१३ मंसिर २०७७, शनिबार

उद्योगी दीप शाहीद्वारा सरकारलाई गुहारः ‘मेरो उद्योग डुब्न लाग्यो बचाइ दिनुहोस्’



१ मंसिर, काठमाडौँ । करिव ३ दशकदेखि कार्पेट तथा गलैंचा व्यवसायमा आवद्ध दैलेखका दीपबहादुर शाहीले केहि वर्षदेखि विश्व स्तरीय ट्विड उत्पादन गरी विश्व बजारमा पठाइरहेका छन् ।

यी ट्विड उत्पादनहरू उच्च खानदानी तथा कपडाका सोखिनहरूले लगाउने गर्दछन्। ट्विड उत्पादनका लागि कर्णालीका विभिन्न जिल्लाबाट मंसिर र चैत गरी वर्षमा २ पटक ऊन सङ्कलन गर्ने गरिएको छ ।

सन् २०१६, फेब्रुअरीबाट गोर्खा जीएन ट्विडको ब्रान्डमा कोट, पाइन्ट, स्वीटर, सर्ट, जुत्ता तथा झोलाहरू उत्पादन गरी वाह्य बजार निर्यात गर्दै आएका शाहीले कोभिड–१९ का कारण आफ्नो उद्योग अप्ठ्यारो अवस्थामा गुज्रिरहेकाले सरकारबाट सहयोगका लागि सामाजिक सञ्जालमार्फत् अपिल गरेका छन्।

विश्व बजारमा नेपाललाई ट्विडबाट फरक ढङ्गले चिनाइरहेका उद्योगी शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो उद्योग डुब्न लाग्यो बचाई दिनुहोस् यदि नेपाल सरकारसँग कुनै उपाय छ भने । सरकारको आह्वानमा बैंकले पुनः कर्जा उपलब्ध गरायो र सोहि रकम व्याज स्वरूप फिर्ता लग्यो ।’

उद्योगी शाहीद्वारा सामाजिक सञ्जालमा सरकारसँग यसरी गुहार मागेका छन्ः

सादर अनुरोध
नेपाल सरकारलाई सादर अनुरोध गर्दछु, मेरो उद्योग डुब्न लाग्यो बचाई दिनुहोस् यदि नेपाल सरकारसँग कुनै उपाय छ भने । सरकारको आह्वानमा बैंकले पुनः कर्जा उपलब्ध गरायो र सोहि रकम व्याज स्वरूप फिर्ता लग्यो । यसमा मेरो कुनै गुनासो छैन । उद्योग सञ्चालन गर्नको लागि बैंकबाट ऋण लिँदा हाम्रो जग्गा जमिन मात्र होइन आफ्नो परिवारमा जो जो छन्,आमा बाबु छोरा छोरी श्रीमती सगोलमा भए भाईको परिवार सबै धितो जमानी राख्नु पर्छ । यदि बैंकको सावाँ ब्याज बुजाउन सकेन भने धितो राखेको जग्गा मात्र होइन, जमानी बसेकाहरूको सम्पत्ति समेत जफत गरी असुल उपर गर्ने कानुन छ । डर लाग्छ ! के गर्ने ?

बजेट भाषणमा अर्थमन्त्रीको भाषण सुन्दा स्वदेशी उद्योगलाई पाँच प्रतिशत व्याजमा ऋण सरकारले उपलब्ध गराउनेछ भन्ने घोषणा गरेको थियो । कोभिड–१९ले गर्दा तहसनहस भएको उद्योगले आशा राखेर पाँच प्रतिशत व्याज कायम गरिदिन बैंकलाई अनुरोध गर्दा बैंकले हामिलाई उत्कृष्ट ऋणिको दर्जा दिएर फायल केन्द्रमा पठायो । केन्द्रले २०÷२५ लाख ऋण लिने ऋणिलाई मात्र हो, करडौं ऋण लिने ऋणिलाई ५ प्रतिशत ब्याजको सहुलियत होइन भनेर हाम्रो फायल राष्ट्र बैंकमा पठाएन अव म के गरूँ ? ३० बर्ष भयो व्यवसाय सञ्चालन गरेको यस्तो सङ्कट कहिल्यै परेन, नढाटिकन भन्ने हो भने आत्मा रोएको छ, यस्तै पिडामा सपना देख्छु । विदेशबाट अडर आएको, खुसि हुन्छु, अबत मेरो उद्योग बाँच्ने भयो हर्ष उल्लासका साथ आफ्ना सबै चिनेजानेका मित्रहरूलाई भन्छु साथी हो विदेशबाट अडर आयो म बाँचे मेरो उद्योग बाँच्यो । यो जोगाई र बचाई केवल निन्द्रामा देखेको सपना मात्र थियो । अव म के गरूँ ?

हामी दाजुभाइसँगै भएको हुँदा हाम्रा प्रिय जीवन साथीहरूले हामीलाई हिम्मत दिएका छन्, गाह्रो भयो भने गहना बेचेर काम चलाउनु होस् भनेर दुवै जनाले गलाको सिक्री दिए । चार दिन अगाडि भाइ र मेरो श्रीमतीले सुन बेचेर ६ लाख ल्याएर दिए त्यो ६ लाखको बिट्टा बोकेर म भित्र अफिसमा छिरें आँसु झरे । अव म के गरूँ ?

मैले अदृश्य शक्तिसँग कहिल्यै केहि मागेन । कोसँग मागुँ कस्ले के देला के भगमानले केहि देलात !

वास्तवमा हाम्रा लागि हाम्रा ग्राहक नै भगवान हुनुहुन्छ । हे जिउँदा भगवानहरूहो म हजुरहरूको आशामा छु । हाम्रो स्वदेशी उत्पादन प्रयोग गरेर हाम्रो उद्योगलाई बचाउनुहोस् अव मसँग अरू उपाय केहि छैन । अव म के गरूँ ? सँधै विपनामा देश बनाउने सपना देख्ने आत्माले निन्द्रामा सपना देख्न थाल्यो । आज कात्तिक २८ गते काग तिहार बैंकले एक लाख तिस हजार ब्याज जम्मा गर्नु भन्यो । अव म के गरूँ हात खडा गरेर पलायन हौं कि के गरूँ सरकार? हे सरकार तिमी कहाँ छौ ? म जस्ता पिडित उद्योग तिर आँखा लगाउन सरकार ! मैले ज्ञानेन्द्र सरकारलाई भनेको होइन । नेपाल सरकारलाई अनुरोध गरेको हुँ सरकार जो आदेश सरकार । सरकारको आज्ञाकारी उद्योगि व्यवसायी ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु