२३ जेष्ठ २०८०, मंगलवार

६ वर्षसम्म पनि काटिएन च्याछडाभिर, आवत–जावतमा समस्या



समर हुम्ली

मंसिर, काठमाडौं । हुम्लाको एक चर्चित सडक आयोजना सिमकोट हिल्सा सडकको एक अति महत्वपूर्ण खण्ड च्याछडाभिर सम्झौता भएको ६ वर्षसम्म पनि पुरा नहुँदा स्थानीयबासीलाई सास्ती हुँदै आएको छ ।

सिमकोट हिल्सा सडक वि.सं.२०५५ सालतिर राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखाका प्रबन्धक बामदेव गौतमको अवधारण हो । यसलाई हुम्लामा मौलिक कुरा मानेर तत्कालिन जिविसले सम्वोधन गरेको पनि २२ वर्ष पुगेको छ । वि.सं. २०५६ सालबाट बनाउन शुरु गरिएको यो सडकको लम्बाई करीब सय किलोमिटर भएछ ।

पछिल्लो समय सिमकोट हिल्सा सडक आयोजनाको स्थापना भएर यसले यो सडकका लागि धेरै काम गर्दै आए पनि ठेकेदारले लिएका विभिन्न सडक खण्डमा सन्तोषजनक काम नभएको स्थानीयहरूको भनाई छ । कार्यालय र ठेकेदारले सम्झौता गरेको मितिलाई पर सार्न विभिन्न प्रकारका हत्कण्डा अपनाउने गरेको पनि ठेकेदार वृत्तबाट पटक–पटक सूचना बाहिर आउने गरेको छन् ।

यसैको एक उदाहरण हो च्याछडा सडक खण्डको अति संवेदनशील, अति महत्वपूर्ण र अतिआवश्यक भिंडको खण्ड । यसको लम्बाई १ दशमलव ६ किलामीटर रहेको छ । यो सडक खण्डको भिंड कटान गर्नका लागि सम्झौता गरेको श्रीजन्ती ए.डी.जेभीले ६ वर्षसम्म पनि काम गर्न सकेको छैन ।

ठेकेदार कम्पनीसँग यो खण्डका लागि २०७२ साल मंसिर १० गते सम्झौता भई वि.सं. २०७५ साउन ३० गते निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भए पनि पछिल्लो समय वि.सं. २०७७ असार ३० गतेको मिति पनि गुज्रिएको छ । सिमकोट हिल्छा सडक आयोजनाको काम हुन अझै कति समय लाग्ने हो भन्ने सकिने अवस्था छैन ।

कार्यालय स्रोतका अनुसार जिल्लाको आयोजना हेर्ने कार्यालय प्रमुखले केही कडिकडाउ गर्न खोजे माथिल्लो तहको पावर लगाएर हाकीमलाई नै सरुवा गर्ने गराउने गरेका छन् । ठेकेदारहरूले त्यसैले सबै तैँ चुप मैँ चुपको अवस्थामा छन् ।

६ वर्षसम्म पनि कटान हुन नसकेको यो खण्डले नै सिमकोट हिल्सा सडकको मान्यता र स्प्रिटलाई अझै केही वर्ष पर धकेल्न सहजता प्रदान गर्ने अवस्था देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको