१३ मंसिर २०७७, शनिबार

दमाहा र मागलसँगै लाम्रा सम्वादः गाउँका कुडा सुरु



२८ कात्तिक, जुम्ला । आजदेखि जुम्लाको लाम्रा गाउँमा स्थानीय अगुवाहरूको पहलकदमीमा लाम्रा सम्वादः गाउँका कुडा–२०७७ सुरु भएको छ । दमाहा र मागलसहित उद्घाटन भएको लाम्रा सम्वाद स्थानीय ज्ञान, संस्कृति, सिप, भाषा, चाडवाड, रितिरिवाजलाई पुनः उजागर गर्ने उद्देश्यले गरिएको हो ।

तिहारको बेला बाहिरबाट मान्छेहरू गाउँ फर्किने देउसी खेल्ने, खेलकुद कार्यक्रमहरू विगतमा आयोजना हुँदै आइरहेका थिए । यस पटकदेखि गाउँमा स्थानीय इतिहास, ज्ञान, सिप, संस्कृति, परम्पराका विविध पाटामा छलफल चलाई केही वौद्धिक काम गर्न सकिन्छ कि भन्ने सोचबाट यो अभियानको सुरु गरिएको लाम्रा सम्वादः गाउँका कुडा–२०७७ मुख्य अभियन्ता माधव चौलागाईँले बताए । चौलागाईँका अनुसार गाउँको कुरा एक एक जना मान्छेसँग सोधेर बुझ्नुको साटो सबै जना एक ठाउँमा जम्मा भएर गाउँका विविध पाटाका विषयमा विमर्श गर्ने उद्देश्यले स्वतःस्फूर्त यो अभियान गाउँ अगुवाहरूबाट सुरु गरिएको हो ।

लाम्रा सम्वादः गाउँका कुडाको पहिलो सत्रमा गाउँको जडो शिर्षक स्थानीय पूर्णचन्द्र चौलागाईँ, भद्रविर दमाई, विश्वराम सार्की र नौसेरी सार्की इतिहास, संस्कार, रितिरिवाज, परम्पराका विषयमा आफ्ना अनुभवहरू सुनाएका थिए । लाम्रा गाउँकै गैह्राबारीमा भएको यस सत्रको सञ्चालक लालप्रसाद चौलागाईँले गरेका थिए ।

दोस्रो सत्रमा तीर्थ र हाटयात्राका कुडा शिर्षकमा देवीलाल चौलागाईँ, कृष्णलाल चौलागाईँ, विजलाल सार्कीले आफ्ना अनुभवहरू साटासाट गरेका थिए । गैह्राबारीमै सञ्चालित यो सत्रको सञ्चालन रामलाल हमालले गरेका थिए ।

तेस्रो सत्रमा कुलोको सवाई शिर्षकमा कुलाचन्द्र चौलागाईंँ, पूर्णप्रसाद चौलागाईंँ र धनप्रसाद सिंह वक्ताका रूपमा थिए । उक्त सत्रमा गाउँको सिंचाई पद्धतिका विषयमा चर्चा गरिएको थियो । यो सत्र लाम्रा गाउँ अगाडि तिला नदीको मार्सी धान फल्ने फाँटमा भएको थियो । यस सत्रको सञ्चालन नन्दप्रसाद चौलागाईंले गरेका थिए ।

आज पहिलो दिन ४ वटा सत्र सञ्चालन गर्ने आयोजकको योजना बनाएको भए तापनि छिमेकी हाँकु गाउँका ९० वर्षिय वृद्ध छविलाल न्यौंपानेको निधन भएकाले प्रायजसो गाउँलेहरू मलाम जानु परेकाले कार्यक्रम करिव २ घण्टा ढिलो हुन पुगेको थियो । जसका कारण चौथो सत्रमा हुनु पर्ने ओक्तो र देउता आज हुन सकेन । ओक्तो र देउता भोली पहिलो सत्रमै कवा मस्टोको थान नजिकै हुने कुरा आयोजकले जानकारी गराएका छन् ।

लाम्रा सम्वादः गाउँका कुडा कात्तिक २८–३० गतेसम्म गरी ३ दिन विभिन्न ११ वटा सत्रहरूमा स्थानीय विषयका विविध पाटामा छलफल गरिनेछ । नेपालमा ठुलाबडाका कुरा सुन्ने खालका कार्यक्रम त धेरै नै भए, भइरहेका छन् तर दुर दराजका भुईँमान्छेका कुरा सुन्ने कार्यक्रम सायदै पहिलो पटक भएको होला !


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु