२ आश्विन २०८०, मंगलवार

हुम्लामा घोडाबाट लडे कर्णालीका मुख्यमन्त्री, प्रदेश अस्पतालमा उपचार हुँदै



समर हुम्ली

२२ कार्तिक, हुम्ला कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सीमकोटमा घोडाबाट लडेर घाइते भएका छन् । सदरमुकाम सिमकोटस्थित जलविद्युत आयोजनाको निरिक्षण गर्न जाने क्रममा मुख्यमन्त्री शाही घाइते भएका हुन् ।

सीमकोट गाउँपालिका वडा नम्बर ३ लिमाटांग गाउँबाट जादै गर्दा शाही सवार घोडा एक्कासी तर्सिए पछि उनी लडेका थिए ।

घटना लगत्तै उनलाई हेलिकप्टरबाट सुर्खेत ल्याइएको छ । टाउकोमा सामान्य चोट लागेका शाहीको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

मुख्यमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको उनका प्रेस सल्लाहकार ध्रुब बुढाथोकीले बताए । उनले भने, ‘बाहिरी चोट खासै छैन । टाउकोमा चोट लागेकाले सिटिस्क्यान गरिएको छ । बाँकी रिपोर्ट आएपछि थाहा हुन्छ होला ।’

विकासे कामहरूको अनुगमनमा कर्णालीका मुख्यमन्त्रीसहित कृषि मन्त्री विमला के.सी, कर्णाली प्रदेश प्रतिपक्षी दलका प्रमुख जीवनबहादुर शाही, नेकपाका कन्द्रीय सदस्य जिजय भण्डारी लगायतको टोली लिमाटांग गाउँतर्फ लागेको नेकपा हुम्ला पार्टी स्रोतले जनाएको छ ।

घोडाबाट लडेर बिच बाटोबाटै मुख्यमन्त्रीलाई सुर्खेत पठाउनु पर्दा कार्यक्रम खल्लो भएको स्थानीयले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको