नेपाली काँग्रेसको महाधिवेशन मितिमा अन्यौंलता
२७ कात्तिक, काठमाडौं । धेरै पटक सरेर भोली शुक्रबारका लागि बोलाइएको नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि पनि प्रभावित हुने सम्भावना छ । सहमतिको प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएका महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का बीचको छलफल १४औं महाधिवेशनको मितिमा अड्किएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अघि सारेका समायोजन, क्रियाशील सदस्यता वितरण लगायतका विषयमा २३ कात्तिकमा भएको छलफल बमोजिम पार्टी सभापति शेरबहादुर देउवा लचिलो भएपछि महाधिवेशन कार्यतालिकाबारे प्रस्ताव तयार पर्ने जिम्मा महामन्त्रीद्वयलाई जिम्मेवारी दिइएको थियो ।
पछिल्लो पटक बिहिबार महामन्त्रीद्वयका बीचमा भएको छलफल महाधिवेशन कार्यतालिकाका विषयमा निष्कर्षमा पुग्न सकेन। महाधिवेशन मिति यसअघि निर्धारित २०७७ फागुन ७–१० लाई नै कायम राख्ने कि नयाँ तोक्ने भन्नेमा विवाद रहेको छ ।
वरिष्ठ नेता पौडेल निकट महामन्त्री कोइरालाले फागुन ७–१०सम्म नै कार्यतालिका बनाउनु पर्ने अडान लिएका छन् । क्रियाशील सदस्यता वितरण गरिसक्ने म्याद तोकेर अगाडि बढ्नुपर्ने पौडेल समूहको तर्क रहेको छ ।
त्यस्तै सभापति देउवा निकट महामन्त्री खड्काले जेठमा महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउनु पर्नेमा जोड दिएका छन् । फागुनमा महाधिवेशन गर्न असम्भव भएकाले सहमतिकै आधारमा नयाँ कार्यतालिका बनाउनु उपयुक्त हुने महामन्त्री खड्काले बताएका छन् ।
शुक्रबार बिहानसम्म सहमतिका लागि महामन्त्रीद्वय पुनः प्रयास गर्ने कुरा जानकारीमा आएको छ। यदि महामन्त्रीहरू बीचमा सहमति नजुटे शुक्रबार मध्यान्ह १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक नै अन्योलमा पर्ने खतरा छ ।