फाइजर कोरोना खोप ९५ प्रतिशत प्रभावकारी भएको अमेरिकी कम्पनीको दाबी
७ मंसिर, काठमाडौं । कोरोना महामारीले विश्व नै त्रासदीपूर्ण अवस्थामा गुज्रिरहेको छ । मान्छे मान्छेदखि नै जोगिएर हिँड्नुपर्ने डरलाग्दो महमारीबाट मुक्ति दिने खोप प्रतिपादनमा विश्वभरका बैज्ञानिकहरू अहोरात्र खटिरहेका छन् । यसैबिचमा अमेरिकाको औषधि निर्माण कम्पनीले ‘फाइजर तथा बायोएनटेक’ले निर्माण गरेको कोरोना विरूद्धको खोप सुरक्षित र ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ ।
कम्पनीले बुधबार कोरोना विरूद्धको खोप ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरेको अमेरिकी समाचार संस्था द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । पछिल्लो ८ महिनादेखि निरन्तर खोप विकास गर्न खटिएको बायोएनटेकले खोपको अन्तिम परीक्षणको प्रारम्भिक नतिजाहरूले कुनै गम्भीर असर नभएको पनि दाबी गरेको छ ।
कम्पनीले विभिन्न चरणमा गरिएका परिक्षणबाट प्राप्त नतिजाहरूका अनुसार यो खोपले कोरोना भाइरसबाट सामान्य र गम्भीर असर परेकाहरूलाई जोगाउन सक्ने बताएको छ । कम्पनिका अनुसार वृद्धहरूमा भने यो खोपको प्रभावकारिता ९४ प्रतिशत देखिएको छ ।
फाइजरका अनुसार कम्पनीले खोप उपलब्ध गराउन अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) सँग केही दिनमै आकस्मिक अनुमति माग्ने छ ।
फाइजरका प्रमुख कार्यकारी डा. अल्बर्ट बोउर्लाले एक विज्ञप्ति जारी गर्दै विनाशकारी कोरोना महामारी अन्त्य गर्न सहयोग पुर्याउने खोप अगाडि बढाउन ऐतिहासिक आठ महिने यात्राको अध्ययनको नतिजाले महत्वपूर्ण छाप छाडेको बताएका छन् ।
यदि एफडिएले दुई डोजको खोप बनाउन अनुमति दिए यो वर्ष अन्त्यसम्म ५ करोड डोज उपलब्ध गराउने कम्पनीले बताएको छ । अर्को वर्षसम्म भने एक अर्ब तीस करोड डोज उपलब्ध हुनेछ ।
धेरै स्वास्थ्य विज्ञ र अध्यताहरूले फाइजर र बायोएनटेकको खोपको प्रभावकारीताबारे सकारात्मक र उत्साहजनक टिप्पणी दिइरहदा यसको विश्वसनीयता बढ्दै गएको छ ।