५ आश्विन २०७८, मंगलवार

‘हिमालयन चितुवा’ अन्तरर्राष्ट्रिय केवन किक बक्सिङ प्रतिस्पर्धामा भिड्दै



८ मंसिर, काठमाडौं । विश्वको चर्चित ‘के वन किक बक्सिङ अन्तरर्राष्ट्रिय प्रतियोगिता २०२०’ मा नेपाली युवा खेलाडी अविरल घिमिरेले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालका तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने उनी पहिलो ‘बक्सर’ हुन् ।

घिमिरे ‘हिमालयन चितुवा’ नामले बक्सिङ खेलमा विश्वचर्चित छन् । यही मङ्सिर २८ गते जापानको टोकियोमा सो प्रतियोगिता आयोजना हुँदैछ । युवा समाजसेवी एवं व्यवसायी रामनारायण घिमिरेका अनुसार २१ वर्षीय हिमालयन चितुवा बाज्रिलियन खेलाडी फिलिपसँग सो प्रतियोगितामा भिड्नेछन् । फिलिप पनि अन्तरराष्ट्रिय बक्सर खेलाडी हु्न । अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवनारायण घिमिरेका सुपुत्र अविरल अहिले आफ्ना बुबाकै विशेष प्रशिक्षणमा छन् । चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ गुर्जुधारा निवासी उनीहरू पाँच वर्षदेखि जापानको नागोया शहरमा बस्दै आएका छन् ।

‘के वन किक बक्सिङ प्रतियोगिता’लाई जापानसहित अन्तरर्राष्ट्रिय बक्सिङ खेल क्षेत्रले उच्च महत्वका साथ हेर्ने गर्छ । सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै मार्शल आर्टका समेत खेलाडी देवनारायणले सन् २००४ मा भाग लिएका थिए । उनी अन्तरर्राष्ट्रियस्तरका के वन बक्सर खेलाडी तथा प्रशिक्षक हुन् ।

समाजसेवी रामनारायणका अनुसार अविरलले हालसम्म ४७ व्यावसायिक किक बक्सिङमा भिडन्त गरिसकेको र तीमध्ये नौ अन्तरराष्ट्रिय खेलका आठमा प्रथम भई विश्व कीर्तिमान कायम गर्न सफल भइसकेका छन् । अविरल नियमितरूपमा सिमुरा डोजोमा प्रशिक्षण लिँदै आएका छन् । ‘अविरलसँग साहस, जोश र लगनशीलता छ । नेपालका लागि के वन किक बक्सिङ अन्तरर्राष्ट्रिय प्रतियोगितामा भाग लिन छनौट हुनु नै ठूलो उपलब्धि हो । अविरलले उपाधि चुम्नेमा म विश्वस्त छु । यसका लागि उनलाई सरकार, खेलप्रेमी नेपालीको थप हौसला दिन आग्रह गर्छु’, सामाजीक सञ्जालमा देवनारायणले लेखेका छन् ।

यसैगरी गैरआवासीय नेपाली सङ्घ जापानका उपाध्यक्ष दीपक कार्कीले अविरल जापानमा रहे पनि नेपालको प्रतिनिधित्व गर्दै के वन किक बक्सिङ अन्तरर्राष्ट्रिय प्रतियोगितामा छनौट हुनु नेपालका लागि प्रतिष्ठाको विषय रहेको बताए ।

बक्सर अविरलले जापानी खेलाडी रादालाई पराजित गर्दै गत वर्ष टोकियोमा नै सम्पन्न ‘होस्ट कप एस’को उपाधि चुमेका थिए । रादा जापानका चर्चित व्यावसायिक किक बक्सर हुन् । तीन राउण्डको तीन चरणको खेलमा अङ्क बराबरी हुँदा पुनःदुई मिनेटको थप समयमा अविरलले प्रतिस्पर्धीलाई नकआउट गर्दै उपाधि जितेका थिए ।

यसैगरी उनी गत वर्ष नै टोकियोको नागोयामा सम्पन्न हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल भएका थिए । सो भिडन्तमा उनले जापानी च्याम्पियन मुकेवाजलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर बनेका थिए ।

सामाजिक सञ्चालमा बक्सर अविरलले लेखेका छन्, ‘पुनः एकपटक बक्सिङ खेलमार्फत नेपाललाई विश्वमा थप परिचित गराउन चाहन्छु । मलाई थप ऊर्जा र हौसला दिनुहोस्, म प्रतियोगिताको ताज पहिरिन नजिक पुग्दैछु ।’

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको