१३ मंसिर २०७७, शनिबार

चितवनमा सुरेन्द्र पाण्डेमाथि दुव्र्यवहार : वरिष्ठ नेताद्वयको गम्भीर आपत्ति



६ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डेमाथि चितवनमा दुव्र्यवहार भएको छ । राप्ती नगरको पार्टी बैठकमा सहभागी भई मन्तव्य राखिरहेका बेला नाराबाजीसहित आएका केहि व्यक्तिहरूले पाण्डेमाथि अभद्र व्यवहार गरेका हुन् ।

चितवन घटनाप्रति निन्दा र भत्सना गर्दै नेकपा वरिष्ठ नेता झलनाथ खनालले आपत्तिजनक कार्यमा संलग्न व्यक्तिहरूलाई तत्काल कडा कारबाहीका लागि अपिल गरेका छन् । वक्तव्यमा लेखिएको छ, ‘कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण समेत गराउँछु ।’

त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी बैठकमा मन्तब्य राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरी सुनियोजित तवरले नेता पाण्डेमाथि गरिएको अभद्र व्यवहार र नाराबाजीको गम्भीर आपत्ति जनाएका छन् । उनले लेखेका छन्, ‘सभ्य, सुसँस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउँने उक्त कार्य गर्ने र गराउने जो सुकै भएपनि छानविन गरी कडा कारबाीह गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउँछु ।’

घटनाका विषयमा आफ्नो धारणा राख्दै नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले आफुमाथिको विरोध सुनियोजित भएको बताएका छन् । उनले गलत तरिकाको विरोध र अवरोधलाई राजनीतिक रूपमै खण्डन गर्ने चेतावनी दिएका छन् ।

पछिल्लो जानकारी अनुसार उक्त घटनामा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थक कार्यकर्ताहरू सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु