताएका छन् ।
स्रोतका अनुसार मंगलबारको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल प्रधानमन्त्री ओलीविरुद्ध कडा रुपमा प्रस्तुत भएका छन् ।
सहमतिका आधारमा मात्र निर्णय हुनुपर्छ भन्ने ओलीको अडानको खनालले कडा आलोचना गरे । सकेसम्म सहमति, नभए बहुमतबाट निर्णय हुने भन्दै उनले दुनियाँमा कहीँ नभएको अभ्यास हुनुपर्छ भन्दा नीतिगत संकट आउने बताए । सहमति भनेको के हो ? यसको परिभाषा हुनुपर्ने खनालले बताए ।
वरिष्ठ नेता नेपालले भने बैठकमा लामै बोलेका छन् । उनी यो पार्टी फुटाउने भन्ने को हो भन्दै कड्किएका थिए । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली व्यक्तिवादी तथा गुटवादी भएको र पार्टीमा अहिले आएको समस्याको जड केपी ओली नै भएको नेता नेपालले बताए ।
उपाध्यक्ष गौतमले पनि बैठकसँगै अनौपचारिक छलफलहरु गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने बताए । ईश्वर पोखरेलले पनि अनौपचारिक सम्वादमा जोड दिए । प्रवक्ता श्रेष्ठले अनौपचारिक सम्वादहरु गर्नुपर्ने, तर त्यसका नाममा औपचारिक बैठकलाई रोक्न नमिल्ने धारणा राखे।
बैठकमा धेरै नै बाझाबाझ भएपछि प्रधानमन्त्री ओलीनिकट नेताहरुले पार्टीका सबै बैठक ५÷१० दिन रोकेर सहमति खोज्ने प्रस्ताव राखेका थिए । तर, अरु नेताहरुले अनौपचारिक सम्वाद पनि गर्ने तर बैठक रोक्न नमिल्ने धारणा राखे । बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालले बैठक रोकेर ओली पक्ष भाग्न खोजेको आरोप लगाए ।
अध्यक्षद्वय र महासचिवसमेत तीनैजनाले चाहँदैमा पनि अब बैठक नरोकिने भन्दै बरिष्ठ नेता नेपालले बैठकमा भने, ‘तपाईहरु तीनजना भनेको अल्पमत हो, तपाईहरुले स्थगित भन्दैमा बैठक स्थगित हुँदैन ।’
नेताहरुको धारणा सुनेपछि कार्यकारी अध्यक्ष प्रचण्डले भोलि (बुधबार) १ बजे फेरि सचिवालय बैठक बस्ने जानकारी दिए । तर, अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओली ‘यस्तो बैठक केका लागि रु’ भन्दै उठेको एक नेताले सुनाए ।