१३ मंसिर २०७७, शनिबार

प्रथम महिला भएपनि जिल बाइडेनले शिक्षण पेशा जारी राख्ने



२९ कात्तिक, न्युयोर्क । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले प्रथम महिला भएपनि आफ्नो शिक्षण पेशा जारी राख्ने योजना बनाएकी छिन् । यसो भएमा जिल बाइडेन ह्वाइटहाउसबाहिर तलबी काम जारी राख्ने अहिलेसम्मकै एकमात्र प्रथम महिला हुनेछन् ।

डाक्टर जिल बाइडेन नर्थन भर्जिनिया कम्युनिटी कलेजमा पूर्णकालिन अङ्ग्रेजी प्राध्यापक हुन् । उनले हालैको एक अन्तरवार्तामा प्रथम महिला भएपनि आफ्नो अध्यापन पेशा भने जारी राख्ने बताएकी थिइन् । उनले आफू ह्वाइटहाउसमा रहँदा पनि पढाउने काम नछाड्ने बताएकी थिइन् ।

मान्छेहरूलाई शिक्षकको महत्व र उनीहरुको योगदान थाहा दिनका लागि तथा पेशाको गरिमा बढाउनका लागि शिक्षण पेशा नछाड्ने जिल बाइडेनले बताएकी थिइन् । ओहायो युनिभर्सिटीकी प्रोफेसर क्याथरिन जेलिसनले डाक्टर जिल बाइडेन ह्वाइटहाउसमा रहँदा पनि बाहिर तलबी जागिर खाने एकमात्र प्रथम महिलामात्र नभई डाक्टरेट डिग्री हासिल गरेकी अहिलेसम्मकै एकमात्र प्रथम महिला हुने बताएकी छिन् ।

जिल बाइडेनले जो बाइडेन उपराष्ट्रपति हुँदा पनि कम्युनिटी कलेजमा पढाउने काम जारी राखेकी थिइन् । जिल बाइडेनले आफ्नो परिचय ट्वीटरको प्रोफाइलमा समेत आजिवन शिक्षकका रूपमा राखेकी छिन् ।

आफूले कैयन शरणार्थी र आप्रवासीहरुलाई पढाएको उनले बताएकी छिन् । आफुले उनीहरूका कथाहरू मन पराउने गरेको र उनीहरू जो हुन् त्यही रूपमा माया गर्ने गरेको जिल बायडेनले बताएकी छिन् । प्रथम महिलाको हैसियतमा आफूले कम्युनिटी कलेज ट्युसन निःशुल्क बनाउने पक्षमा वकालत गर्ने उनले बताइन् । जो बाइडेन र जिल सन् १९७५ मा भेटेर सन् १९७७ मा विवाह गरेका थिए ।

(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु