हिम चितुवा : विश्व कीर्तिमानी धावक हरिबहादुरको सफलताको कथा

मोहन शाही/सीता बोहरा
५ भाद्र २०७७, शुक्रबार
मोहन शाही/सीता बोहरा
कर्णाली प्रदेशको एउटा दुर्गम जिल्लामा जन्मेर निरन्तर खेलाडी तपस्वीको रूपमा रहेका एसियाका तारा हुन् धावक हरिबहादुर रोकाया । विदेशमा विभिन्न अवसर पाउँदा पनि आफ्नै जन्मभूमिमा बस्छु, नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन दिलोज्यान दिन्छु भनेर नेपाल नै रोजेका उनले नेपालभित्र पनि राजधानी छाडेर जुम्ला नै रोजे । आफ्नै थातथलोमै बसेर नेपालको दुर्गम कर्णाली प्रदेशका लागि खेलाडी उत्पादनमा लीन छन् उनी ।
२ वटा ओलम्पिक, ४ साफ, १३ राष्ट्रिय र २९ अन्तर्राष्ट्रिय स्तरको खेलमा सहभागी मात्र भएनन् ३१ वटा खेलमा कोच भएर काम गरे । एभरेष्ट म्याराथुनमा विश्व कीर्तिमान राख्न सफल भए । उनले आफ्नो जीवनकालमा दौडका क्षेत्रमा सफलताको सङ्ग्रहालय नै तयार गरे । हिँउ चरी, हिम चितुवाको उपमा पाए तर कर्णालीमा जन्मेर देशको शिर उँचो पार्न सजिलो भने थिएन । उनको उच्च आत्मविश्वास र इच्छाशक्ति नै उनको शक्ति बन्यो ।
बुवा कर्णबहादुर र आमा उमादेवीको कोखबाट २०१८ असोज १५ गते चन्दननाथ नगरपालिका जुम्लाको सामान्य किसान परिवारमा जन्मिएका उनी ३ भाइ २ दिदीबहिनी बीचमा हुर्किए । कर्णाली प्रदेश त्यसमा पनि जुम्ला जिल्लाको हिउँसँग खेल्दै हुर्किएका उनी सानोमा एकदमै चञ्चले स्वभावका थिए । त्यही चञ्चले स्वभावका कारण घर परिवार र आफन्तको टोकाइ खान्थे । उनी बिस्तारै हिँड्नै जान्दैनथे । कतै जानु पर्यो भने दौडिएरै पुग्थे । कदले पनि अग्ला उनलाई साथीहरू, दाजुभाइले हिड्नमा कहिल्यै भेट्टाउन सक्दैनथे । जसरी अहिले संसारले नै उनलाई भेट्टाउन सकेको छैन् । उनको उफ्रने दौडने स्वभावका कारण उमेरसँगै खेलकुदतर्फ प्रेरित भए । खेलकुदमा घर परिवारको पनि हौसला रह्यो ।
२०३६ सालको कुरा हो, विद्यालयमा सामान्य उफ्रने दौडने उनी पहिलो पटक राजाको जन्मोत्सवको अवसर पारेर गरिने वीरेन्द्र रनिङ्ग शिल्ड प्रतियोगितामा दौडिए । त्यतिबेला उनी कक्षा ८ मा पढ्दथे । तीन कि.मि.को उक्त प्रतियोगितामा उनी प्रथम भए । त्यसपछि लगातार भएका २ वटा रनिङ्ग शिल्डमा पनि उनलाई कसैले उछिन्न सकेनन् । सो प्रतियोगिता जिल्लास्तरको माध्यमिक तहको प्रतियोगिता थियो । लगातार ३ वर्ष प्रथम हुँदा हौसला बढ््नुका साथै दौड पनि खेल रहेछ भन्ने थाहा पाएर अब राष्ट्रिय स्तरको दौड दौड्नु पर्छ भन्ने लाग्यो उनलाई ।
त्यसपछि उनको खेल जीवनले राष्ट्रियस्तरको खेलमा प्रवेश गर्ने मौका पायो । २०३९ सालमा जुनियर राष्ट्रिय च्याम्पियनसिपका लागि छनौट भएर दौड्न जुम्लाबाट नेपालगञ्ज ओर्लिएर कृष्णनगर भारत हुँदै बुटवलबाट काठमाडौं आएको सम्झना उनको मनमा ताजै छ । जुम्लाबाट काठमाडौं आउन नेपालको बाटो सहज थिएन त्यसैले नेपालगञ्जबाट रुपइडिहा भारत हुँदै पुनः नेपाल सुनौल नाकाबाट छिर्नु पथ्र्यो । पहिलो पटक राजधानी छिर्दाको उनको अनुभव रमाइलो छ । कर्णालीको हिउँ र चौरीसँग खेलेका उनले पहिलो पटक गाडी यही यात्रामा देखेका थिए । पहिलो पटक गाडीबाट राजधानी ओर्लिदा थुप्रै साना गाडी एकैपटक सडकमा दौडिएको देखेर उनलाई ती गाडीहरू जुम्लाका चिप्लेकिराजस्तो लाग्यो जो भयङ्कर ठुला र छिटो दौडन्थ्ये ।
पहिलो पटक राजधानी दौड्न आएका उनी चौथो भए । दौड्ने टेक्निक थाह थिएन, उनको अभ्यास पहाडको उकालो ओरालोमा हिँडेको थियो । यस्तो ट्रयाक त देखेकै थिएनन् । त्यसपछि उनलाई लाग्यो दौड्न पनि विशेष टेक्निक, विधि चाहिँदो रहेछ । साथै धेरै अभ्यास पनि । त्यसपछि उनी जुम्ला आएर आफै दौड्न थाले, कान्ला, भीर, हिउँ सबैतिर एकतमास दौडिन थाले । यो देखेर गाउँलेहरू अचम्मित पर्थे किन यो यसरी बौलाहाजस्तो दौडिन्छ भनेर ।
जब राष्ट्रिय एथ्लेटिक्स खेल्ने मौका पाए, उनले बैकुण्ठ मानन्धरको नाम मात्र सुनेका थिए । साह्रै तेज दौड्ने मान्छे भनेर जुनियर च्याम्पियन तिरै नामले मात्र चिनेका थिए । यो पटक देखेनन् मात्रै उनीसँगै मैदानमा उत्रिए प्रतिस्पर्धी भएर र त्यतिबेला दौड्दा सबै आच्छु आच्छु भए । बैकुण्ठ मानन्धरले स्वर्ण पदक हात पारे उनले काश्य पदक जिते । त्यो पटकको दौडको सम्झनामा उनी भन्छन् अरू दौडिरहन्थे तर म ट्रयाक एकबाट पानी खान आफ्नो ट्रयाक छाडेर आठमा पुग्थे र पानी खान्थें, गर्मी भयो भने भिक्स लगाउने गर्थे । यस्तो गर्दा सबैले कस्तो अचम्मको जुम्ली केटो रहेछ भन्थे । कसरी दौड्ने भन्ने ज्ञानका कमीका कारण तेस्रो भएको जस्तो लाग्छ उनलाई ।
त्यसपछि उनी प्रशिक्षणको लागि छानिए । जुम्ला छँदै प्रहरीको सेटमा खबर आयो, धु्रब प्रधान तत्कालीन आइजिपीले खबर गरे । उनी आफूले पनि दौड प्रशिक्षण पाउने कुरा थाह पाएर दङ्ग भए । अब पालो आयो २७ औं राष्ट्रिय एथलेटिक्स खेल्ने । यसमा अमिर यादवलाई उछिनेर पहिलो स्वर्ण हात पारे । उक्त प्रतियोगितामा उनी ५ हजार मिटरमा प्रथम र १० हजार मिटरमा दोस्रो भए । त्यसपछि उनको हौसलाले आकाश चुम्यो । अब उत्कृष्ट दौड खेलाडी बन्ने सपनाले बाटो पाएजस्तो लाग्यो र नेपाललाई विश्वमा चिनाउने यात्राका लागि हिँउमा दौड्न सुरू गरे ।
यसै बीच ५ हजार, १० हजार र म्याराथुन (४२.१९५ किमि) मा स्वर्ण पदक हात पारे । २०४४ देखि ४६ सम्म लगातार तीन वर्ष स्वर्ण पदक हात पारे । ५ हजार र १० हजार मिटरमा बैकुण्ठ मानन्धरको रेकर्ड तोडे पछि सर्वोत्कृष्ठ खेलाडी घोषित भए त्यसपछि हरि दौड्ने भनेपछि प्रतिस्पर्धी अत्तालिन थाले । पोखरामा भएको सिङ्गापुरको एसियन गेम्सको छनौटका लागि १० कि.मि.मा र पृथ्वीनारायण शाहको जन्मोत्सवको अवसरमा जावलाखेलमा भएको ३५ कि.मि. दौडमा पनि बैकुण्ठ मानन्धरलाई पराजित गर्न सफल भए ।
बङ्गलादेश, पाकिस्तान, भारत र सिङ्गापुरमा गरी उनले ४ वटा ‘साफ गेम’ खेले । सिङ्गापुरको नर्बिसने पल सुनाउदै उनी भन्छन्, साथीसँग कसले बढी जुस खाने भन्ने प्रतिस्पर्धा भयो, आफू जुम्लीको छोरो पछाडि परिएन २२ गिलास भुईकटहरको जुस खाइयो र रजतमै चित्त बुझाएँ । त्यसपछि निमोनिया भयो । निमोनियाका कारण भारतमा भएको साफ गेममा राम्रो प्रदर्शन गर्न सकिन तर पनि उनी जर्मनीका लागि प्रशिक्षार्थीमा छनौट भए त्यहाँ ६ महिना तालिम लिए ।
उनले सन् १९८८ सिओल दक्षिण कोरिया, सन् १९९२ स्पेन बार्सिलोनामा ओलम्पिक खेले । अव उनलाई लाग्यो मलाई विश्व कीर्तिमान राख्न कसैले रोक्न सक्दैन । उनले सन् १९९३ र १९९५ मा भएको विश्व स्तरीय एभरेष्ट म्याराथुनमा भाग लिई दुबैमा दोस्रो भए । त्यसपछि सन् १९९७ मा स्वर्ण पदक हात लाग्यो । अव पालो आयो विश्व रेकर्ड राख्ने, सन् १९९९ मा ३ घण्टा ५९ मिनेट ६५ सेकेण्डको विदेशीले राखेको र्कीतिमान भङ्ग गर्दै ३ घण्टा ५६ मिनेट १० सेकेन्ड मै म्याराथुनमा स्वर्ण हात पार्दै नयाँ विश्व रेकर्ड कायम गरे । त्यतिले अझै उनको चित्त बुझेन । सन् २००० मा त्यो आफ्नै रेकर्ड ३ घण्टा ५० मि २३ सेकेण्डमा तोडी गिनिज बुक अफ वल्र्ड रेकर्ड राखे । त्यतिले पनि उनी सन्तुष्ट भएनन् आफ्नो रेकर्ड पुन ब्रेक गर्ने सोचले सन् २००३ मा पनि म्याराथुन दौडे प्रथम त भए तर उनलाई लेक लाग्यो त्यसपछि खेलबाट नै सन्यास लिए ।
यसरी उनी २७ बर्ष दौडिए आफ्नै खुसीले, आफ्नै इच्छाशक्तिले । तर उनलाई नेपाली खेलाडीले जति गर्न सक्थे उचित अवसर नपाएका कारण गर्न नसकेकोमा दुःख लाग्छ । उनी भन्छन्, सबै खेलाडीलाई समान व्यवहार गर्ने कुशल कोचले खेलकुदमा महत्व राख्छ । विकसित देशमा एउटा कुनै खेलमा एक पटक स्वर्ण जित्योे भने जीवन सेटल हुन्छ तर नेपालमा त्यो अवस्था छैन भन्छन् उनी ।
स्कुले जीवनमा भलिबल, फुटबल, हेण्डबल खेल्न रुचाउने उनलाई सामूहिक खेलमा मन भएन । एकल खेलमा आफैमा निर्भर हुने भएकाले यसैमा झुकाव भयो । गाउँमा सामान्य खाना, ढिँडो, आटो, हरियो सागपात, मह, घिउ, स्याउ बढी खाने गर्थे र खाएपछि टन्न गरी खान्थे । खेलाडीका लागि आवश्यक व्यवस्थित आहार खाएनन्, खाना के खाने भन्ने थाह नै थिएन । उनी भन्छन्, पानी पनि तीर्खा लागेपछि मात्र खाइथ्यो । पछि म्याराथुन खेल्दा मह धेरै खाएँ । महले मेरो आन्तरिक शक्ति बढायो जस्तो लाग्छ । उनी दौड्नमा यति लीन भए कि उनको पढ्नेतिर ध्यान नै गएन । २०३९ सालमा टेष्ट पास गरेपछि उनी खेल्नमै व्यस्त भए ।
खेलमा सन्यास लिए पनि उनको खेल जीवनले विश्राम पाएको छैन । जुम्लामै २०६४ सालमा कर्णाली स्पोट्र्स क्लव खोले अहिले त्यसको संरक्षक छन् । त्यही क्लवबाट कर्णालीका सम्भावना नियाल्छन् । तालिम दिन्छन् र विभिन्न प्रतिस्पर्धामा उतार्छन् । कर्णालीलाई अवसर दिए देशका कुनै भागका खेलाडीभन्दा कम छैनन् । कर्णाली प्रदेशका खेलाडीले उत्कृष्ट नतिजा दिन सक्छन् भन्ने ठोकुवा गर्छन् उनी । उनले यति भन्दै गर्दा आफूले उत्पादन गरेको खेलाडी विश्वरूपा, दुर्गा, विष्णु, पूर्णलक्ष्मी, रेजिना, सुनमायाले लगातार स्वर्ण जितिरहेको गर्वले सुनाउँछन् ।
उनको विचारमा कुनै खेलाडीले खेलको निश्चित् तह पार गरी सकेपछि त्यसको दक्षता प्रमाणपत्र दिने वा डिप्लोमा सर्टिफिकेट दिने, अन्तर्राष्ट्रिय, राष्ट्रिय खेल जिते त्यसको आधारमा जागिर पाउने, क्षेत्रीय जिते थप खेल्नका लागि आर्थिक अभाव नहुने गरी राज्यले व्यवस्था गर्नुपर्ने सुझाव दिन्छन् । उनी भन्छन्, राम्रो कोच, तालिम र अन्य सुविधा भए एथलेटिक्समा कर्णालीलाई कसैले जित्न सक्दैन । मुख्य कुरा रोजिरोटीको कुरा हो । अगाडि थप्छन्, हरि रोकायाको त यो हालत छ हाम्रो के होला भनेर को आउँछ खेल क्षेत्रमा भनेर भनिहाल्छन् नि ! त्यसैले सम्भावना बोकेका खेलाडीको रोजिरोटीको जिम्मा सरकारले लिनु पर्छ तब मात्र खेलाडीले राष्ट्रका लागि गर्वका साथ विश्वलाई जित्ने सपना देख्न सक्छ । उनको भोगाइमा खेलाडीको उचित सम्मान नभएको दुखेसो पोख्छन् । खेलकुदमा लागेपछि जीविकोपार्जन गर्न सकिन्छ भन्ने वातावरण राज्यले दिनु पर्छ भन्छन् ।
खेलकुदमा कर्णालीको सम्भावनाका बारेमा कुरा गर्दा उनी भन्छन्, हाइ अल्टिच्युडमा बसेकोले धेरै किसिमको खेल खेल्न सक्छ । ठाउँ र वातावरणले मानिसलाई धेरै प्रभाव पार्छ । हिमाल, पहाडको मान्छे तराईमा हिँडेपछि पनि दौडेको जस्तो हुन्छ । त्यसैले कर्णालीले सबै किसिमको सम्भावना बोकेको छ । खेलकुदमा अवसर पाए उत्कृष्ट प्रदर्शन गर्नेमा शङ्का छैन । उनी भन्छन्, अहिले पनि ४ हजार मिटर उचाइमा तालिम हुन्छ, मैले पनि त्यही गर्थे । त्यहाँ त हिउँमा दौडने हो, हिउँमा चिप्लेपछि बाँच्ने सम्भावना कम हुन्छ । हिउँका मान्छेको तागत अझै प्रष्फुटन हुन पाएको छैन । प्रकृतिले कर्णालीलाई सबै दिएको छ, कर्णालीमा प्रचुर सम्भावना देख्छन् उनी । जलवायु परिवर्तनका कारण हिउँ कम हुँदै गइरहेकोमा उनी चिन्ता व्यक्त गर्छन् ।
उनी खेल छाडेर किन खेलाडीहरू विदेश भासिएका छन् गहन भएर सोच्न राज्यलाई अनुरोध गर्दछन् । देशलाई खेलाडीले मेडल दिन्छ तर देशले जबसम्म हेर्दैन तबसम्म खेलाडीले खेल नै नखेले हुन्छ भन्ने अभिव्यक्ति दिन्छन् । उनी खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्प्रति गुनासो पोख्दै पदमा पुगेपछि लामो समय खेल खेलेका पनि आफ्नै निजी स्वार्थमा भासिएकोमा दुःख मान्छन् । अन्तमा उनको जस्तो त्याग, समर्पण र माटोप्रतिको सम्मानले नै देशको शिर उँचो भएको छ ।