बाँच्ने औषधी आत्मबलमै प्रहार हुँदा पनि कोरोनालाई जित्न सकें : पूर्व पर्यटन मन्त्री शाही

रारापाटी डेस्क
५ भाद्र २०७७, शुक्रबार
दिन दुई गुणा रात चौगुणाका हिसावले विश्वभर फैलिएर महामारीको रूप लिएको कोरोना भाइरसका कारण आज बिहिबारसम्म ७ लाख ९१ हजार २ जनाले ज्यान गुमाइसकेका छन् । विश्वभर भाइरसका सङ्क्रमणको पुष्टि भएकाहरूको सङ्ख्या २ करोड २५ लाख ७९ हजार १ सय ४१ पुग्दा नेपालमा सङ्क्रमितको सङ्ख्या २८ हजार ९३८ पुगेको छ । १२० जनाले ज्यान गुमाइसकेका छन् ।
नेपाल सरकारले लकडाउन खुकुलो पार्ने रणनीतिलाई कार्यान्वयन गरेसँगै कोरोना सङ्क्रमितको सङ्ख्या दोहोरो अङ्कले बढ्न थालेपछि सम्भावित जोखिम पूर्व आँकलन गरी फेरी आज बिहिबारदेखि एक साताका लागि उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । सङ्क्रमितको बृद्धिदर र मृत्युदर बढ्दै जाँदा लकडाउन खुकुलो भएसँगै बामे सर्न थालेको आम जनजीवन फेरी आतङ्कित बनेको छ ।
सुरुवाती अवस्थामा कोरोना सङ्क्रमितको सङ्ख्या र जोखिमको अवस्था हेरेर नेपाल सरकारले अति जोखिमलाई रेड जोन, जोखिमलाई एल्लो जोन र सुरक्षितलाई ग्रिन जोनमा राखेको थियो । नेपाल सरकारले सुरक्षित अर्थात् ग्रीन जोनमा राखेको कर्णाली प्रदेशमा सबैभन्दा पछि कोरोना सङ्क्रमित फेला परेका थिए ।
जव भारतबाट नेपाली दाजुभाहरू घर फर्किन थाले अनि विस्तारै कर्णाली प्रदेशमा पनि एकपछि अर्को गरी कोरोना सङ्क्रमण पुष्टि हुन थालेपछि जनजीवन सुरक्षित रहेन । स्वास्थ्य सेवाको पहुँचका दृष्टिले पिछडिएको कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ६ जनाले अमुल्य ज्यान गुमाइसकेका छन् । यसको रोकथाम र न्यूनिकरणका लागी प्रदेश सरकार, स्थानीय तह र राजनीतिक तवरबाट पनि पहलहरू नभएका होइनन् । विभिन्न ठाउँमा आरडीटी र पिसीआर मेसिनको व्यवस्था गरी परिक्षण गर्ने कार्यहरू पनि भए । तर कर्णाली प्रदेशका सन्दर्भमा एकैचोटी भारतबाट धेरै मान्छेहरू घर फर्किन थालेपछि सरकारलाई पनि व्यवस्थित तरिकाले नियन्त्रण गर्न कठिन हुने अवस्था सिर्जना भयो ।
कोरोना सङ्क्रमणले जनजीवन नै अस्तव्यस्त बन्न अवस्था सिर्जना भइसकेपछि प्रदेश सदन पनि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय भयो ।
यसै बीचमा कर्णाली प्रदेश विपक्षी दल नेता एवम् पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि एकाएक कर्णाली प्रदेशको माहोल नै त्रसित बन्यो ।
कोरोना सङ्क्रमण पुष्टि कसरी भयो ?
सदन अनिश्चितकालका लागि बन्द भइसकेपछि गृह जिल्ला हुम्ला जाने सोचले म, मेरो स्वकीय सचिव र मलाई खाना पकाएर दिने नानी र अरु माननीयज्यूहरू कोरोना परिक्षण गर्न गएका थियौं । तर अर्को दिन मेरो रिपार्ट पोजेटिभ छ भन्ने जानकारी फोनमार्फत् प्राप्त भयो । अव कोरोना पोजेटिभ छ भनेपछि स्वभाविक रूपमा झसङ्ग हुने भइहाल्यो । तर दुःखद पक्ष के रह्यो भने मैले आफु कोरोना पोजेटिभ भएको थाहा पाउनुभन्दा अगाडी नै मेरो नाम नै उल्लेख गरेर पत्रपत्रिकामा आइसकेको रहेछ । त्यसपछि ठुलो आतङ्क जस्तो भयो ।
जिल्लावासी, आफन्तहरू रुँदै फोन गर्न थाले । त्यतिखेर सर्वसाधारणमा कोरोना भयो भने मान्छे गयो, सिद्धियो बाँच्दैन भन्ने मनोविज्ञान थियो, अहिले पनि छ । त्यसपछि म आफ्नो आत्मवल बलियो हुँदा हुँदैपनि धर्म सङ्कटमा परे । मान्छेले रुवावासी गर्दै निरन्तर फोन गर्न थालेपछि म फोन स्विच अफ गरेर बस्न बाध्य भएँ ।
कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. डम्बर खड्काले तपाईं हस्पिटलमा बस्नुहुन्छ कि घरमै बस्नुहुन्छ भन्दा मेरो अवस्थामा सामान्य नै लागेकाले मैले घरमै बस्छु भनें । तर नाम नै उल्लेख भएर पत्रिकामा आइसकेकाले कोरोना सङ्क्रमण भएको मान्छे तपाईंको घरमा बस्नुहुन्छ भनेर घरबेटीलाई समेत आतङ्कित पार्ने काम भयो । त्यतिमात्रै होइन कि सिङ्गो सदन, मुख्यमन्त्री कार्यालय, संसददेखि लिएर जो हामीसँग सम्पर्कमा हुनुहुन्थ्यो साराका सारा त्रसित हुनुभयो । मसँग त सम्पर्कमा नहुने कुरै भएन मख्यमन्त्री, मन्त्रीज्यूहरू, सांसदहरू, मार्यादा पालकहरू मन्त्रालयका कर्मचारीहरूमा एकखालको ठुलो आतङ्क के भयो भने जीवन शाहीलाई कारोना भइसकेपछि हामी खत्तम भयौं, हामीलाई पनि सङ्क्रमण भयो भनेर पुरै माहोल नै त्रसित बन्यो । तर मलाई कोरोना कहाँबाट भयो भनेर कसैले जान्न खोजेनन् । यति हँुदा पनि मेरो आत्मबल कमजोर भएको थिएन ।
मसँग सम्पर्कमा आएका मन्त्रीहरूले पनि फोन गरेर स्पष्ट भन्न नसक्ने तर के छ तपाईंको अवस्था भनेर सोध्दा मैले ठट्यौली शैलिमा भने, म पोजोटिभ विचार राख्छु त्यसैले मेरो पोजेटिभ आयो । तपाईंहरू सबै नेगेटिभ सोचाइ राख्नुहुन्छ त्यसैले तपाईंहरूको नेगेटिभ आउँछ तपाईंहरू नडाराउनुस् भने । र मनबाट यो मबाट अरु कसैलाई सर्दैन भन्ने लागेको थियो । भगवानको कृपाले भनौं मसँग सम्पर्कमा आएका झण्डै तिन–चार सय व्यक्तिको परिक्षण हुँदा कसैलाई पनि पोजेटिभ देखिएन ।
जुन हिसाबले यो सर्छ भन्ने बुझाइएको छ, जस्तो एउटाले खोलेको ढोका अर्कोले खोलेर भित्र पस्दा पनि सर्छ । विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले भन्दै आएको सुख्खा खोकी, ज्वरो आउने, जिऊ गल्ने त्यस्तो केही लक्षण देखा परेर म कोरोना परिक्षण गर्न गएको थिएन । म निसङ्कोच हँसीमुखमै गएको मान्छेलाई कोरोना देखायो भनेपछि यो ठ्याक्कै यसरी नै सर्छ भन्ने कुरामा पनि विश्वस्त हुन सकिने अवस्था देखिएन । यसको मतलव यो डरलाग्दो होइन भन्ने खोजेको होइन, यो केहि पनि थिएन भने त आज संसारमा लाखौं मान्छेको मृत्यु भइसकेको छ । तर कोरोना पोजेटिभ भएको मान्छेलाई कुनै अपराधी नै हो कि भन्ने हिसावले मान्छेले हेर्न थाले यो एकदमै गलत मानसकिता हो । यो जो कसैलाई जुनसुकै समयमा हुनसक्छ । कोरोना पोजेटिभ देखियो भन्ने बित्तिकै पुरै त्रसित भएर डराई हाल्नुपर्ने, रोइकराई गरिहाल्नु पर्ने जरुरी म देख्दैन ।
कसरी कोरोनालाई जित्न सम्भव भयो ?
जुन दिन मलाई पोजेटिभ भयो भन्ने पुष्टि भयो त्यसको अघिल्लो दिनसम्म मलाई अलिकति पनि त्यस्तो लक्षणहरूको अनुभुति भएको थिएन । तर पोजेटिभ भइसके पछि अलिअलि टाउको दुख्यो भने, हाछ्यु आयो भने, पेट दुख्यो भने पनि मलाई कोरोना कै कारणले हो भन्ने मनोविज्ञानले काम गर्दोरहेछ । अनि २ दिनपछि त राती सुतेको बेला पनि घाटी दुखेजस्तो, स्वास फेर्न गाह्रो भएजस्तो अनुभव गर्न थाले । अर्को दिनदेखि मैले के साचें भने हैन यस्तो अघिपछि पनि त हुन्छ नि, गाउँमा ज्वरो आएका कैयौं व्यक्तिलाई कोरोना पोजेटिभ देखिएको छैन । त्यसकारण सुख्खा खोकी लाग्ने वित्तिकै, ज्वरो आउने वित्तिकै कोरोना कै कारणले हो भन्ने पनि होइन ।
मेरो अनुभवले के भन्छ भने एउटै घरमा बसेका, सँगै खाना पकाएर खुवाउनेहरूलाई पनि सरेन भने ठ्याक्कै एक माइल टाढा भएको व्यक्तिलाई तुरुन्तै सरिहाल्छ भन्ने पनि मलाई लागेन । कुनै दिन शरिरको रोग प्रतिरोधात्मक शक्ति कमजोर भएको बेला पोजेटिभ देखिएको हुनसक्छ भन्ने पनि लाग्यो । मलाई पोजेटिभ भयो भनेर देश विदेशमा थाहा भइसकेपछि एक किसिमको मनोवैज्ञानिक असर त पर्यो । तर पोजेटिभ त भइसक्यो तर अब म डराउनु हुन्न भन्ने लाग्यो । मैले ३–४ पटक त पत्रकार सम्मेलन गरें, म सबैसँग खुल्ला दिलले प्रस्तुत हुने मान्छे संसद, मन्त्रीदेखि मर्यादापालकसम्म मेरो निकट रहेर कुरा हुन्थ्यो । तर कसैलाई पनि पोजेटिभ देखिएपछि एउटा राम्रो पक्षसँगै बस्दैमा, कुरा गर्दैमा कोरोना सरिहाल्छ भन्ने पनि होइन रहेछ भन्ने लाग्यो ।
तर डराउनु पर्ने अवस्था छैन भन्दैमा हामीले लापरवाही गर्ने अवस्था भने पक्कै पनि छैन । हामीसँग यदि धुम्रपान, मध्यपान गर्ने कुलतहरू छन् भने रोक्नु प¥यो । मैले यो अवधिमा गाउँबाट मगाएर गुच्ची च्याऊ लगाएतका अर्गानिक खाने कुराहरू खाएँ । माछा मासुबाहेक मैले खाने कुराहरू केही बारेन । सामान्य अवस्थामा खाए जसरी नै खाएँ । बीचमा खाने कुराहरूमा रूची कम भएपछि ल मलाई अब गाह्रो पो हुन थालेछ कि जस्तो पनि नभएको होइन । हाम्रो देशमा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । म सम्पूर्ण दाजुभाई दिदिबहीनीहरूलाई के अनुरोध गर्न चाहन्छु भने यो अरु रोगहरू जस्तै एउटा रोग हो, यो लाग्ने बित्तिकै त्यस्तो भयानक ज्यानै लिइहाल्ने रोग होइन । त्यसको लागि सबैभन्दा ठुलो फर्मुला भनेको आत्मविश्वास र आत्मबल हो । आत्मविश्वास र आत्मबल बलियो भयो भने यो रोगलाई हामीले जित्न सक्छौं भन्ने मलाई पूर्ण विश्वास छ ।
मैले सन्देश दिन खोजेको कुरा के हो भने तपाईंहरू नआत्तिनुहोला, नत्रसिनुहोला । मलाई खोकी लागेजस्तो भयो, राती आत्तिएर जरुक्क उठ्न खाजें, पखाला लागेजस्तो पनि भयो सायद यी सामान्य जीवनमा पनि हुने कुराहरू थिए । तर ती सबै कोरोनाकै कारण भएको हो भनेर आत्मबल कमजोर पार्नेभन्दा सामान्य जीवनमा हुने कुराहरू हुन् र अलिकति ध्यान दियो भने ठिक हुन्छ भन्ने दृष्टिले सोचें मैले ।
एकपटक चाइनामा ठुलो भोकमरी चल्दा चाइनीजहरूले सुपहरू, तातो पानी खाएर आफुलाई तन्दुरुस्त बनाए र अहिले पनि चाइनीजहरू अनिवार्य रूपमा तातो पानी पिउँछन् । तर यूरोपियनहरू चिसो पानीमा पनि आइस राखेर खान्छन् । मलाई के लाग्यो भने यस्तो बेलामा शरीरलाई तातो बनाइराख्नु जरुरी रहेछ । हामी नेपालीहरूको तिर्खा लागेपछि मात्रै पानी पिउने बानी छ । तर त्यस्तो होइन अझ यतिबेला त शरीरमा पानीको मात्रा कम हुन नदिन दिनमा कति हुन्छ ६–७ गीलाससम्म तातो पानी पिउनु पर्छ । मैले त्यहि गरें । त्यस्तै तातो पानीमा भिक्सहरू राखेर विहान, दिउँसो र बेलुकी गरी तिन पटकसम्म वाफ लिने गरेको थिएँ ।
ओछ्यानमा पल्टिने वित्तिकै संसारभरी मान्छेहरू पनि मरिरहेका छन् म पनि त मर्न सक्छु भन्ने खालका सोचाइहरू आउन सक्छन् । तर यस्ता कुराहरू भन्दा धेरै मान्छे बाँचिरहेका छन् म पनि बाँच्न सक्छु भन्ने सोचेर कोठामा ठाउँ मिलाएर उफ्रिने, नाँच्ने, इन्टरनेटको पहुँच छ भने युट्युवमा विभिन्न खालका रमाइला भिडियोहरू हेरेर नाँच्ने, योगा गर्दा राम्रो हुन्छ तर त्यो सकिएन भने दौड्ने उफ्रने गरेर शरीरका मांशपेशीलाई चलायमान राख्न सक्यो, पसिना बगाउन सक्यो भने दिमागी रूपमा हामी फ्रेस भइरहन्छौं । त्यस्तो गरियो भने आफुलाई अनुभूति पनि के हुन्छ भने ममा शक्तिको कमी भएको छैन । म पुसअप गर्नसक्छु, सिटअप गर्न सक्छु भन्ने भएपछि हामी आफु आफैसँग विश्वस्त हुन थाल्छौं ।
सङ्क्रमित र सर्वसाधारण दुवैलाई आतङ्कित नबनाऔं
महत्वपूर्ण कुरा रोग लाग्ने बित्तिकै त्यो मान्छे अपराधी नै हो कि भन्ने दृष्टिले हेर्ने साचाइबाट मुक्त हुनु जरुरी छ । हामीले मास्क लगाऔं, सामाजिक दुरी कायम गरौं, सम्भव भए पञ्जा पनि लागाऔं । तर सङ्क्रमित देख्ने बित्तिकै हाम्रो गाउँतिर भनिए जस्तै भूतको छायाँमा परेपछि मान्छे मरिहाल्छ भनेजस्तो हुदैन । अव नेपालमा जतिपनि सङ्क्रमित थपिन्छन् उहाँहरूले मेरो अनुभव सुन्नुभयो र आत्मबल कमजोर हुन नदिएर निसङ्कोच आइशोलेशनका दिनहरू विताउन सक्नुभयो भने शायद कसैले पनि ज्यान गुमाउनु हुन्न । एउटा उदाहरण दिऊ मन्त्री पढेलेखेकै होलान्, सांसद पढेलेखेकै होलान् र अन्य पढेलेखेकाहरूको मनमा त लौ भयो भन्ने आतङ्क भयो भने चेतनास्तर नभएका गाउँघरका व्यक्तिहरूलाई कस्तो लाग्छ होला हामीले यो कुरा पनि सोच्नुपर्छ । अरुलाई हतोत्साहित बनाउने कार्य हामी कसैले पनि गर्नु हुँदैन ।