१६ श्रावण २०७८, शनिबार

प्रा.डा. चन्दा कार्कीसहित ११ जना डाक्टरले छोडे केएमसी



२९ कात्तिक, काठमाडौँ । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडकी प्रिन्सिपल प्रा.डा. चन्दा कार्कीसहित ११ जना चिकित्सकहरूले पदबाट राजीनामा दिएका छन् । २१ वर्षदेखि काठमाडौँ मेडिकल कलेजसँग आवद्ध रहेकी प्रा.डा. कार्कीले मङ्सिर १ गतेबाट लागु हुने गरी राजीनामा दिएकी हुन् ।

नयाँ व्यवस्थापन भित्रिएसँगै उनले पदावधि सकिन ६ महिना बाँकी छँदै पदबाट राजिनामा दिएकी हुन् । उनले काठमाडौं मेडिकल कलेजमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृत र पछिल्ला ८ वर्षदेखि प्रिन्सिपलका रूपमा काम गरेकी थिइन् । वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ कार्की काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको कर्मचारीका तर्फबाट सञ्चालक समेत हुन् ।

प्रा.डा. कार्कीसँगै कर्मचारीका तर्फबाट सञ्चालक रहेका मेघराज खड्काले पनि राजीनामा दिएका छन् । मेडिकल कलेजका चर्चित चिकित्सकहरू पनि धमाधम राजीनामा दिन थालेका छन् । जसमा बरिष्ठ फिजिसियन प्रा.डा. अर्पणा न्यौपाने, बरिष्ठ बालरोग विशेषज्ञ डा. पुष्पराज शर्मा, बरिष्ठ साइक्याट्रिक प्रा. डा. सुदर्शनराज प्रधान, छाला रोग विशेषज्ञ डा. रुपक विश्वकर्मा र डा. गोविन्द पोखरेल, रेडियोलोजिष्ट डा. सुजन पन्त, डा. लभिका शाक्य र डा. स्मृति मुल्मीले पनि राजीनामा दिएका छन् ।

यस्तै बरिष्ठ सर्जन डा. दिपकराज सिंहले पनि पदबाट राजीनामा दिएका छन् । काठमाडौँका मेडिकल कलेज स्रोतकाअनुसार उनीहरू सबैको राजीनामा स्वीकृत भइसकेको छ । भर्खरै एनेस्थेसियाका चिकित्सक डा. बाबुराजा श्रेष्ठ पनि राजीनामा दिएका छन् । तर उनको राजीनामा स्वीकृत भइनसकेको बताइएको छ ।

केएमसी स्रोतकाअनुसार नयाँ व्यवस्थापन आएपछि प्रशासनतर्फका ३० भन्दा बढी कर्मचारीले राजीनामा दिइसकेका छन् । नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले केएमसीको बहुमत सेयर खरिद गरेसँगै पुराना चिकित्सक र कर्मचारीमा असन्तुष्टि चुलिएको थियो । सोही कारण उनीहरूले राजीनामा दिएको जानकारी प्राप्त भएको छ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु