२० जेष्ठ २०८०, शनिबार

मैले पुरस्कारका निम्ति कहिल्यै कहीँ निवेदन हालेन, भनसुन गरेन : डा. मधुसूदन गिरी


रारापाटी डेस्क
५ भाद्र २०७७, शुक्रबार

नेपाल सरकार, संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा ‘महाकवि देवकोटा पुरस्कार–२०७६’बाट सम्मानित साहित्यकार, समालोचक, कवि, निबन्धकार, भाषाविद्, अन्वेषक तथा सजावसेवी डा. मधुसूदन गिरीसँग रारापाटी अनलाइनले गरेको भलाकुसारीः

सर्वप्रथम यहाँलाई धेरै बधाई छ । नेपाली भाषा र साहित्यमा पुर्याउनु भएको योगदानको कदरस्वरूप संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बाल साहित्य र लोक साहित्य विधातर्फको १ लाख राशीको ‘महाकवि देवकोटा पुरस्कार’ले सम्मानित गरेको छ । पुरस्कार प्राप्तिपछि कस्तो महशुस गर्नु भएको छ ?

धन्यवाद । आजसम्म मैले कुनै पुरस्कारका निम्ति कहिल्यै कहीँ निवेदन हालेन, भनसुन गरेन । यसपटक त झन् लकडाउन । अरु पनि कसले पो गर्यो होला र ! एउटा फोन आयो, व्यक्तिगत विवरण पठाइदिनु पर्यो भनेर । अगाडि एक पटक सोध्नु पनि भएको थियो तपाईंका नाममा कुनै पुरस्कार सिफारिस भए बहिस्कार त गर्नु हुन्न नि ? मैले भनेको थिएँ राम्रो भए किन गरौंला र ! सायद उहाँलाई झण्डै डेढ दशक पहिले हरि तिमिल्सेनाहरूले अर्कै कुनै त्यस्तै मान्छेका नामको पुरस्कारको प्रस्ताव स्वीकार नगरेको सम्झना थियो क्यारे । पहिलो फोनमा ढिला गरेछु, दोस्रो फोन आउनेबित्तिकै सानी छोरी महिमाले मेल गरिदिइन् । पछि थाहा भयो, पुरस्कारका लागि रहेछ, अनि लाग्यो, निरपेक्ष मूल्याङ्कन गर्ने कुनै दिन कोही आइहाल्दा रहेछन् । पछि अरु संस्थाका १ पदाधिकारीले हामीहरूले पनि सिफारिस गरेको भन्नु भयो । कार्यक्रममा एकजना मुख्य निर्णायकले भन्नु भयो यस पटक निवेदन दिनेलाई भन्दा दुःख गरेकालाई खोज्यौं । त्यसैले भैरव रिसालजस्ता व्यक्ति पर्नु भयो । सन्तोष लाग्यो ।

२०२९ सालबाट लेखनआरम्भ र २०३९ को कन्दराबाट प्रकाशन आरम्भ गरी २०४५ मा दैलेखी सेवा समाज काठमाडौंबाट मेरै पहल र साथीहरूको सहयोगबाट कम्कर पत्रिका प्रकाशित गरी थालिएको संस्थागत गतिविधि त्रि.वि. नेपाली केन्द्रीय विभागबाट हामीहरूद्वारा स्थापित साहित्य कुञ्ज, २०५० मा स्थापित मध्यपश्चिमाञ्चल साहित्य परिषद्, २०५२ मा स्थापित दैलेखी सेवा समाज, अभियान साहित्य प्रतिष्ठान, कालचक्र नेपाल, लोकवार्ता परिषद, अखिल नेपाल लेखक सङघ, भाषा तथा लोकवार्ता संगठन आदिमार्फत् सेवातिर लाग्दा आफ्नो व्यक्तिगत प्रकाशन पछि परेको जस्तो लाग्दैछ । अहिलेसम्म त सिर्जना र समालोचना गरी ६ र पाठ्यपुस्तक सहलेखन ६ गरी १२ मात्रै प्रकाशित छन् । कम्कर, मध्यपश्चिमका कविता, खसानी, ज्वाला सन्देश, मान्नमी, लोकवार्ता गरी ५ मात्रै सम्पादित छन् । बाँकी समालोचना, अनुसन्धान, लोकसाहित्य, व्यङ्ग्य सङ्ग्रह, कविता सङ्ग्रह, उपन्यास, हाइकु, गजल र गीत सङ्ग्रह गरी बाँकी डेढ दर्जन पुस्तक प्रकाशित भैसकेपछि यो पुरस्कार प्राप्त हुन पाएको भए अझ बढी आनन्द आउने थियो ।

ग्रामीण जिल्ला दैलेखमा जन्मिएर भाषा, साहित्य र समाजिक कार्यमा अनवरत योगदान पुर्याइरहनु भएको छ । यहाँको साहित्य सिर्जनाको सुरुवाती पृष्ठभूमि बताई दिनुहोस् न ?

२०२९ तिर हो जस्तो लाग्छ, म विजया नि. मा. वि. दुल्लुमा ६ कक्षामा पढ्थेँ । केटाकेटीहरू फिरफिरे बनाएर खेल्थ्यौं । अरु साथीहरू २ पखेटा भएका सादा फिरफिरे बनाएर नचाउँथे । मैले १६ वटा पखेटा भएको फिरफिरे बनाएर नचाएँ । शनिबारको दिन विद्यालय बन्द थियो । सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी बसन्तप्रकाश शर्मा आएका थिए । विद्यालय त्यतिबेला कोटको डाँडामाथि थियो । विद्यालय भवनको अगाडि शिक्षकहरूका बीचमा बसेर सिडियो कुन्नि के कुरा गर्दैथिए । ५०–६० मिटर टाढा चौरमा म मेरो १६ पङ्खा एकैसाथ घुम्ने फिरफिरे नचाउन दौड्दै थिए । सिडियोले देखेर मलाई बोलाउन लगाए । अनि यो के बनाएको ? कसरी बनाएको ? भनेर सोधे । मैले भनें । शिक्षकहरूले पनि यो यहाँको जेहेन्दार विद्यार्थी भनेर फुक्र्याइदिए । अनि सिडियोले ढाडमा धाप मार्दै भोलि ठुलो भएपछि प्लेन उडाउनुपर्छ, रकेट उडाउनु पर्छ भने । आज म ठुलो भएर पनि बुढो हुन लागिसके । यसैले बेलाबेलामा प्लेन पनि उडाउँछु, रकेट पनि उडाउँछु, तर भावना र कल्पनाका मात्रै । कोहीकोही यसैलाई साहित्य भनिदिन्छन् ।

यहाँको बाल्यकाल कस्तो थियो ? भनिन्छ दुःख, पिँडा, अभावजस्ता भोगाइका सङ्कलित अनुभूतिहरूले मान्छे साहित्यकार बन्छ । तपाईं साहित्य सिर्जनामा लाग्न कसरी प्रेरित हुनुभयो ?

दुःख पुराण नसुनाउँ, अर्को कुनै दिन । तपाईंले भनेजस्तो दुःख, पीडा र अभावमा हुर्कनेले डाक्टर, इन्जिनियर आदि अरु बन्ने सम्भावना हुँदैन अनि साहित्यकार बन्ने त हो । सबैभन्दा पहिला बुवाले लय हालेर पढ्ने रामायण, महाभारत, काल महिमा कविताबाट साहित्यिक प्रेरणा मिलेको हो ।

तपाईं नेपाली भाषाको विद्वान पनि हुनुहुन्छ । अहिले नेपाली भाषा समृद्ध भएको छ या हाम्रो भाषा अन्य भाषाको चेपुवामा परेर कमजोर बन्दै गएको हो ? कस्तो अनुभुती गर्नु हुन्छ ?

आजको नयाँ संविधानले सङ्घीयता, समानुपातिकता, समावेशी व्यवस्था गरेको छ । राज्यको पुनर्संरचना भएको छ । युगौंदेखि सीमान्तीकृतहरू जातीय, क्षेत्रीय, लैङ्गिक, भाषिक, सांस्कृतिक पहिचान प्राप्त गर्दैछन् । राज्य तिनको संरक्षण, सम्वद्र्धन र उत्थानको नीति कार्यान्वयनमा छ । यो ज्यादै राम्रो भएको छ । राष्ट्रिय रङ्गमञ्चमा यी अत्यन्तै आवश्यक र उपयुक्त हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय रङ्गमञ्चमा राष्ट्रिय पहिचान दिने थप केही कुरा आवश्यक हुन्छन् जस्तो लाग्छ । भाषाको कुरा गर्दा भाषा विचार विनिमयको माध्यमका साथै ज्ञानको, मानव जाति र समुदायका प्राप्तिहरूको भण्डार पनि हो । त्यसैले आजको विज्ञान प्रविधि आदि क्षेत्रका प्राप्तिहरू अङ्ग्रेजी भाषाका भण्डारमा सुरक्षित भएकाले हामीले ती प्राप्त गर्न अङ्ग्रेजी पढ्नै पर्ने, अङ्ग्रेजी भाषाको विश्वव्यापी भाषिक उपनिवेशवादका अगाडि शिर निहुराएर थाप्नै पर्ने स्थिति छ ।

नेवारी, मैथिली, भोजपुरी, थारु, तामाङ, नेपाली आदि एउटा कुनै भाषालाई हामीले त्यो स्तरमा पुर्याउन सकेको भए हामीले अङ्ग्रेजीको भाषिक दासत्व स्वीकार गर्नै पर्दैनथ्यो । हाम्रा साधारण विद्यालयमा पढेका निर्धनका सन्तानहरूले अङ्ग्रेजी माध्यमका स्वदेश र विदेशका महँगा निजी विद्यालयमा पढेका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न नसकी हीनताग्रन्थिग्रस्त भई आफूलाई दोस्रो दर्जाको मानिस ठानेर फर्कनु पर्दैनथ्यो । त्यसैले नेपालको कुनै पनि भाषालाई त्यो स्तरमा पु¥याउनु पर्ने हो । राज्यले सबै भाषा संस्कृतिलाई संरक्षण, सम्वद्र्धन गर्ने नीति लिनु एकदमै राम्रो हो । यसको अर्थ राज्यले कुनै एउटा भाषा र संस्कृतिको संरक्षण, सम्वद्र्धन गरी उत्थान गर्न अर्को भाषा, संस्कृति र समुदायलाई कमजोर पार्नुपर्छ भन्ने नीति लिएको होइन, सबैलाई उत्तिकै महत्त्व दिएर सँगसँगै अगाडि लैजानुपर्छ भनेको हो, तर थाहा छैन कुन शक्ति, कारण वा शिक्षा पद्धतिले नै हो कि आज सँगसँगै प्रतिस्पर्धामा दौडिरहेका प्रतिष्पर्धीमध्ये अगाडि भएकोलाई छिड्की हालेर वा कुनै अवरोध हालेर गति खण्डित गरी कमजोर तुल्याएर पछाडिकाको यथास्थितिलाई नै अगाडि सिद्ध गराउने प्रयत्न भएको त हैन ? भन्ने अनुभव हुन्छ ।

भारतीय विद्वान् प्राध्यापक डाक्टर महेश्वर जोशी र हाम्रै केही लेखकद्वारा समेत कुमाउनी, गढवालीसमेत नेपालीकै भाषिका भनिरहेका बेला २०६८ को जनगणनामा नेपालीभाषीको सङ्ख्या कम देखाएर कमजोर पार्न डोटेली, बैतडेली, डडेल्धुरेली, अछामी आदिलाई नेपालीबाट टुक्र्याएर साढे ८ लाख नेपाली भाषीको सङ्ख्या घटाइएको छ । यो स्वस्थ प्रतिस्पर्धा होइन । यसले नेपाली भाषालाई कमजोर पार्दै लगेको अनुभव हुन्छ । अङ्ग्रेजीमा व्याकरण, उच्चारण, अर्थ, ध्वनि आदिमा थुप्रै भिन्नता हुँदाहुँदै पनि बेलायतमा बोल्ने अङ्ग्रेजीलाई पनि अङ्ग्रेजी नै भनिन्छ, अमेरिका वा संसारभर जहाँ बोले पनि अङ्ग्रेजी नै भनिन्छ, मात्र त्यहाँ ब्रिटिश इङ्लिस, अमेरिकी इङ्लिश भनिन्छ छुट्टै भाषा भनिँदैन । हामीकहाँ पनि खण्डित तुल्याउनुभन्दा डोटेली नेपाली, बैतडेली नेपाली, अछामी नेपाली भनेर अलग अस्तित्व स्थापना गर्दा राम्रो हुन्थ्यो ।

नेपाली भाषाको उद्गम स्थल कर्णालीको सिञ्जा क्षेत्रलाई मानिन्छ । तर पनि त्यस क्षेत्रमा बोलिने खस भाषालाई किन भाषिका भनिएको होला ?

आज त कम्तीमा मेचीदेखि महाकालीसम्म सबैलाई नेपाल नै भनिन्छ । राणा कालसम्म काठमाडौंलाई मात्र नेपाल भनिन्थ्यो । त्यहाँका राजा महाराजा र तिनका पण्डित, पुरोहित भाइभारदारले बोल्ने भाषालाई भाषिका भन्न भएन नि ! त्यसलाई मूल र अझ मानक नेपाली र बाँकी सबलाई नेपालीका भाषिका भनेपछि त्यसका वक्ताको स्थान उच्च हुने भयो । नत्र त जहाँ नेपाली भाषा जन्म्यो जुन मूल हो त्यो भाषिका हुने र त्यसैबाट पछि जन्मेको विकसित भएको भेदलाई मानक नेपाली भन्न नसुहाउनु पर्ने हो । आज त त्यो सब पचिसक्यो ।

यहाँ साहित्यिक संस्था मध्यपश्चिमाञ्चल साहित्य परिषद् र सामाजिक संस्था दैलेखी सेवा समाजको संस्थापक पनि हुनुहुन्छ । यी संस्थाहरूमार्फत् गरिएका उल्लेख्य कामहरू के–कस्ता रहेका छन् ? अहिले फर्केर हेर्दा ती संस्थाहरूले तपाईँले सोचेजस्तो लक्ष्य हाँसिल गरिरहेका छन् त ?

दैलेखी सेवा समाज काठमाडौंली रङ्गमञ्चमा दैलेखीहरू पनि छन । यी पनि सामाजिक सांस्कृतिक हिसाबले सम्पन्न छन्, मानव सेवाका हिसाबले सु–संस्कृत र सभ्य छन् भनेर पहिचान दिने, चिनाउने र काठमाडौंमा बस्ने दैलेखीहरूका बिच आपसी स्नेह, सद्भाव वृद्धि गर्ने, सुख–दुःखमा साथ दिने, दैलेखको भाषा संस्कृति र सम्पदालाई यथासम्भव प्रकाशमा ल्याउने, दैलेख–काठमाडौँको पुल बन्ने, सकेसम्मका सेवा कार्य गर्ने आदि उद्देश्यले २०५२ सालमा स्थापना भएको थियो । यो कुनै सरकारी गैरसरकारी बजेटको तलबभत्ताले चलेको संस्था होइन । आउँदो साल २५ वर्ष पुग्दैछ । सोचेजस्तो त गर्न सकिएन । पछिका उत्तराधिकारी मित्रहरूले राम्रो गर्नुभएको छ । प्रा. जगतप्रसाद उपाध्यायले प्राज्ञिक र व्यावसायिक हिसाबले लैजान खोज्नुभएको थियो । पुष्प रानाको पनि केही गर्नु पर्छ भन्ने भावना थियो । प्रताप शाही लागिपर्नु भएको छ । सेवा र त्यसमा पनि स्वास्थ्य क्षेत्रमा अझ बढी लागि पर्नुभएको छ । उहाँलाई उपाध्यक्ष मीना थापा, महासचिव मोहन शाही, रमा महरा, कर्ण गुरुङ, लक्ष्मीप्रसाद रेग्मी, भरतबन्धु थापा आदि धेरैले सकेसम्म साथ दिइरहनु भएको छ । जुन व्यक्तिको जुन क्षेत्रमा क्षमता छ, सीप छ, पहुँच छ त्यही क्षेत्रमा राम्रो गर्न सकिँदोरहेछ ।

मध्यपश्चिमाञ्चल साहित्य परिषद २०५० वैशाख १ गते मैले प्राध्यापक केशव सुवेदी, स्व. गोरखबहादुर सिंह र प्रा. डा. जीवेन्द्रदेव गिरी ४ जना भृकुटीमण्डपमा बोलाएर सल्लाह गरी आरम्भ गरेको संस्था हो । पछि अरु सस्थापक थुप्रै थपिनु भयो । यो नेपाली भाषाको जन्मस्थल मध्यपश्चिमका भाषा साहित्यका क्षेत्रका पुराना सामग्रीको सोधखोज गरी प्रकाशमा ल्याउने, नयाँ प्रतिभाहरूलाई चर्चा–परिचर्चा र प्रकाशनमा ल्याई प्रेरित र प्रोत्साहित गर्ने, समष्टिमा मध्यपश्चिमलाई सक्रिय गराई त्यसमार्फत् नेपाली भाषा र साहित्यको उत्थानमा योगदान पु¥याउने उद्देश्यले स्थापित संस्था हो । यस संस्थालाई वैधानिकता दिई २०५३ मा मध्यपश्चिमको साहित्यको ऐतिहासिक पृष्ठभूमिसहित मध्यपश्चिमका प्रतिनिधि कविहरूका कविताको सङ्ग्रह मध्यपश्चिमका कविता प्रकाशित गर्यो । यसपछि खसानी पत्रिका प्रकाशित गर्नुका साथै मध्यपश्चिमका कवि मीनबहादुर विष्ट, श्यामल, उषा हमाल आदि दर्जनौं प्रतिभाका पुस्तक प्रकाशन, विमोचन एवम् गोष्ठी गर्यो । त्यस क्षेत्रका १७ औं शताब्दीका काशीदास जोशीदेखि कृष्णसेन इच्छुक, लोकेन्द्र शाहसम्मका ७ प्रतिभाका नाममा सम्मान स्थापना ग¥यो । यसबाट एकातिर पुराना दिवङ्गत प्रतिभाको सम्झना पनि हुने र नयाँ प्रतिभालाई सम्मान पनि गर्ने उद्देश्य थियो । साथै नेपालगञ्ज, सल्यान, सुर्खेत, दुल्लुु आदि स्थानमा गोष्ठी, सम्मेलन पनि गरी त्यस क्षेत्रका स्रष्टालाई उत्साहित गरायो । म पछि हाल प्रा. जगत्प्रसाद उपाध्याय अध्यक्ष हुनुहुन्छ । उहाँ नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य–सचिव भएर व्यस्त भए पनि उहाँका पालामा नेपाली भाषाको पहिलो अभिलेख भएको स्थान दैलेखको दुल्लुमा एउटा राष्ट्रियस्तरको कार्यक्रम सम्पन्न भएको छ र खसानीको गोष्ठी अङ्क प्रकाशित हुनै लागेको छ ।

पछिल्लो समय जतिपनि साहित्यकारहरूको उदय भएको छ । उहाँहरूले उठान गरेका विषयवस्तु समाज परिवर्तनको पक्षमा छन् या अलि बढी व्यावसायिक भए ? यसलाई यहाँले कसरी लिनु भएको छ ?

समाजप्रतिको दायित्व त प्रगतिवादी साहित्यको मात्र भएजस्तो छ । आजका केही चर्चित स्वेरकाल्पनिक लेखक त यथार्थवादी लेखनले साहित्यलाई ध्वस्त पार्यो भन्ने अराजक अभिव्यक्ति दिन्छन् । समाजप्रतिको कुनै जिम्मेवारी नलिने अराजक लेखकहरू स्वान्त सुखायका लागि लेख्छन् । उनीहरूको भनाइ जङ्गलमा फुलेको फूल कसैका लागि फुलेको होइन । यदि त्यसो भए त्यो फुल्नु र नफुल्नुको उपादेयता के ? तिनको चिहानको साहित्यलाई चिहानमा दाहसंस्कार गरिदिए हुँदैन ? समाजमा किन ल्याउने ?

अँ व्यापारिक व्यावसायिकताका कुरा, आजको यो उपभोक्तावादी युगमा कला, साहित्य, संस्कृति सबै पैसा कमाउने साधन मात्र मानिन्छन् । हास्यव्यङ्ग्यकार भैरव अर्यालका शब्दमा विरालीको घ्यू बेचेर भए पनि श्रीमतीको जिउ बेचेर भए पनि पैसा कमाउनु पर्छ र मोज गर्नु पर्छ यो युगमा । यसैले आजका ठुल्ठुला प्रकाशन गृहहरूले विज्ञापनको इन्द्रजाल फिँजाएर पाठकरूपी माछा बल्झाउँछन् । अर्कोतिर पार्टी, सरकार आदिले पनि आफ्ना वा आफ्ना पक्षका सामान बेच्ने आफ्ना पसलका माथि खसीको टाउको झुण्ड्याएर तल भैंसीको मासु बेच्ने गरेको आरोप लाग्ने गरेको छ । यसबीच बबुरा पाठक कुन माल राम्रो छुट्याउनै नसकेर कुहिरोको काग हुने स्थिति छ ।

यहाँका साहित्यिक कृतिहरूका बारेमा बताइदिनुहोस् न ? विशेषगरी बाल साहित्य र लोक साहित्यसम्बन्धी कस्ता कृतिहरू लेख्नुभएको छ ?
–वि.सं. २०२९ बाट लेख्न र २०३९ बाट प्रकाशन सुरु भएदेखि यता जिन्दगीको सन्धिसर्पन, बाल सँगातीलाई पत्र, धर्तीकी परी, मेरो सानो खुत्रुके, बुढो कुर्सीको आत्मकथा गरी साहित्य, बालसाहित्यका पाँच पुस्तक, नेपाली हाइकु परम्परा र प्रवृत्ति नामक समालोचना प्रकाशित छन् । दश जोड दुईदेखि स्नातकोत्तरसम्मका पाठ्यपुस्तक सहलेखन छ तथा ३ सयजति फुटकर सिर्जना, समालोचना र अनुसन्धान प्रकाशित छन् । सम्पादनतर्फ कम्कर, ज्वाला सन्देश, खसानी आदि पत्रिका, मध्यपश्चिमका कविता, लोकवार्ता–५ आदि पुस्तक पर्छन् । बिम्ब विधान र नेपाली कविता, प्रतीक विधान र नेपाली कविता, भेरीको साहित्यिक इतिहास, प्रगतिवादी नेपाली कविता, सङ्ग्रहीत समालोचना, लोकसाहित्य, संस्कृति, कविता, उपन्यास, गीत, हाइकु, गजल, व्यङग्य, अनुसन्धानका गरी डेढ दर्जन पुस्तक प्रकाशित हुन बाँकी छन् ।

कोरोना महामारीका कारण भएको बन्दाबन्दीलाई कसरी उपयोग गरिरहनुभएको छ ? यस बीचमा साहित्यिक सिर्जनामा कति समय खर्चिनु भयो ?

लकडाउनमा विज्ञसमीक्षित पत्रिकाका लागि केही समालोचना लेखे । धेरै वर्षदेखि लेख्छु भनेर सोचिरहेको तर लेख्ने समय नमिलेको बाइसी राज्य दुल्लु दरबार नजिकको सत्रौं शताब्दीका जयभम्मका पालाको रुपस्या पानी तोडी देऊ चापे डाली मोडीदेऊ भन्ने प्रसिद्ध ऐतिहासिक मिथकीय किम्वदन्तीलाई आख्यानीकरण गरेर एक प्रतीकात्मक उपन्यास बनाए । रफ छ साफी हुन कामका अरु चाङ्ले कहिले फुर्सत दिन्छन् । अहिले समकालीन नेपाली समालोचनाको इतिहास लेखन जारी छ ।

निकट भविष्यमा पाठकहरूले यहाँका के–कस्ता विधाका साहित्यिक कृतिहरू पढ्न पाउलान् ?

अब त उपयोगितावादी बन्ने कोसिसमा छु किनभने चाकरी गर्न नजान्ने मान्छे, एक तह बढुवा हुन बाँकी नै छ, समय घरकिदैछ । अगाडि सह–प्राध्यापकमै दुई पटक लेखपढ़, खोज अनुसन्धान केही नगर्ने पेशाप्रति पनि निष्ठावान नहुने मित्रलाई त्यतिबेलाका क्याम्पस प्रमुख थपलियाले दश पूर्णाङ्कमा ८ र मलाई २ नम्बर दिई पठाएका थिए । अहिले पनि क्याम्पस प्रमुख त्यही जातकै हुनुहुन्छ तर अलि प्राज्ञिक भएकाले त्यति निकृष्ट स्तरमा नझर्नुहोला कि भन्ने लाग्दै छ । त्यसैले अनुसन्धान र समालोचनाका पुस्तक पहिले छाप्नु छ । जिल्लाको सांस्कृतिक अध्ययन पनि पूरा गर्नै छ ।

नेपाली संस्कृति, कला, साहित्य क्षेत्रलाई माया गर्ने तमाम साहित्य अनुरागीहरूलाई के भन्न चाहनु हुन्छ ?

निस्पृह ढङ्गले लेख्नुहोस्, लेखिरहनुहोस् तपाईंको लेखन समाजका लागि होस् दुःखी, पीडित सबै समुदायका लागि होस् । हाम्रा लोकगीतले भन्छन् निः सुखीको त निसाप हुन्छ दुःखीको को हुन्छ ?


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको