१४ फाल्गुन २०७७, शुक्रबार

हिमपातले हुम्लाको लिमी क्षेत्रका नाका ६ महिनाका लागि बन्द



समर हुम्ली

१८ कार्तिक, हुम्ला । हुम्लाको लिमीबाट सदरमुकाम सिमकोट आउने नाका ६ महिनाका लागि बन्द भएका छन् । नाम्खा गाउँपालिका वडा नम्बर ६ को लिमी क्षेत्रमा कात्तिक १६ गते परेको बाक्लो हिमपातका कारण नाका ६ महिनाका लागि भएका हुन् ।

करीब एक हजारभन्दा धेरै जनसंख्या तथा दुई सयभन्दा धेरैै घरधुरी भएको हुम्लाको एक मात्र हिमाल पारीको गाउँमा नारा र न्यालु हिमालमा हिमपात हुँदा आवतजावत बन्द भएको नेकपा हुम्लाका केन्द्रीय सदस्य विजय भण्डारी प्रतिरोधले जानकारी दिएका छन् ।

‘हामी १५ जनाको टोली लिमी र लाप्चा क्षेत्रको सीमा अध्ययनका लागि लिमी गएका थियौं तर मौसममा बदली हुँदा हतारमा काम सिध्याएर फर्किएका छौं ।’ उनले भने, ‘न्यालु हिमालमा करीब आधा फिट हिउँ परेको छ । हामी हिउँ पर्न थालेपछि हतारमा फर्किएका हौं ।’

लिमी क्षेत्रको तीनै गाउँको उचाई चार हजार मिटरभन्दा माथि भएकोले हिउँदको समयमा अलिकति बादल आयो कि हिउँ परिहाल्छ । यसकारण बाहिरका र स्थानीयहरूलाई आवतजावतमा समस्या हुने गरेको नाम्खा वडा नम्बर ६ का अध्यक्ष पाल्जोर लामाले बताए ।

अब लिमीका बासिन्दाहरूलाई ६ महिनाका लागि सबै नाका बन्द भएका छन् । यसबाट स्थानीयहरूलाई दैनिक उपभोग्य सामानहरूको जोहो गर्न पनि समस्या हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु