माइनस् दश डिग्रीमा पनि लिमीको विद्यालयमा पठनपाठन सुचारू
समर हुम्ली
२९ कार्तिक, हुम्ला । नाम्खा गाउँपालिका वडा नं ६ मा पर्ने लिमीको हल्जी गाउँमा माइनस् दश डिग्री तापक्रम भए पनि विद्यालय सञ्चालनमा आएको छ । हिउँदको समयमा प्रतिकुल मौसमका बिच विद्यालय सञ्चालनमा आएपछि स्थानीय अविभावक र विद्यार्थीहरू खुशी भएका छन् ।
‘नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ्गमा सञ्चालनमा रहेका विद्यालयको छात्रबासमा कोरोना पोजेटिभ देखिएको अवस्था होस् कि हुम्लाका अन्य स्थान र नेपालमा कोरोनाको प्रकोपले दुःख दिएको अवस्था होस् यहाँ विद्यालय निर्वाध रुपमा सञ्चालनमा आएको छ ।’ नाम्खा ६ लिमीका वडा अध्यक्ष पाल्जोर लामाले भने ।
हुम्ला जिल्लाभरिका विद्यालयहरू कोरोना प्रकोपको कारण पटक–पटक खुल्ने र बन्द हुने अवस्था भए पनि लिमीमा भने हिउँद–वर्षा विद्यालय नियमित सञ्चालनमा आइरहेको छ । यसले गाउँकै विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीहरूलाई सहज भएको हल्जी गाउँका स्थानीयबासी खेन्राव तामांगले बताए ।
कुनै बेला वर्षको एक दुई महिना मात्र विद्यालय सञ्चालनको उपमा पाएको हल्जी गाउँमा पछिल्लो समय स्थानीयबासीहरूको अगुवाईमा हिउँद वर्षा, हुरी झरी र तातो चीसोमा पनि विद्यालय सञ्चालन गरेर जिल्लमा नै एक नमुना काम गरिएको शिक्षा समन्वय तथा ईकाई कार्यालय हुम्लाका प्रमुख विष्णुबहादुर शाहीको मत रहेको छ ।
जिल्लामा गाउँलेहरूको प्रतिबद्धता रहेको अवस्थामा जुनसुकै काम पनि गर्न सकिने यो एक नमुना र स्मरणयोग्य काम मानिएको छ । यहाँ विद्यार्थीहरूका लागि दिवा खाजाको व्यवस्था पनि मिलाइएको छ ।