१९ श्रावण २०७८, मंगलवार

गौतमबुद्ध विमानस्थलको ९१ प्रतिशत काम पुरा, पाँचौं पटक म्याद थपको तयारी



२२ साउन, काठमाडौं । महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरसका कारण गरिएको लकडाउनको असर अन्यक्षेत्रमा जस्तै निर्माण क्षेत्रमा पनि पर्यो । तर राष्ट्रिय गौरवका आयोजना अन्तर्गत भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम भने लकडाउनको अवधिमा पनि रोकिएन ।

चार महिना अर्थात् १२० दिन भएको लकडाउनमा पनि विमानस्थल निर्माण कार्यमा ८० भन्दा बढी कामदार निरन्तर खटिरहे । सरकारले लकडाउन खुकुलो पार्ने निर्णय गरेसँगै अहिले कामदार बढाएर ३०० पुर्याइएको विमानस्थल निर्माण आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताए ।

अहिलेसम्म विमानस्थलको ९१ प्रतिशत काम सम्पन्न भएको छ । तर आयोजनाले ठेकेदारलाई हालसम्म ३ अर्ब रुपैयाँ मात्रै भुक्तानी दिएको वित्तिय प्रगती भने ६३ प्रतिशत छ ।

विमानस्थल निर्माणका लागी चौथो पटक थपिएको समय सिमा सन् २०२० मार्च ३० सम्ममा पनि निर्माण सम्पन्न नहुने निश्चित भएको छ । बचेको समयमा उपकरण ल्याएर जडान गर्न सम्भव नदेखिए पछि पाँचौ पटक म्याद थपको मागसहित नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्रचार गरिएको आयोजना प्रमुख अधिकारीले जानकारी दिए ।

विमानस्थलको भौतिक निर्माणको काम लगभग सकिएपनि अधिकांश फिनिसिङ र उपकरण जडानको काम बाँकी नै छ । आयोजना प्रमुख ईन्जिनियर अधिकारीका अनुसार विमानस्थलमा जडान गर्नुपर्ने १० प्रकृतिका उपकरणहरु आइसकेका छन् । जडान कार्य जारी भएपनि केही उपकरण जडान गर्ने दक्ष चाइनिज जनशक्ति नयाँ २०२० मनाउन स्वदेश फर्किएकाले कोरोना र लकडाउनका कारण काममा फर्कन नसक्दा महत्वपुर्ण उपकरण जडान कार्य भने तत्कालका लागी रोकिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु