गाउँमा बत्ती बलेको २ दिनमै निर्माण समितिले नै गर्यो पावरहाउस तोडफोड
बिद्या बुढा
२७ कार्तिक, हुम्ला । खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ३ रायामा नवनिर्मित जलविद्युत आयोजनाको पावरहाउस तोडफोड भएको छ । नयाँ कार्यसमितिकै मिलेमतोमा विद्युत प्रशारण लाइन अवरूद्ध हुँदा भर्खरै उज्यालो भएको गाउँ फेरी अन्धकार भएको हो ।
१७ वर्षबाट बन्न नसकेको विद्युत आयोजना निर्माण गरी गाउँमा बत्ती बलेको राया गाउँका स्थानीयबासीले २ दिन पनि बत्तीको अनुहार देख्न पाएनन् । २०६१ सालमा सुरु भएको आयोजनाका लागि साबिकको राया गाविस, स्नोल्यान्ड एकिकृत विकास केन्द्र नेपाल, वैकल्पिक उर्जा र खार्पुनाथ गाउँपालिकाले करोडौँ रकम खर्च गरेका थिए । तत्कालीन विद्युत निर्माण समितिले काम नगरी रकम मात्र हिनामिना गरेको भनेर राया गाउँका जागरूक युवाहरूले पुरानो निर्माण समिति खारेज गरी नयाँ समिति बनाएका थिए ।
नयाँ समितिले विद्युत निर्माणको कार्य धमाधम अगाडि बढाई गाउँमा बत्ती बाल्ने प्रण गरेको थियो । गाउँलेहरू सवै खुशी थिए र विद्युत निर्माण कार्य थालनी भइसकेको थियो । तर बिडम्बना नंयाँ विद्युत निर्माण कार्यसमितीले भित्र भित्रै विभिन्न रणनिती अपनाई आफै पावरहाउस तोडफोड गरि विद्युत निर्माण कार्यमा अवरोध गरिरहेको र पुरानो निर्माण समितिका अगुवाहरूले आफ्नो पेट भर्न नपाएको भन्दै जनताले बाल्ने बत्तीको घाँटी निमोठेको समाचारहरु जताततै पढ्न पाईयो ।
विद्युत आयोजना निर्माणका लागि तत्कालीन राया गाविस र विभिन्न संघ–संस्थाबाट करोडौं रकम खर्च हुँदा पनि बत्ती बलेन । निर्माणका लागि गाउँ पुर्याइएका सामान लुकाइए । आरोप प्रत्यारोप गरी पावरहाउस तोडफोडका विरुद्ध जिल्लासम्म मुद्दा नि चल्यो ।
यि यावत समस्याका बावजुत पनि भर्खरै निर्माण सम्पन्न भएको राया खोला जलविद्युत आयोजनाको यही कार्तिक १४ गते पूर्वमन्त्री समेत रहेका कर्णाली प्रदेशसभा प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीले उद्घाटन गरेका थिए । तर उद्घाटन भएको २ दिन नबित्दै नेपाल प्रहरीका पुर्व असई समेत रहेका पुरानो विद्युत निर्माण समितिका सचिव बलवीर रावलसहितको टोलीले पावरहाउस तोडफोड गरेको खार्पुनाथ गाउपालिका अध्यक्ष कर्ण रावलको आरोप लगाएका थिए । तर त्यो आरोप अहिले झुठो साबित भैसकेको छ ।
नयाँ जलविद्युत कार्यसमितिको अध्यक्ष टेक बुढाका छोरा मोहन बुढा, गाउँका युवा नन्द बुढा र राया गाउँका वडा अध्यक्ष गुलुम रावलले विद्युत आयोजनाको पावरहाउस तोडफोड गरेको खुलेको छ । घटनामा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । तर नयाँ कार्यसमितिले भने पुरानो कार्यसमितिले तोडफोड गरेको मुद्दा दर्ता गरेको गाउँका स्थानीयबासी दानसिंह बुढाले जानकारी दिएका छन् । उनले गाउँ नै अन्धकारमा राख्ने र अरूको चरित्र हत्या गर्नेलाई कडा भन्दा कडा सजायको माग गरेका छन् ।