१३ मंसिर २०७७, शनिबार

जापानबाट फर्केर राजनीतिसँगै कुखुरापालनमा व्यस्त दुई युवा



१६ कार्तिक, काठमाडौं । जापानबाट फर्केर बागलुङका दुई जनाले राजनीतिसँगै कुखुरापालन व्यवसाय गर्दै आएका छन् । राजनीतिलाई धेरैले कमाइ खाने भाँडोजस्तो बनाएको सन्दर्भमा तीव्र बहस हुँदै आएको बेला जापान त्यागेर राजनीतिसँगै कुखुरापालन गरी अण्डा उत्पादनमा दुई जना खटिएका छन् ।

विद्यार्थीकालदेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय बागलुङका दुई जनाले व्यावसायिक कुखुरा पालन गरिरहेका छन् । ४ वर्ष साउदी अरबमा र ६ वर्ष जापान बसाइपछि नेपाल आएका गलकोट नगरपालिका वडा नम्बर ५ हरिचौरका ललितबहादुर श्रीस र चार वर्षको जापान बसाइपछि फर्किएका बागलुङ नगरपलिकाका–२ बालमन्दिर रोडका इन्द्र केसीले अण्डा उत्पादनका लागि लेयर्स जातका कुखुरापालन गर्दै आएका छन् । दुवै जनाले हाल नेपाल कम्युनिष्ट पार्टीमा (नेकपा)मा सक्रिय राजनीति समेत गर्दै आएका छन् । श्रीस नेकपाको गलकोट नगर कमिटीको अध्यक्ष र केसी नेकपा बागलुङ नगर कमिटीको सचिव छन् । श्रीस र केसी पार्टीको बैठक, भेटघाट तथा जनगुनासो सम्बोधन गर्ने काममा त व्यस्त हुनुहुन्छ नै, त्यससँगै समयको यथोचित व्यवस्थापन गरेर व्यावसायिक कुखुरा पालन पनि उनीरूको मुख्य कर्म हो ।

उमेरले ५१ वर्ष पुगेका श्रीसको जीवनमा अनेकौँ उतारचढाव आए । राजनीति नै जीवन हो भन्दै आएका श्रीस केही समय राजनीतिबाट अलग भएर कहिले साउदी त कहिले जापान भौँतारिए तर विदेशको बसाइ त्यागेर कृषिमा भविष्य देख्न थालेपछि श्रीसले नेपाल फर्केर राजनीतिक जीवनलाई समेत सक्रिय बनाउन थालेका छन् । वि.सं. २०६० मै स्वदेश आएर कृषि पेशा अँगालेका श्रीसले पुनः कुखुरापालनसँगै राजनीतिमा सक्रिय हुँदै आएका छन् । वि.सं. २०३६ देखि विद्यार्थी राजनीतिमा होमिएका श्रीस १० वर्षको विदेश बसाइपछि फेरी राजनीतिसँगै कृषिमा सक्रिय भएका थिए । स्वदेशमै केही गर्ने सोचका साथ जापानजस्तो देशसमेत त्यागरे व्यावसायिक उत्पादनमा लागेका श्रीस अहिले गलकोटकै सफल कृषकका रूपमा परिचित छन् ।

यस्तै ४० वर्षका केसीले दुई वर्षअघिदेखि बागलुङ नगरपालिका वडा नम्बर ३ कृषिगाउँमा जिम्माल कृषि फार्म सञ्चालनमा लल्याएका छन् । तीनवटा ब्लकमा स्थापना गरिएको उनको फार्ममा हाल दुई हजार ५०० लेयर्स जातका कुखुरा छन् । अहिले दैनिक दुई हजारभन्दा बढी अण्डा उत्पादन भइरहेको केसीले बताए ।

हरिचौरमा रहेको प्रशस्त जग्गामा सुन फलाउने लक्ष्यका साथ श्रीसले विसं २०६१ देखि सुन्तला खेती, केही समय बाख्रापालन र अहिले अण्डा उत्पादनका लागि लेयर्स जातका कुखुरापालन गर्दै आएका छन् । ‘राजनीतिबाट सामाजिक जीवन चल्दै आए पनि आर्थिक जीवन चलाउन पहिले विदेश र विदेशबाट आएर अहिले कृषि पेशामा लागेको छु’, श्रीसले भने, ‘कृषि र पशुपालनलाई व्यावसायिक बनाउँदै लगेपछि पुनः राजनीतिमा समेत सक्रिय हुँदै आएको छु ।’

अहिले उनको तरकारी टनेल तथा खुला जग्गामा भिन्डी, टमाटर, लौका र करेलालगायतका तरकारी उत्पादन भएका छन् । श्रीसले १० रोपनी क्षेत्रफलको जग्गामा ३०० किलोभन्दा बढी उत्पादन दिने सुन्तला, वार्षिक १२ क्विन्टल धुलो उत्पादन गर्दै आएको बेसारखेती र वि.सं. २०७१ देखि श्रीस पोल्ट्रीमार्फत लेयर्स जातका कुखुरापालन गरी अण्डा उत्पादन गर्दै आएका छन् । श्रीसका अनुसार अहिले लगानी र ध्यान कुखुरापालनमै बढी केन्द्रित भएको छ ।

चार हजार कुखुरा पाल्ने क्षमताको श्रीस पोल्ट्री फार्ममा अहिले झण्डै तीन हजार अण्डा दिने कुखुरा छन् । पश्चिम बागलुङलाई अण्डामा आत्मनिर्भर बनाउने लक्ष्यका साथ कुखुरा पालनमा आएको भन्दै हालसम्म एक करोड ३० लाख लगानी गरिसकेको र नाफाबाट आएको रकमसमेत लगानी गर्दै आएको श्रीसको भनाइ छ ।

फार्म र जग्गा व्यवस्थापनमा हालसम्म रु २५ लाख लगानी गरेका केसीले परीक्षणका लागि टर्की चरासमेत पाल्न शुरु गरेका छन् । अहिले उनको फार्ममा १२ वटा टर्की चरा छन् । ‘जनताको काममा मात्रै खटिँदा आर्थिक समृद्धि हुन नसक्ने भन्दै राजनीतिबाट बचेको समय फार्ममा खर्चँदै आएको छु’, केसीले भने, ‘जनतालाई आर्थिक विकासमा जोडिनुपर्छ भन्ने आफू केही नगर्ने भन्ने हुँदैन, पहिला आफूले गरेपछि अरुलाई प्रेरणा प्रदान गर्न सकिन्छ भन्ने हो ।’

उहाँले फार्मबाट मासिक रु चार लाख आम्दानी गरेको बताउँदै सबै खर्च कटाउँदा रु एक लाख बचत गर्न सकिने बताए । आम्दानी राम्रै भए पनि कुखुराको दाना महङ्गो हुँदै गएका कारण नाफा घट्दै गएको बताए । व्यावसायिक उत्पादनमा नजोडिने हो भने राजनीतिक भविष्यसमेत अन्योलमा पर्ने भन्दै कुनै न कुनै अवस्थामा युवाहरू उत्पादनमा जोडिन आवश्यक रहेको उनको तर्क छ । अण्डामा आत्मनिर्भर गराउन धेरै युवा बागलुङमा व्यावसायिक अण्डा उत्पादनमा लागेको भन्दै विदेश जान खोजेका युवालाई समेत स्वदेशमै केही गर्ने गरी उत्प्रेरणा जगाउन आवश्यक रहेको बताए ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु