२२ जेष्ठ २०८०, सोमबार

बालुवाटारमा ओली र प्रचण्डबीच भनाभन



२२ कात्तिक, काठमाडौं । नेकपा भित्र प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत अन्य नेताहरूबीच ध्रुवीकरण बढ्दा कमिटीको बैठकको विषय निकै पेचिलो बन्दै गएको छ । बैठक बोलाउने अख्तियारी पाएका कार्यकारी अध्यक्ष नै दुई पाने पत्र बोकेर बालुवाटार धाउनु पर्ने अवस्था उत्पन्न छ ।

आज शनिबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पार्टीको नेतृत्व गरिसकेका झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सहित बालुवाटार पुगेका छन्। केही समय अगाडि सम्पन्न स्थायी कमिटी बैठकको निर्णयअनुसार कार्यकारी अध्यक्षले प्रचण्डले ओलीसँगको समझदारीमा बैठक आह्वान गर्न सक्ने निर्णय गरिएको थियो। बैठक बोलाउन प्रधानमन्त्री ओलीले कुनै हालतमा सहमति नदिने अडान राखेपछि सचिवालय सदस्यहरू सहित हारगुहार गर्नुपर्ने परिस्थिति आएको छ ।

स्रोतका अनुसार पार्टी र सरकार सञ्चालनमा देखिएका समस्याको जड प्रधानमन्त्री केपी शर्मा ओली नै रहेको भनी बहुमत सदस्यहरूले आलोचना गरेपछि ओली आक्रोशित बनेका थिए ।

प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्डसँग भने क्षुब्ध हुँदै भने, ‘तपाईं जहिल्यै गुटबन्दी गर्नुहुन्छ । सरकारलाई असहयोग गर्नुहुन्छ । जाली, झेली कुरा गर्दै हिँड्नुहुन्छ ।’

प्रधानमन्त्रीले ओलीले आफूलाई जाली, झेलीको संज्ञा दिएपछि प्रचण्ड क्रूद्ध भई संयमता गुमाएका थिए ।

प्रचण्डले बैठक राखौंभन्दा सधैं आलटाल गरेको, बालुवाटारमा बसेर गुटबन्दीमा रमाएको, प्रदेश नम्बर १ मा आफूनिकटको भेला राखेर पार्टी अनुशासन, निर्णयविपरीत स्थगित राखिएको र केन्द्रीय कमिटीले बहस खुला नगरिसकेको अवस्थामा जनताको बहुदलीय जनवादबारे बहस चलाएको, एकट्ठा हुन आग्रह गरेकोलगायत आरोप लगाउँदै ओलीलाई ‘महाजाली’ र ‘महाझेली’ भन्दै मुख फर्काएका थिए ।

सचिवालयका बहुमत नेताहरूसँग अनौपचारिक छलफल गर्दा गुट बनाएको आरोप नलगाउन चेतावनी दिएका थिए ।

वरिष्ठ नेता झलनाथ खनालले भने, ‘हामी सामूहिक रूपमा बैठकका लागि आग्रह गर्न आएका हौं, तपाईं पार्टी कमिटीका निर्णय मान्दिनँ भन्नुहुन्छ । पार्टी कमिटीका बैठकबाट टाढिनुहुन्छ, यसरी पार्टी चल्न सक्दैन ।’

अर्का वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री ओलीलाई आलोचनात्मक प्रश्न गर्दै भने, ‘तपाईं आत्मआलोचना गर्नु पर्दैन ? कहिल्यै आफ्नो कमजोरीको समीक्षा गर्नु भएको छ ? आफूलाई हेर्नु भएको छ ? तपार्ईंका कारण के–के समस्या भएर भनेर कहिल्यै बुझ्ने कोसिस गर्नुभएको छ ?’

अप्ठ्यारो अवस्थामा काँध थापेका उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्रका सारा समस्याको जड ओली रहेको निष्कर्ष सुनाउँदै उनले पनि प्रधानमन्त्रीको कार्यशैली सच्चिनुपर्ने बताए ।

प्रवक्ता श्रेष्ठले पनि सहमतिमा बैठक राख्न जोड दिइ कात्तिक १ गते र ९ गते पत्र बुझाएर लिखित माग गरेको स्मरण गराएका थिए । अहिलेको समस्याको समाधानको थलो बैठक नै भएको श्रेष्ठले बताएका थिए ।

सचिवालयका बहुमत सदस्यहरूले एकमुख लागेर बैठकको मिति तोक्न माग गर्दा पनि ओली संवेदनशील देखिएनन् । ‘मैले कहिले बैठक नराखौं भनेको छु । आजै बसौं, भोलि नै बसौं’ भन्दै उम्कन खोजेपछि सदस्यहरूले पुनः र्याखर्याख्ती पारेका थिए ।

प्रधानमन्त्री ओलीलाई बुझाइएको दुई पाने पत्रमा कोभिड–१९ को रोकथाम, न्यूनीकरण, नियन्त्रण र उपचारमा सरकारले प्रभावकारी ढङ्गले काम गर्न र आर्थिक पुनरुत्पादनमा पनि जोड दिन नसकेको निचोड निकालिएको छ । स्थायी कमिटी बैठकको निर्णय उलङ्घन गर्दै मन्त्रिपरिषद् पुनर्गठन, राजदूत सिफारिसलगायतका काम गरेको भन्दै त्यसलाई सच्याउन, आत्मआलोचित हुन भनिएका छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको