२२ जेष्ठ २०८०, सोमबार

हुम्लामा दुई अर्बको चर्पी, दिसामुक्त गाउँमा नाक छोपेर हिँड्नुपर्छ !



समर हुम्ली

४ मंसिर, हुम्ला । हुम्लामा हालसम्म करीब १० हजार ५ सय चर्पी निर्माण गरिएको सरकारी आँकडा रहेको छ । करीब तीन वर्ष अघि दिसामुक्त जिल्लाको रूपमा घोषणा भए पनि गाउँघरको पछिल्लो अवस्था हेर्दा दुर्गन्धले छिछि र दुरदुर गर्ने अवस्था छ ।

हुम्लाको साविकको २७ गाविस र हालको सात गाउँपालिकाको अवस्था हेर्दा हुम्लामा हालसम्म १० हजार ५ सय चर्पी निर्मााण भएका छन् । हुम्लामा चर्पी बनाउन एक लाखदेखि पाँच लाखसम्म पर्ने गरेको छ । सालाखाला प्रति चर्पी दुई लाखका दरले हिसाब गर्ने हो भने हाल हुम्लामा दुई अर्बभन्दा धेरै चर्पीमा लगानी भएको जानकारी खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख नवाङ्ग लामाले जानकारी दिएका छन् । उनले भने, ‘संघीयताका कारण तीन तहको सरकारको व्यवस्थापन भए पनि चर्पीको तथ्याङ्क एकीन नभएकाले हाल जिल्लाको अवस्था सन्तोषजनक छैन ।’

संयुक्त राष्ट्रसंघको सन् २०३० सम्मको लक्षित कार्यक्रम अनुसार विश्वव्यापी दीगो विकासको लक्ष्य पुरा गर्ने एक महत्वपूर्ण सूचक भएकाले पनि सबैको लागि शौचालय निर्माण एक अनिवार्य र अपरिहार्य काम मानिएको छ । यसलाई अझै राम्रो र गुणस्तर बनाउनका लागि सरकारी र अन्तर्राष्ट्रियस्तरमा विभिन्न प्रकारका नीतिगत कुराहरूको तय र तर्जुमा गरिएको छ ।

हाल हुम्ला जिल्लाको अवस्थालाई हेर्दा यी सूचकहरू वरिपरि पनि पुग्न नसक्नु विकासको स्थानीय सूचकहरूलाई उपेक्षा गर्नु हो भन्ने हुम्लाका युवा मानवशास्त्री राजबहादुर रोकायाको अनुभव छ ।

विश्वमा अझै पनि दुई अर्ब ४० करोड मानिसहरू शौचालयको पहुँच बाहिर रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । तापनि यसलाई संख्यात्मक र गुणात्मक दुबै कुराको समायोजन गर्नु गराउनु आजको आवश्यकता रहेको छ ।

हुम्ला जिल्लामा तीन तहको शासकीय व्यवस्था अनुसार करोडौं रकम स्वास्थ्य र सरसफाइका लागि खर्च भए पनि पछिल्लो समय बजेटलाई कनिका छर्ने प्रवृत्तिले भएका कुराहरू पनि छिन्नभिन्न हुने अवस्था देखिएको छ ।

योजनबद्ध कार्यक्रमहरूमा बजेट बिनियोजन गरी व्यावहारीक कार्यान्वयन र चुस्त दुरूस्त अनुगमन नभएसम्म शौचालयमा बजेट खर्च भइरहनेछ, खुल्ला दिसामुक्त कार्यक्रमहरू पनि भइरहनेछन् तर गाउँ भने दुर्गन्धबाट मुक्त हुनेछैन । चर्पी प्रयोग गर्ने चेतनास्तरको विकास नभएसम्म बजेट खर्च भएको प्रमाण पेश गर्न निर्माण गरिएका चर्पीहरू गाउँको संस्कार हाइन कुसंस्कारका प्रतिक बन्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको