१९ श्रावण २०७८, मंगलवार

विस्फोटक पदार्थसहित विप्लव समूहका ६ नेता कार्यकर्ता पक्राउ



८ मंसिर, लमजुङ्ग । दोर्दी गाउँपालिका–५ खिमचोक पाँचस्वाँराबाट विस्फोटक पदार्थसहित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ६ नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । अवाच्छनीय गतिविधि गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा आज अपराह्न १ बजे प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाको नेतृत्वमा गएको टोलीले उनीहरूलाई घेराबन्दी गरेर पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका वडा नम्बर २ घर भएका लमजुङ इञ्चार्ज भनिने ४२ वर्षीय जङ्गबहादुर भण्डारी, लमजुङ जिल्ला, दोर्दी–७ घर भएका जिल्ला सेक्रेटरी भनिने ४६ वर्षीय बिलबहादुर गुरुङ, मध्य नेपाल नगरपालिका वडा नम्बर ४ घर भएका लमजुङ जिल्ला कमिटी सदस्य भनिने ६२ वर्षीय नारायणबहादुर कुँवर, राइनास नगरपालिका–६ घर भएका जिल्ला कमिटी सदस्य भनिने ३४ वर्षीय रवीन्द्र नखोला रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरिक्षक थापाले बताए । उनका अनुसार समूहका कार्यकर्ता दोर्दी–७ घर भएका २२ वर्षीय दुर्गालाल तामाङ र मध्यनेपाल–१० घर भएका २६ वर्षीय सुजन थापालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

अभियुक्तलाई पक्राउ गरी खानतलासी गर्नेक्रममा उनीहरुले झोलाभित्र लुकाइ राखेको विस्फोटक पदार्थ पनि प्रहरीले बरामद गरेको छ । त्यस्तै पार्टीसँग सम्बन्धित कागजपत्र, नगद, ग १५ प ८१३७ नम्बर र बा ७४ प ७०८७ नम्बरका मोटरसाइकल, मोबाइल सेट र सिमकार्ड पनि बरामद गरिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखी विस्फोटक पदार्थसम्बन्धी कसूरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु