१३ मंसिर २०७७, शनिबार

कोरोना सकारात्मक देखिएपछि !


नमस्कार शाह
२५ कार्तिक २०७७, मंगलवार

कोरोना कहरले यसपटकको दसैँ त्यति उल्लासमय कसैका लागि थिएन । म अघिल्लो वर्ष पनि दसैँमा गृह जिल्ला अछाम जान नपाएका कारण यस वर्ष जाने तयारीमा थिएँ । यही क्रममा कार्यालयको काम सकेर जाने तरखर गर्दै, गर्दा म पञ्चमीको दिन कार्तिक ५ गते साँझदेखि अलि अस्वस्थ भएँ, हल्का ज्वरो, रुघा र शरीर दुःख्ने समस्या भएपछि षष्ठीका दिन म फिल्डमा कतै नगएर कार्यालयमै बसें । त्यो दिन थप अस्वस्थताले च्याप्यो । सामान्य औषधी खाएर त्यो दिन बसें । पछिल्लो दिन अर्थात् सप्तमीको दिन कार्तिक ७ गते पनि स्वास्थ्यमा सुधार आएन । मलाई एक महिना अघि टाइफाइड भएको थियो । टाइफाइड फेरि फर्किएको हो कि भन्ठानेर डाक्टर प्रकाश नागलाई सम्पर्क गरेर आफ्नो अवस्था बताएँ । उहाँले पीसीआर गर्ने कि भन्नु भयो । मैले टाइफाइड भए/नभएको जाँच गरेर पीसीआर गर्ने बताएपछि उहाँले आफू कहाँ आउन समय दिनुभयो तर एकैछिन पछि कोभिड–१९ का बाँके फोकल पर्सन नरेश श्रेष्ठसँग कुराकानी भयो । उहाँले पछिल्लो दिन पीसीआर परीक्षण हुने, नहुने यकिन नभएकाले पीसीआर गराइहाल्न सल्लाह दिएपछि डाक्टर प्रकाशलाई सो कुरा जानकारी गराएर म जिल्ला प्रशासन कार्यालय बाँकेमा पीसीआर परीक्षण गर्न गएँ, स्वाब दिएर फर्कें । अलि असजिलो महसुस गर्दै सप्तमीको दिन बिताएँ ।

अष्ठमीको बिहानै ६.०० बजेनै दसैँको शुभकामना दिन फोन, एसएमएस आउन थालेपछि अस्वस्थताका कारण मोबाइल साइलेन्ट गरेर फेरि निदाएँ । साढे आठ बजे उठ्दा मेरो मोबाइलमा धेरै कलहरू मिस भइसकेका रहेछन् । ५ पटक त बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ् सरकै टेलिफोन आएको रहेछ । उहाँको फोनबाट मैले आफू पोजिटिभ भएको महसुस गर्दै कल व्याक गरें । उहाँले मलाई स्वास्थ्य लाभको कामना गर्दै पोजिटिभ देखिएको जानकारी दिनु भयो । उहाँले मलाई फोन गर्नु पूर्वनै स्वास्थ्य लाभको कामना गरेर सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गरिसक्नु भएको रहेछ । उहाँको पोष्टबाट सबैलाई जानकारी भई धेरै शुभचिन्तकहरूले फेसबुकमा पोष्ट गरिसक्नु भएको रहेछ । मैले आफ्नो रिपोर्ट पोजिटिभ आएको मम्मी र बहिनी शकुन्तलालाई जानकारी दिएँ । होम आइसोलेसन बस्ने कि होटल बस्ने दोधारमा म परें, मम्मी, बहिनीको सल्लाह बमोजिम होम आइसोलेसननै बस्ने मैले निधो गरें । त्यसपछि तारान्तार फोनको घण्टी बजिराख्यो, कतिको फोन रिसिभ गरें, कतिको सकिन । मम्मी र बहिनीको सल्लाह बमोजिम म दोश्रो तल्लामा रहेको आफ्नो कोठाबाट छतमा रहेको गेष्ट होममा सरें । त्यति बेलासम्म अछामबाट बुवा, कान्छी मम्मी, अछाम घर जाँदै गर्नुभएका दाजु, दुई बहिनी शान्ति, जगदिश्वरी र कपिलबस्तुबाट बहिनी रमिताको स्वास्थ्य लाभको कामनासहितको फोन आइसकेको थियो ।

अष्ठमीको दिन सबै दसैँमा रमाइरहेको बेला म कोरोना पोजिटिभ भएको थिएँ, म पोजिटिभ भएकोमा मलाई त्यति पीडा भएन, बरु मेरो कारणले घरपरिवारको दसैँ खल्लो हुने भयो भनेर दुःखित चाहिँ पक्कै भएँ । यही क्रममा खाना खाइसकेपछि मैले सोचे म कोरोना पोजिटिभ भएँ, यस अवधिमा मैले पोजिटिभ सोच्नु पर्छ र पोजिटिभ काम गर्नु पर्दछ । त्यहीँ अनुसार डायरीमा मैले योजनाहरू टिपोट गरें । पहिलो दिन भएर होला मेरो स्वास्थ्य अवस्थाको चिन्ता लिएर सयौं फोन, एसएमएसहरू आए, त्यहीँ संख्यामा शुभचिन्तकहरूको फेसबुकमा पोष्ट र म्यासेज आए । मैले सबैको शुभेच्छालाई ग्रहण गरें तर सबैसँग कुरा गर्न सकिन । मैले आफ्नो रिपोर्ट पोजिटिभ आएको उल्लेख गर्दै डाक्टर प्रकाश नाग, डाक्टर खगेन्द्रजंग शाह, डाक्टर श्याम सुन्दर यादव, डाक्टर कुमार शान शाहसँग सल्लाह लिएँ, उहाँहरूको सल्लाह बमोजिमको औषधि लिन सुरु गरें । पहिलो दिनमै ज्वरो नियन्त्रणमा आयो, रुघाले भने पूर्ण रूपमा ठीक हुन करिब–करिब १४ दिननै लगायो । मम्मी र बहिनीले तातो पानी, झोलिलो, पोषिलो खाना, खाजा, कोठाको न्यानोपना आदिको उचित प्रबन्ध गरिदिनुभयो ।

अष्ठमी र नवमीको दिन सामाजिक सञ्जाल, अनलाइन अपडेट, साथीभाइ, आफन्तहरूसँग टेलिफोनमा कुराकानी र महत्वपूर्ण पुस्तकको अध्ययनमा बित्यो । दशमीको दिन कार्तिक १० गते दसैँको महत्वपूर्ण दिन अलि असजिलो महसुस भयो । छरछिमेकमा टीका टालोको तयारी भइरहेका बेला, फेसबुकका वाल टीका, जमारा लगाएका फोटोहरूले रङ्गिएका बेला विश्वलाई त्राहिमान बनाइरहेको कोरोनाले मलाई घरमा बन्दी बनाइरहेको थियो । अछाम घरबाट बिहानै बुवा, कान्छी मम्मी, दाजुको शुभकामनासहितको आशीर्वाद, बहिनीहरूको शुभकामना पाइसकेको थिएँ । यता मम्मीलाई असजिलो महसुस भइरहेको थियो । आमाको मन न हो, मम्मीले म टीका लगाई दिन्छु केही हुन्न भन्दै मलाई बोलाउन आउनु भयो । मैले त्यस्तो गाह्रो मान्नु हुँदैन भन्दै उहाँहरूलाई लगाउन भनें । मम्मी र बहिनीको टीकाटालो भएपछि मैले उहाँहरूले दिएको टीका र जमारा आफैं लगाएँ, टीका, जमारा लगाउँदै गरेको फोटो शकुन्तलाले खिचिहालिछन् । मास्क लगाएर आफैं टीका, जमारा लगाउँदै गरेको मेरा तस्बिरले धेरैलाई भावुक बनायो । यसरी बित्यो यो वर्षको मेरो दसैँ ।

कोरोनाको कहरमा कैयौंले ज्यान गुमाएका छन्, कैयौंले मृत्युको मुखमा पुगेर नयाँ जीवन पाएका छन्, कैयौंले चरम शारीरिक र मानसिक तनाव भोगेका छन् । म त्यस्तो भाग्यमानीहरू मध्येको एक हुन पाएँ । जसले त्यति धेरै शारीरिक पीडा खप्नु परेन, मानसिक पीडा त भोग्नै परेन । जति पीडा मैले एक महिना अघि टाइफाइड हुँदा भोग्नु परेको थियो, अहिले कोरोना हुँदा त्यस्तो पीडा मैले भोग्नु परेन । सुरुमा ज्वरो, पछि ज्वरो नआए पनि शरीर तात्तिएको महसुस हुने, कहिलेकाहीँ शरीर दुःखेको महसुस हुनेबाहेक खानामा स्वाद नआउने, खाना मिठो नलाग्ने, टाउको दुःख्ने, सास फेर्न गाह्रो हुने, छाती दुःख्नेलगायतका कोरोनाका लक्षणहरू म मा देखिएन । बरु एक दिन पखाला र एक दिन केही वर्ष अघि रुकुम जाँदा खप्न नसकी पेट दुःखेर अस्पताल भर्ना भएको घटनाको झल्को दिने गरी पेट दुःखाइको सामना गर्नु प¥यो । घरपरिवारको माया, ममतासहितको उच्च रेखदेख, आफन्तजन, शुभेच्छुकहरूको हौसला र शुभेच्छाले कोरोना नामक पापीलाई परास्त गरेको छु । अनायासै मभित्र सकारात्मक भएर छिरेको कोरोनालाई १६ औं दिनमा गलाएर नकारात्मक बनाएर भगाएको छु । मेरो शरीरभित्र कोरोना पोजिटिभ भएर छिरिरहँदा म पूर्ण रूपमा पोजिटिभ भएर १५ दिनको अन्तरालमा १५ प्रकारका पोजिटिभ काम गर्न सफल भएको छु । जसलाई यहाँ विस्तृत रूपमा उल्लेख गरेको छु ।

१) उच्च मनोबल, अनुशासनपूर्वक नियम पालनाः

म पोजिटिभ भइसकेपछि आफूलाई कमजोर महसुस गरिन, मनोबल उच्च पारें । बिरामी भएर बेडमा सुतिरहेको व्यक्तिलाई के छ खबवर ? भनेर सोध्ने समाज हो हाम्रो समाज । मलाई १५ दिनको अवधिमा प्रत्यक्ष भेट, टेलिफोन, एसएमएस, म्यासेन्जरका माध्यमबाट हाल, खबर सोध्ने कोही, कसैलाई पनि मैले आफू कमजोर भएको देखाइन, आफूलाई समस्या भएको बताइन । आफूलाई अलि, अलि समस्या हुँदा पनि केही समस्या नभएको बताइदिएर कसैलाई पनि निराश हुन दिइन । कोरोना हुँदा भोगेका दुःख भन्दा थपथाप पारेर भनिदिँदा समाज झन् आतङ्कित भइरहेको बेला मैले हरतरहबाट उच्च मनोबल प्रदर्शन गर्न खोजें तर व्यवहारमा मैले कदापि लापरबाही गरिन, सरकारको निर्देशनलाई पूर्ण रूपमा पालना गरें, चिकित्सक, अभिभावकको सल्लाहलाई पूर्ण रूपमा पालना गरें ।

म पोजिटिभ भइसकेपछि आफूलाई कमजोर महसुस गरिन, मनोबल उच्च पारें । बिरामी भएर बेडमा सुतिरहेको व्यक्तिलाई के छ खबवर ? भनेर सोध्ने समाज हो हाम्रो समाज । मलाई १५ दिनको अवधिमा प्रत्यक्ष भेट, टेलिफोन, एसएमएस, म्यासेन्जरका माध्यमबाट हाल, खबर सोध्ने कोही, कसैलाई पनि मैले आफू कमजोर भएको देखाइन, आफूलाई समस्या भएको बताइन । आफूलाई अलि, अलि समस्या हुँदा पनि केही समस्या नभएको बताइदिएर कसैलाई पनि निराश हुन दिइन । कोरोना हुँदा भोगेका दुःख भन्दा थपथाप पारेर भनिदिँदा समाज झन् आतङ्कित भइरहेको बेला मैले हरतरहबाट उच्च मनोबल प्रदर्शन गर्न खोजें तर व्यवहारमा मैले कदापि लापरबाही गरिन, सरकारको निर्देशनलाई पूर्ण रूपमा पालना गरें, चिकित्सक, अभिभावकको सल्लाहलाई पूर्ण रूपमा पालना गरें । अहिले सरकारले लक्षण नभएका व्यक्तिहरूलाई १० दिनमैं डिस्चार्ज गर्ने नियम ल्याएको छ । म पनि चाहेको भए १० दिनमै निस्किन सक्थें तर मैले त्यसो गरिन । म सँगै पोजिटिभ भएका व्यक्तिहरू १० दिन, ११ दिनमा पीसीआर परीक्षण नगरेरै पनि निस्के तर म निस्किन, न त बीचैमा मैले पसिआर गर्न हतारो गरें । १५ औं दिन होम आइसोलेसनबाट डिस्चार्ज भएपछि मात्रै मैले पीसीआर परीक्षण गरें, १६ औं दिनमा कोरोना नेगेटिभ आएपछि म काममा फर्कें । नियमित औषधि सेवन गर्नुका साथै तातो पानी, झोलिलो पदार्थलगायतको खाना खाएँ, नियमित बाफ लिएँ, दैनिक घाममा बसें, आफूलाई चिसोबाट बचाएँ ।

२) सामाजिक सञ्जालमा सक्रिय, सकारात्मक सन्देश प्रवाह गर्ने प्रयासः

मैले यस अवधिमा धेरै शारीरिक रूपमा पीडा भोग्नु नपरेका कारण मलाई यो अवधि व्यतीत गर्न त्यति गाह्रो भएन, मैले आफूलाई सामाजिक सञ्जालमा सक्रिय बनाएँ । दैनिकजसो सामाजिक सञ्जाल फेसबुकमा विभिन्न स्टाटसहरू पोष्ट गरिराखें । जसबाट म स्वस्थ रहेको, मेरो अवस्था सामान्य रहेको सकारात्मक सन्देश प्रवाह भयो । यस क्रममा मैले जन्मदिनको शुभकामना दिएँ, कोरोना पोजिटिभ भएकाहरूका लागि स्वास्थ्य लाभको कामना गरें, दिवंगत भएकाहरू प्रति श्रद्धाञ्जली प्रकट गरें, गलत कार्यको विरोध गरें, असल कार्यको प्रोत्साहन र समर्थन गरें ।

३) नयाँ जिम्मेवारीवहन, अनलाइन अपडेटः

कोरोना पोजिटिभ भएर स्वास्थ्य लाभको शुभकामना पाइरहेका कमै व्यक्ति होलान्, यस अवधिमा नयाँ जिम्मेवारीका लागि बधाई पाउनेहरू । ती कमै व्यक्तिमध्ये एक म पनि पर्न सफल भएँ । भ्रष्टाचारविरुद्ध सशक्त कलम चलाउँदै आउनु भएका चर्चित पत्रकार हरिबहादुर थापाको नेतृत्वमा सुरु भएको नयाँ अनलाइन ई–कागजमा म यही अवधिमा जोडिएँ । औपचारिक रूपमा कार्तिक ११ गतेदेखि म सो अनलाइनमा जोडिँदा सयौं शुभचिन्तकहरूबाट मैले बधाई पाएँ । यस अवधिमा मेरो सम्पादनमा सञ्चालित असल शासन अनलाइनलाई थप व्यवस्थित गर्न म सफल भएँ । अनलाइनमा समाचार पोष्ट गर्नेलगायतका कार्यहरूको बारेमा मात्रै जानकारी राख्ने मैले अनलाइनको लेआउट, डिजाइनको सामान्य ज्ञान पनि मैले यस बेला हासिल गरें । अर्काे एनी डेस्क भन्ने सफ्ट वेयरका माध्यमबाट जुनसुकै ल्यापटप, कम्प्युटरमा काम गर्न सकिने तरिका पनि सिक्ने अवसर पाएँ । यो अवसरका लागि भाई नवीन शर्माप्रति आभारी छु । यो समयमा मैले सम्पादन गरेको अनलाइन र मैले काम सुरु गरेको ईकागज अनलाइनमा धेरै समाचारहरू ब्रेकिङ गरें । जसका कारण धेरै समाचारहरू सयौंको संख्यामा शेयर भए ।

४) आफू र परिवारलाई समयः

यति लामो समय कहीँकतै नगएर घरमा बसेको यो नै मेरो जीवनको पहिलो घटना थियो । २०५९ साल चैत्र २८ गते प्रहरीको निर्घात कुटाइ खाँदा हप्ता, दश दिन बसेको म दोश्रोपटक कोरोना नियन्त्रणका नाममा सरकारले पहिलोपटक गरेको लकडाउनका बेला १०, १२ दिन घरमा बसेको थिएँ । यसरी लामो समय घर बस्दा मलाई कुनै किसिमको छट्पटाहट भएन, किनकि म व्यस्त थिएँ । विभिन्न काम गर्ने सन्दर्भमा घरमा बस्ने समयनै व्यवस्थापन गर्न सकिएको थिएन, अझ भनौं जहिले घर फर्किनु पर्दा भन्दा पनि घरबाट निस्किनु हतार हुन्थ्यो । तर यो समयमा कोरोना नामक दैत्यले आफू र आफ्नो परिवारलाई समय दिने उचित अवसर प्रदान गरिदियो । यस क्रममा परिवारका सदस्यहरूसँग आरामसँग भलाकुसारी गर्ने, सुख, दुःख आदान–प्रदान गर्ने अवसर प्राप्त भयो । यसका साथै आफ्नो व्यक्तिगत समय व्यवस्थापन गर्नका लागि पनि यो अवसरले स्वस्फूर्त शिक्षा दियो । हामीले व्यस्तताको बाहनामा खाने, बस्ने, सुत्ने, सरसफाइ गर्नेलगायतका कार्यहरूमा आफूलाई समय नदिएर सबै समय अरुका लागिनै दिइरहेका रहेछौं कि भन्ने भान पनि मलाई भयो र सोही बमोजिम हरेक कुराका लागि समय व्यवस्थापन गर्न सुरु गरियो ।

५) खानपिनः

अवस्था अनुसारको उचित खानपिनको व्यवस्था मम्मी र बहिनी शकुन्तलाबाट सम्भव भयो । आफ्नो दुःखको प्रवाह नगरी छिनछिनमा मलाई आवश्यक पर्ने खाना, खाजालगायत झोलिलो पदार्थ दिइरहनु भयो । दसैँ मनाउन अछाम घर गएका बहिनीहरू शान्ति र जगदिश्वरी कार्तिक १६ गते नेपालगन्ज फर्किएपछि मम्मी र शकुन्तलालाई सजिलो भयो । कार्तिक १८ गते बहिनी शकुन्तला काठमाडौं गएपछि मम्मी र दुई बहिनीहरूबाट मेरो खानपिनको व्यवस्थापन भयो, दाजुको साथ रह्यो । खान र पिउन बरु मैलेनै झर्काे माने हुला उहाँहरूले कहिल्यै झर्काे मान्नु भएन । सुविधाका नाममा होटललगायतका आइसोलेसनमा बसेको भए दिनको दुई छाक खाना र दुईपटक नास्ता मुस्किलले व्यवस्था हुन्थ्यो होला । घरमै होम आइसोलेसन बस्दा मेरो प्रत्यक्ष रेखदेख, निगरानीका साथमा आवश्यक आहारा सबै सम्भव भयो । यसरी खानपिनको व्यवस्थापन सबै कोभिडका बिरामीहरूलाई हुने हो भने सायदै कोही बिरामीले ज्यान गुमाउनु पर्ला ।

६) घर, छतको व्यवस्थापन, कुकुरको रेखेदेखः

सामान्य कार्य त जहिले पनि भइरहेकै हुन्छ यो अवधिमा केही सम्झन लायक काम गर्दा सधैंका लागि राम्रो हुने उल्लेख गर्दै बाँकेको बैजनाथ गाउँपालिकामा कार्यरत मेरा मित्र तप्तराज आचार्यले केही नवीनतम् कार्य गर्न सुझाव दिए । उनको सुझावबारे सोच्दै गर्दा मम्मी, दाजु र बहिनीहरूद्वारा राखिएका गमलामा मेरो ध्यान गयो, तत्कालै केही गमलाहरू थप्ने सोचमा म पुगें । बहिनीहरू, भाइ जनक, लोक र बहिनी शोभाको सहयोगमा गमलासहित केही शो पिस बिरुवा र फूलका बिरुवा ल्याई सानो छत बगैंचाको बिस्तार र व्यवस्थापन गरियो । हरेक बिहान ती बिरुवाहरूमा पानी हाल्ने कामबाट मेरो दैनिकी सुरु हुन थाल्यो । यो सधैं सम्झन लायक कार्य भएको महसुस मलाई भएको छ । त्यस्तै घरमा रहेको स्नोई नामक कुकुरको रेखदेख गर्ने काम पनि गरियो । रात दिन सबै भन्दा मेरो सन्निकटमा रहने उक्त कुकुर अलि रिसालु स्वभावको छ । तर उसलाई मैले स्याहार, सुसार गर्दा, सुमसुम्याउँदा उ मेरो साथी जस्तै बन्यो । फलस्वरूप हामी सबै मिलेर छतमा उसको अस्थायी घरनै बनाई दियौं । यसै सन्दर्भमा मेरो स्वास्थ्य अवस्था, छत बगैंचा र कुकुरको प्रसङ्गसहितको भिडियो सामाजिक सञ्जालमा शेयर गर्दा हजारौंले सो भिडियो हेरेर सकारात्मक प्रतिकृया दिए ।

७) पुस्तिकाको तयारीः

लामो समयदेखि उद्घोषण, भाषणकलाको प्रशिक्षण कार्यमा लाग्दा सधैं माग हुने उद्घोषण सम्बन्धीको पुस्तिका कार्य व्यस्तताका कारण अधुरो रहेको थियो । सो पुस्तिकाको लेखन, सम्पादनको कार्य मैले यस अवधिमा सकेको छु । निकट भविष्यमै सो पुस्तिका प्रकाशन हुनेछ ।

८) दुई स्मारिकाको तयारीः
यो समयमा बासले हरेक वर्ष प्रकाशन गर्ने बास नामक स्मारिका र गैसस महासंघ बाँकेबाट प्रकाशन गर्न थालिएको सामाजिक सेवा नामक स्मारिकाको सम्पूर्ण कार्य पूरा गरिएको छ ।

९) सम्बन्ध बिस्तार र पुनर्ताजगीः

यस अवधिमा सयौं शुभचिन्तकहरूले फोनका माध्यमबाट स्वास्थ्य लाभको कामना गर्नु भयो, सयौं शुभचिन्तकहरूले फेसबुकमा स्टाटस पोष्ट गर्नु भयो, त्यत्तिनै एसएमएस र म्यासेजहरू आए, हजारौंको संख्यामा कमेण्टहरू आए । सो क्रममा आफ्नो मूल्याङ्कन, साथीभाइ, शुभचिन्तकहरूको मूल्याङ्कन गर्न पाइयो । आफूले अहिलेसम्म कमाएको सम्पत्ति भनेकै साथीभाइ, असल शुभेच्छुकहरू रहेछन् भन्ने अनुभूति भयो । यस बेला कैयौं नयाँ व्यक्तिहरूसँग सम्बन्ध गाँस्ने, बिस्तार गर्ने सौभाग्य पनि मिल्यो, क्याम्पस स्तरमा सँगै पढेका पुराना साथीहरूसँगको मित्रता पनि यसै बेला पुनर्ताजगी गर्न पाइयो । कतिपय मेरो नजिकका साथीहरूको औधी सहयोग यस बेला पाइयो । रात, दिन मेरो चिन्ता लिएर मलाई फोन गर्ने, मप्रति शुभेच्छा व्यक्त गर्नेहरू प्रति म सदैव ऋणी भएको छु । आफू अस्वस्थ हुँदा समेत मलाई फोन सम्पर्क नियमित मेरो चिन्ता लिने मेरा प्रिय साथीहरूलाई धन्यवाद नदिई रहन सक्दिन ।

१०) सञ्जाल बिस्तारः

७३ जिल्लामा शाखाहरू भएको म आबद्ध संस्था बासका थप शाखाहरू बिस्तार हुन सकेका थिएनन् । यस अवधिमा मेरो पहलमा बाँकी रहेका ४ जिल्लाहरूमा शाखा बिस्तार गर्ने प्रयास म बाट भयो । मेरो आग्रहमा बास रुपन्देहीकी कार्यकारी निर्देशक विजया खत्रीको उपस्थितिमा नवलपरासीमा शाखा गठन भइसकेको छ भने बाँकी रहेका इलाम, खोटाङ र सोलुखम्बुमा शाखा बिस्तारको प्रकृया अघि बढिसकेको छ ।

११) मिडियाहरूसँग अन्तक्र्रियाः

१५ दिने बसाइकै समयमा ३ पटक मिडियाहरूसँग अन्तक्र्रिया गर्न पाइयो । पहिलोपटक रेडियो कृष्णसारले सञ्चालन गर्ने इजलाश रेडियो कार्यक्रममा कार्यक्रम सञ्चालक बसन्त गौतमले अधिवक्ता लोकबहादुर शाहसहित म सँग अन्तक्र्रिया गरेका थिए । सो कार्यक्रममा मेरो नयाँ पुस्तक खबरदारीका साथै आइसोलेसन बसाइँको अनुभव साट्ने अवसर प्राप्त भएको थियो । दोश्रोपटक रेडियो कृष्णसारकै साझेदारी नामक साप्ताहिक कार्यक्रममा कृष्ण अधिकारीसँग अन्तक्र्रिया गरियो । उक्त कार्यक्रममा आइसोलेसन बसाइँको अनुभव सुनाएँ, केही सचेतना र सतर्कता कुरा गरियो । तेस्रो स्वास्थ्य पेज अनलाइनका लागि कोरोना मुक्त भइसकेपछिको खुसीयालीसँगै अनुभव सुनाएँ । पत्रकार प्रिया स्मृति ढकाल, समिर श्रेष्ठ र बिनोद गौतमसँग स्वास्थ्य पेजका लागि अन्तक्र्रिया गरिएको थियो ।

१२) पीसीआर परीक्षणमा समन्वय, पोजिटिभहरूलाई हौसलाः

मौसम परिवर्तनसँगै बिरामी भएका एक दर्जन बढीको पीसीआर परीक्षण गर्न मैले समन्वय गरें । पीसीआर गर्न नरेश श्रेष्ठले धेरै सघाउनु भयो । सो क्रममा म सँगै काम गर्ने २ जना बहिनीहरूमो पोजिटिभ देखियो । उनीहरू लगायत अन्यलाई हौसला प्रदान गर्ने काम निरन्तर गरें ।

१३) लेखनः

यो बसाइँले लेखनमा पनि व्यस्त बनायो । केही समाचार, केही महत्वपूर्ण लेख र कथाहरू यस समयमा लेख्न सफल भएँ । कोरोना कहरमा भ्रष्टाचार शीर्षकको एउटा महत्वपूर्ण लेख यस समयमैं लेखें । मेरो सम्पादनमा प्रकाशन हुने असल शासन पोष्टको दुई अङ्क मेरो अनुपस्थितिमा प्रकाशन भयो । जसका लागि सम्पादन समूहका साथीहरूको महत्वपूर्ण भूमिका रह्यो तर त्यसको सम्पादन मैले अनलाइनबाटै गरें ।

१४) अनलाइन तालिमः

समयको सदुपयोग र धेरै व्यक्तिहरूको अनुरोधमा मैले यसै बेला अनलाइन उद्घोषण तालिम सुरु गरें ।

१५) अध्ययन, संस्था स्थापनामा सहयोगः

अध्ययनको दायरालाई फराकिलो बनाउँदै यस बेला महारानी, हरिहर बास्कोटाको आत्मकथा, स्टिभ जव्सको आत्म कथालगायतका महत्वपूर्ण पुस्तकहरू अध्ययन गर्न भ्याएँ । केही गरौं भन्ने भावनाका साथीहरूको आग्रहमा तीनवटा गैर सरकारी संस्थाहरू स्थापनार्थ नामाकरण गर्नुका साथै विद्यमान तयारी गरिदिने काम गरें । बैजानाथका जुझारु युवाहरूका लागि बालबालिका फाउण्डेसन, नेपालगन्जका सृजनशील युवाहरूका लागि युवा घर र मानवता नेपाल नामक संस्थाको नामाकरण गर्ने अवसर मैले प्राप्त गरें । डोटीका क्रियाशील पत्रकारहरू आग्रहमा फ्ल्यास आउट डटकम नामक अनलाइनको नामाकरण गर्ने अर्काे शौभाग्य पनि यसै बेला पाइयो ।

उल्लेखित केही पोजिटिभ कामहरू गरिरहँदा केही अनुभूतिहरू पनि मलाई भएको छ । कोरोना मात्रै होइन हरेक रोग, व्याधिबाट बच्नका लागि उच्च मनोबल, सचेतना, सर्तकता अपनाउनु पर्ने, खानपिनमा सधैं ध्यान दिनु पर्ने, वैकल्पिक उपचारका विधिहरू बारे जानकार हुनु पर्ने कुराको अनुभूति मलाई रामै्रसँग भएको छ ।

त्यसका साथै म छुट्टै कोठामा आइसोलेट भएर बस्दा महिनावारी भएर छाउ गोठमा बस्ने महिलाहरूलाई मैले झलझली सम्झेको छु । राम्रो व्यवस्था भएको एउटा कोठामा बसेर सबै मिठो, मसिनो, पोसिलो खाना अलग्गै थापेर खानु पर्दा त मलाई असजिलो लाग्यो भने वर्षाैंदेखि छाउ गोठमा बस्ने, अपमान, विभेद सहन बाध्य हुने, पोसिलो चिज खान नपाउने, पशु सरहको व्यवहार भोग्नु पर्ने ती तमाम चेलीहरूको जीवनमा के बित्दो हो ? के सोच्दा हुन् ती महिलाहरूले ? तिनले त मेरो जस्तो जीवनको १५ दिन होइन, हरेक महिनाका ५ देखि ७ दिन कष्टपूर्ण जीवन जिउँछन्, त्यही प्रकारका छाउ गोठमा अकाल मृत्युवरण गर्नेहरूको आत्माले त्यस्तो पाशविक दुःख दिनेहरूलाई कति सराप्छ होला ? म जस्ता व्यक्तिहरू त अलग्गै नबस्दा आफूसँग भएका भाइरसहरू अरुलाई सर्छन् कि भन्ने भय हो तर ती नियमित रूपमा महिनावारी हुने महिलाहरूबाट के सथ्र्याे र उनलाई दूरदूरको व्यवहार गरिन्छ ? प्रश्न अनुत्तरित छ । सबैले विश्वास गर्ने, पुजिने देवीहरू कहिल्यै महिनावारी हुँदैनन् भए पनि उनीहरूले मन्दिर छोड्नु पर्दैन तर त्यही मन्दिरमा गएर मन्दिरभित्रकी देवीहरूलाई पुज्ने बाहिरका देवीहरू हरेक महिना विभेदको सिकार बन्नु पर्दछ यो दूरदराजको कुरा मात्र होइन, शहरमा बस्ने शिक्षित महिलाहरूले पनि कुनै न कुनै रूपमा महिनावारी हुँदा अछुत व्यवहार भोगिरहेका छन् ।

अर्काेतर्फ कोरोनाका बिरामीहरूलाई विगतमा कुष्टरोगीलाई गरिने व्यवहार झै गर्ने गरिएको छ । यसलाई असाध्यै हाउगुजी बनाइएको छ । हो कोरोनाले संसार हल्लाएको छ, सचेत हुनै पर्दछ तर यसको अर्थ पूरै बहिष्करणको सिकार कोरोना बिरामीहरूलाई बनाउनु हुँदैन । घर परिवारका सदस्यहरूलाई भेट्नै नदिने, कसैको सम्पर्कमा आउन नदिने कुराले पनि बिरामीहरू थप हतोत्साहित भइरहेका छन् ।

उच्च सर्तकता अपनाउँदा, अपनाउँदै पनि कोरोना संक्रमण हुनबाट जोगिन सहज छैन तर कोरोना भइसकेपछि कोरोनालाई परास्त गर्न भने सकिन्छ त्यसका लागि चिकित्सकको सल्लाहको पालना, शरीरको अवस्थाको स्वस्फूर्त आफैं चेक जाँच, खानपिनको उचित व्यवस्थापन, उच्च मनोबल लगायतको कुराहरूमा ध्यान दिन जरूरी छ ।

कार्तिक ८ गते अष्ठमीको दिन म कोरोना सकारात्मक भएको थिएँ । कार्तिक २३ गते म कोरोना नकारात्मक भएको छु । म पूर्ण रूपमा स्वस्थ भएर म काममा फर्केको छु । १५ दिने होम आइसोलेसनको बसाइँ मेरो लागि सुखद रह्यो । यस क्रममा मेरो ख्याल गरेर प्रत्यक्ष रेखदेख गर्नुका साथै खानपिनलगायतको सम्पूर्ण व्यवस्था मिलाउनु हुने पूजनीय मम्मी, दाजु, बहिनीहरू शकुन्तला, शान्ति, जगदिश्वरी, अछाममा भएर पनि रात, दिन मेरो स्वास्थ्यको विषयमा चिन्ता लिएर फोन, भिडियोका माध्यमबाट आशीर्वाद दिनु हुने पूजनीय बुवा, कान्छी मम्मी र कपिलबस्तुबाट निरन्तर स्वास्थ्य लाभको कामना गर्ने बहिनी रमिता प्रति धेरै, धेरै आभारी छु । मेरो पीसीआर परीक्षणदेखि आजको दिनसम्म सहयोग गर्नु हुने कोभिड–१९ का बाँके फोकल पर्सन नरेश श्रेष्ठ, दैनिक मेरो स्वास्थ्य अवस्थाबारे जानकारी लिई सल्लाह दिने स्वास्थ्यचौकी वडा नम्बर १२ कि आरती चौधरी, मलाई पोजिटिभ देखिएको सबै भन्दा पहिलो जानकारी दिनुका साथै आफू पोजिटिभ हुँदा पनि मेरो चिन्ता लिई स्वास्थ्य लाभको कामना गर्नु हुने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाँग सरलाई हार्दिक आभार व्यक्त गर्दछु ।

होम आइसोलेसनको अवधिमा रात, दिन सहयोग गर्ने भाई जनकलगायत बासका सहकर्मी साथिहरूको सहयोग अविस्मरणीय छ । यस क्रममा मलाई घरमैै भेटेर स्वास्थ्य लाभको कामना गर्नु हुने अग्रज, आफन्तजन र सहकर्मीहरूले लगाएको गुन सधैं सम्झिरहने छु, टेलिफोनका माध्यमबाट मलाई हौसला प्रदान गर्नु हुने राष्ट्रिय सूचना आयोगका पूर्व सूचना आयुक्त कृष्णहरि बास्कोटा, भ्रष्टाचारविरुद्धका अभियन्ता श्रद्धेय गुरु केदार खडका, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवलशमशेर राणा, उपप्रमुख उमा थापा मगर, प्रवक्ता प्रमोद रिजालप्रति आभारी छु । मलाई स्वास्थ्य सल्लाह दिनु हुने डाक्टर प्रकाश नाग, डाक्टरकुमार शान शाह, डाक्टर श्याम सुन्दर यादव धन्यवादका पात्र हुनु हुन्छ । यस अवधिमा टेलिफोन र सामाजिक सञ्जालका माध्यमबाट मेरो स्वास्थ्य लाभको कामना गर्नु हुने सम्पूर्ण मेरा अग्रज, आफन्तजन, सहकर्मी र शुभेच्छुकहरूलाई धेरै, धेरै धन्यवाद ज्ञापन गर्दछु ।

(लेखक शाह भ्रष्टाचार विराेधी अभियान्ता तथा गैह्र सरकार संस्था महासंघ, बाँकेका अध्यक्ष हुन् ।)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु