ओबामाको पुस्तकले बनायो नयाँ रेकर्ड, एक दिनमै ८ लाख ९० हजार प्रति बिक्री
५ मंसिर, काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाप्रतिको आम मान्छेको झुकावमा अझै पनि कुनै कमि नआएको पुष्टि भएको छ । उनको भर्खरै प्रकाशित पुस्तक ‘अ प्रोमिस्ड ल्यान्ड’ ले बिक्रीको नयाँ रेकर्ड कायम गरेपछि ओबामा प्रतिको शभेच्छा यथावत रहेको पुष्टि भएको हो ।
अमेरिका र क्यानडाको बजारमा पुस्तक आएको ‘अ प्रोमिस्ड ल्यान्ड’ २४ घण्टामा आठ लाख ९० हजार प्रति बिक्री भएको छ । यसअघि कुनै पनि राष्ट्रपतिको संस्मरण समेटिएको पुस्तक एकै दिन यति ठुलो संख्यामा बिक्री भएको थिएन । अग्रिम बुकिङ, अडियो र अनलाइन बुकिङ गरेकाहरूलाई मात्रै पुस्तक बिक्री गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
पुस्तक प्रकाशन गरेको पेन्गुइन रेन्डम हाउसका प्रकाशक डेबिड ड्रेकले पनि यो नयाँ रेकर्ड भएको बताए । उनले भने, ‘पहिलो दिनको बिक्रीबाट हामी खुशी छौं । यो बिक्रीले पूर्व राष्ट्रपति ओबामालाई मन पराउने र उनको पुस्तक प्रतीक्षा गर्नेको संख्या पनि दर्शाउँछ ।’
ओबामाको संस्मरण समेटिएको ७६८ पेजको पुस्तक ‘अ प्रोमिस्ड ल्यान्ड’को मूल्य ४५ डलर छ । पुस्तकमा ओबामाले सन् २००८ को राष्ट्रपतीय निर्वाचनको प्रचारप्रसार अभियान, पहिलो पटक राष्ट्रपति बन्दाको अनुभवदेखि पाकिस्तानको एबटावादमा अलकायदा प्रमुख ओसामा बिन लादेनको मृत्युसम्मको संस्मरण समेटेका छन् ।
दुई भागमा प्रकाशन हुने पुस्तकको पहिलो भाग गत मंगलबार सार्वजनिक भएको थियो ।
(स्रोतः एजेन्सिको सहयोगमा)