२३ फाल्गुन २०७७, आईतवार

जव लास बाकसमा आयो, सिङ्गो गाउँ नै शोकमा डुब्यो !



२० कार्तिक, काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया रहेका हिमबहादुर शाहीको असोज २३ गते असमायिक निधन भयो । दैलेख जिल्ला चामुण्डाविन्द्रासैनी वडा नं. ६ लैनचौर निवासी उनी भलिवलका राम्रो खेलाडी समेत थिए । उनले भलिवल खेलका माध्यमबाट दैलेख जिल्लामा ख्याती कमाएका थिए । २०६१ सालमा नेपाल आर्मीमा भर्ती भए तापनि भलिवल खेलप्रतिको लगावका कारण आर्मीको जागिर छोडेर भलिवल खेल नै रोजे ।

कालान्तरमा भलिवल खेलेर जीविका चलाउन नसक्ने अवस्था भएकाले वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका थिए । सायद उनका नाबालक छोराछोरी बुवा दसैँमा घर आउने बाटो हेर्दै वा आफूलाई बुवाले नयाँ नयाँ लुगाफाटा पठाई दिने आशामा थिए होलान । उनकी श्रीमती तथा परिवारजनले पनि वैदेशिक रोजगारबाट फर्केपछि थारै भएपनि सुखी जीवन बाँच्ने सपना देखेका थिए होलान् । अपसोच चाडवाडको सम्मुखमा हिमबहादुरले परदेशमा असमायिक निधन भएको खबरले उनको परिवार तथा गाउँघरलाई नै शोकमग्न बनायो ।

आज कात्तिक २० गते उनको लास काठको बाकसमा घर पुग्यो । काठको बाकसमा प्याकिङ भएका आएको लास देख्दा हिमबहादुरका छोरा, श्रीमती, परिवारजन भक्कानिएको दृष्य निकै नै हृदयविदारक थियो । परिवारजन र आफन्त मात्र होइन यो दृष्य हेर्ने जो कसैलाई पनि असाध्यै भावविह्वल बनायो । हिमबहादुर सिङ्गो गाउँलाई नै आँशुमा डुवाएर विदा भए । उनको आजै पञ्चकोशी तिर्थस्थलका नामले परिचित पवित्र पादुकास्थानमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु