कास्मिरमा आतङ्ककारी हमला: ३० वर्षीय नेपाली युवाको मृत्यु
१२ मंसिर, काठमाडौं । भारत र पाकिस्तानको विवादित सिमा क्षेत्र जम्मु कास्मिरमा भएको आतङ्ककारी हमलामा परी भारतीय सेनामा कार्यरत नेपाली युवाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवाका ३० वर्षीय प्रेम केसीको हमलामा परी मृत्यु भएको हो ।
जम्मु कास्मिरमा कार्यरत केसीको समुहमाथि आतङ्कारीहरूले बिहान ५ बजेतिर हमला गरेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । हमलामा परी गम्भिर घाइते भएका केसीलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।
भारतीय सेनाले बिहान ९ बजेतिर प्रेमलाई गोली लागेको खबर दिएको उनका दाजु तुलसी केसीले बताए । उनका अनुसार आतङ्ककारी हमलामा परी प्रेमसँगै एक भारतीय सैनिकको पनि मृत्यु भएको छ ।
प्रेमको शव लिन उनका बुवा लालबहादुर केसी भारत हिँडिसकेका छन् । उनी पनि रिटायर्ड भारतीय सेना हुन् । प्रेमको शव शनिबारसम्म नेपाल आइपुग्ने बतााइएको छ ।
प्रेम भारतीय सेनामा भर्ति भएको १४ वर्ष पुगेको थियो । उनको आकस्मिक निधनसँगै ७ वर्षीया छोरी र ५ वर्षका छोरा टुहुरा भएका छन् ।