दैलेखी सेवा समाजद्वारा भरतबन्धु थापालाई बधाई ज्ञापन
५ मंसिर, काठमाडौँ । दैलेखी सेवा समाजले भर्खरै मात्र नेपाल पर्यटन बोर्डद्वारा कर्णाली प्रदेश आन्तरिक पर्यटन पुर्नउत्थान समितिको सह–संयोजकमा मनोनित भएका फोटो पत्रकार भरतबन्धु थापालाई बधाई तथा शुभकामना दिएको छ । मनघरी फाउण्डेशनका अध्यक्ष एवम् दैलेखी सेवा समाजका पनि सल्लाहकार रहेका थापालाई आज काठमाडौंमा कार्यक्रम आयोजना गरी बधाई तथा शुभकामना दिइएको हो ।
फोटो पत्रकारिताका माध्यमबाट समग्र नेपाल तथा विशेषतः कर्णाली प्रदेशको पर्यटन क्षेत्रमा उनले पर्याएको योगदानको मूल्याङ्कन गरी नेपाल पर्यटन बार्डले मनोनित गरेकाले थापालाई सेवा समाजले खादा र माला लगाई बधाई ज्ञापन गरेको छ ।
थापालाई दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाही, सेवा समाजका सल्लाहकार तथा उद्योगी व्यवसायी दीप शाही, कर्णाली स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले खादा माला लगाई बधाई तथा शुभकामना दिएका थिए ।
बधाई ज्ञापन पश्चात थापाले अहिले संयोजक र सह–संयोजक मात्र नेपाल पर्यटन बोर्डले मनोनित गरेकोले अब आफूहरूले कर्णालीका दश वटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी समितिलाई पूर्णता दिने बताए । हालसम्म कर्णाली प्रदेशको पर्यटन सम्बन्धी नक्सा पनि तयार नभइसकेकाले सुरुमा आफूहरूले त्यसबाट कामको थालनी गर्ने बताए ।
थापाले आफ्नै हिसावले वाइल्ड वेस्ट नेपाल, गन्तव्य कर्णाली, एक्सप्लोर फार वेस्ट गरी ३ वटा महत्वपूर्ण पुस्तक तथा फोटो पत्रकारिताका माध्यमबाट पश्चिम क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले यस जिम्मेवारीलाई उनले कुशलताका साथ पुरा गर्ने विश्वास दैलेखी सेवा समाजका महासचिव मोहन शाहीले व्यक्त गरे ।
कार्यक्रम समाजसेवी व्यक्तित्व डम्बर सिंह, भिआरएफएनका अध्यक्ष विनोद अधिकारी, आईटी विज्ञ सूर्य बस्नेत लगायतको उपस्थितीमा सम्पन्न भएको थियो ।