कोरोना सङ्क्रमणबाट ४८ वर्षीया अनमीको निधन
२५ कार्तिक, काठमाडौं । कोरोना सङक्रमणका कारण एक अनमीको उपचारका क्रममा निधन भएको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १० की ४८ वर्षीया अनमी गोमा गुरूङको भैरहवास्थित भीम अस्पतालमा सोमबार राति १० बजे मृत्यु भएको हो ।
गुरुङ विगत २० वर्षदेखि निरन्तर स्वास्थ्य सेवामा सक्रिय थिइन् । उनको स्वास्थ्य अवस्थामा गम्भिर समस्या देखिएपछि कार्तिक १७ गते भीम अस्पताल लगिएको थियो । भोलिपल्ट कोरोना पुष्टि भएपछि रेम्डिसिभिर र प्लाज्मा थेरापीबाट उपचार गरिए पनि स्वास्थ्यमा प्रभावकारी सुधार नआए पछि गुरुङको कार्तिक २४ गते मृत्यु भएको भीम अस्पतालका सूचना अधिकारी नारायण पोखरेलले जानकारी दिए ।
रुपन्देहीमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउने उनी पहिलो स्वास्थ्यकर्मी हुन् । यसअघि नेपालमा कोरोना सङ्क्रमणबाट १ डाक्टर, ५ नर्स, २ अहेव र १ प्रयोगशालार्मी गरी ९ स्वास्थ्यकर्मीको निधन भइसकेको छ ।