राति १० बजे अस्पताल भर्ना भएका कोरोना सङ्क्रमितको ११ बजे मृत्यु
१६ कार्तिक, काठमाडौं । प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका वडा नम्बर १२ का ३२ वर्षीय परूषको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका कोरोना फोकल पर्सन डा. नवराज केसीका अनुसार, कोहलपुरमा भेन्टिलेटर अभाव भएपछि शनिबार राति १० बजे अस्पताल भर्ना गरिएका ती बिरामीको ११ बजे मृत्यु भएको हो । दशैँको सप्तमीको दिनमा उच्च ज्वरो आएपछि छिन्चुमा उनको प्रारम्भिक उपचार भएको थियो । ज्वरो कम नभएपछि त्यहाँबाट कोहलपुर रेफर गरिएको बताइएको छ ।
तीन दिनअघि कोरोना परीक्षण गर्दा युवकको रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । प्रदेशभर सङ्क्रमितको संख्या पाँच हजार ८५३ रहेको छ भने चार हजार ९५८ जना कोरोनामुक्त भइसकेका छन् ।
(रासस)