१९ जेष्ठ २०८०, शुक्रबार

उपप्राध्यापक प्रेम चलाउनेले न्यायाधीशविरुद्ध दिए उजुरी



३ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेलाई धरौटीमा छोड्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उजुरी परेको छ । उजुरी न्यायपरिषद्‌मा परेको दिइएको छ भने पाटन उच्च अदालतमा आदेश बदरको निवेदन समेत दर्ता भएको छ ।

न्यायापरिषद्‌मा २५ कात्तिकमा परेको उजुरीमा धरौटीमा छोड्न आदेश दिने न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई कारबाही गर्नुपर्ने माग गरिएको छ । कात्तिक २३ देखि २६ को बीचमा निरौलाको एकल इजलासले चलाउनेलाई आक्रमण गर्ने विद्यार्थीलाई धरौटीमा छोड्न आदेश दिएको थियो ।

चलाउने माथि २० असोजमा विश्वविद्यालय परिसरमै साङ्घातिक आक्रमण गरी मरणासन्न अवस्था बनाइएको थियो । आक्रमणबाट उनको दाहिने खुट्टा भाँचिएपछि गहन शल्यक्रिया गर्नु परेको छ । शल्यक्रियापछि पनि उनी अहिले वैशाखीको सहाराले घरभित्र बाहिर मात्र गर्न सक्ने अवस्थामा छन्।

नेपाल प्रहरीले पाँच जना आक्रमणकारीलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । मुख्य अभियुक्त नेपाल विद्यार्थी संघका नेता हरि आचार्य र योगेन्द्र रावललाई भने फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको थियो । दुवै मुख्य योजनाकारलाई प्रहरीले पक्राउ नगर्दै अभियुक्तलाई धमाधम अदालतले धरौटीमा छोडेको छ ।

रुपेश साह, रविन लामा, निरज राना, सयुस श्रेष्ठ र दीपक ओझालाई अदालतले धरौटीमा छोडेपछि सरकारी वकिलको कार्यालयले २८ कात्तिकमा आदेश बदर गरिपाऊँ भन्दै उच्च अदालतमा निवेदन दिएको हो ।

उपप्राध्यापक चलाउनेले चाहिँ २३ कात्तिकमा साह र लामाले अदालतमा आफूहरू घटनास्थलमा पुगेको स्वीकारे पनि धरौटीमा छोडिदिएको भन्दै न्यायाधीशले पदीय आचरणविपरीत काम गरेकाले कारबाहीका लागि न्यायपरिषद्‌मा उजुरी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको