२० श्रावण २०७८, बुधबार

कोरोनाको रेडजोन बन्दै याल्वाङ्ग, नियन्त्रणमा लापरवाही



समर हुम्ली

३ मङ्सीर, हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ्गमा केही दिनदेखि लगातार कोरोना सङ्क्रमित बढ्दै जाँदा केही दिनमा नै ५६ जनालाई कोरोना पोजेटिभ देखिएको छ । याल्वाङ्गको विद्यालयमा देखिएको यो प्रकोप अहिले समुदायस्तरमै फैलिसकेको छ ।

नाम्खा गाउँपालिकाको वडा नम्बर ४ याल्वाङ्गमा रहेको विद्यालयको छात्रबासबाट शुरु भएको यो रोगको प्रकोप हिउँदको चिसोमा बढ्दै जाँदा अवस्था नाजुक हुने देखिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाले बताएको छ । स्रोतबाट जानकारी भए अनुसार स्वास्थ्य सेवा कार्यालयले सकेसम्म काम गरेकै छ । तर सदरमुकाम सिमकोटमा बसेर मिटिंङ्ग र सिटीङ्गमा ठूला कुरा गर्नेहरूको ध्यान जान नसक्दा भयावह अवस्था निम्तिएको हो । कोरोनाको नफैलिएको अवस्थामा रोकथामको नाममा बील मिलाएर लाखौँ खर्च गरिएको तर सङ्कट पर्दा खर्चको अभावले आवश्यक मेडिकल सामाग्री उपलब्ध हुन नसकेको बताइएको छ ।

नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिन प्रति दिन परिक्षण गर्दा कोरोना सङ्क्रमित बढ्दै गएकाले वडा नम्बर ४ शिल गरेर टे«सिङ्गको कामलाई तिब्रता दिइएको बताए । ‘हाम्रो बलबुताले भ्याएसम्म काम गरिरहेकै छौं, गर्ने छौं ।’ अध्यक्ष लामाले भने ।

पहिलो दिन ४, दोस्रो दिन ८, तेस्रो र चौथो दिन कात्तिक २९ गते १५ र मङ्सिर १ गते सोमबार २६ जनालाई कोरोना पोजेटिभ देखिएको हो । मङ्सीर २ गते मंगलबारका दिनमा ३ जनालाई गरे हालसम्म ५६ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।

नाम्खा ४ याल्वाङ्गबाट कोरोना डरले भागेका शिक्षक र विद्यार्थीहरूलाई मंगलबार बिहान ८ जनालाई खार्पुनाथ गाउँपालिकाले नियन्त्रणमा लिएर क्वारेन्टिनमा पठाएको छ । तर चेकजाँच बिनै भागेर आएकाहरू गाउँ–गाउँमा पसेकाले पनि थप त्रास बढेको स्थानीयहरूले बताएका छन् ।

याल्वाङ्गबाटै दुई जना कोरोना सङ्क्रमितको अवस्था नाजुक भएकाले हेलिकप्टरलाई प्रति खेप १० लाख रुपैयाँका दरले २० लाख तिरेर काठमाडौं पठाइएको छ ।

हिउँदको समयमा बिहान, बेलुका र राती तापक्रम माइनस् पुग्ने भएकाले पनि थप जोखिम हुने स्वास्थ्यर्मीहरूले बताएका छन् ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति र अन्य सरोकारवाला निकाय मौन बसेकाले पनि हुम्लीहरूले आक्रोस ब्यक्त गरेका छन् । यसबारे समयमै सोच्न नसके भयवाह हुने देखिएको छ ।

याल्वाङ्गमा दैनिक कोरोना सङ्क्रमित बढ्दै गए पनि जिल्लाका जनप्रतिनिधि र जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले सक्रिय भूमिका निर्वाह गर्न नसकेको भन्दै बजारमा आलोचना गर्न थालिएको छ ।

हिमपातपछि बिहान, बेलुका र रातिको समयमा तापक्रम माइनसमा पुगेसँगै प्रकोपलाई नियन्त्रणमा लिन नसक्दा वडा नम्बर ४ को समुदायस्तरमा प्रवेश गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

उत्तरी क्षेत्रमा देखिएको कोरोना प्रकोप नियन्त्रणमा जिल्लाका नियमनकारी निकाय नै मौन बसिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु