कर्णालीमा कोरोना सङ्क्रमितका लागि टेलिमेडिसिन सेवा
२७ कात्तिक, सुर्खेत। कर्णाली प्रदेश अस्पतालले होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमितहरूको उपचारलाई सहज बनाउन टेलिमेडिसिन सेवा सुरुवात गरेको छ । अस्पतालले होम आइसोेलेसनमा बसेका कोरोना सङ्क्रमितलाई भिडियोमार्फत् चिकित्सकहरूबाट परामर्श दिन यस खालको सेवाको सुरुवात गरेको हो ।
कर्णाली प्रदेशमा लक्षण नदेखिएका होम आइसोलेसनमा बसेका सङ्क्रमितहरू के–कस्ता उपाय अपनाए कोरोना जित्न सकिन्छ भन्ने उद्दश्यले फोन र भिडियोमार्फत् परामर्श दिन सेवाको सुरुवात गरिएको टेलिमेडिसिन सेवाका संयोजक डा. नवराज केसीले जानकारी दिए ।
डा. नवराज के.सी. का अनुसार यसअघि नै प्रदेशका दुर्गम ठाउँका बिरामीहरूका लागि प्रदेश अस्पतालमार्फत् टेलिमेडिसिन सेवा सुरु गरिसकेको थियो । उनले भने, ‘अबदेखि प्रत्यक्ष रूपमा कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकाहरूलाई प्रभावकारी सेवा दिन यो सेवा थप गरेका छौं ।’
चिकित्सकहरूले टेलिमेडिसिन सेवामार्फत् सङ्क्रमितहरूको स्वास्थ्य अवस्था बुझ्ने, सल्लाह दिने र जटिल अवस्था आएपछि तत्काल अस्पताल ल्याउन यातायातको व्यवस्था गर्ने कुरा डा. केसीले बताए ।
त्यस्तै कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रबिन खड्काले होम आइसोलेशनमा बस्दा समस्या भएमा टेलिमेडिसिन सेवाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। होम आइसोलेशनका लागि अरु ठाउँमा जस्तो कर्णालीमा सबै घरहरूमा मापदण्ड पुरा नभएको बेला यसले थप टेवा पुग्ने डा. खड्काको भनाई रहेको छ ।
कोरोना सङ्क्रमितहरूले प्रदेश अस्पतालको फोन नं. ९८५८०७०२४६ र ९८५८०७०२४८ मा सम्पर्क गरेर आफ्नो समस्यका बारेमा अस्पताललाई जानकारी गराउन सक्नेछन् ।