कोरोना सङ्क्रमित कांग्रेस नेता मिन विश्वकर्मा भेन्टिलेटरमा
१५ कार्तिक, काठमाडौ । स्वास्थ्य अवस्थामा थप समस्या देखिएपछि कोरोना सङ्क्रमित कांग्रेस नेता एवम् पूर्वमन्त्री मिनबहादुर विश्वकर्मालाई भेन्टिलेटरमा राखिएको छ । श्वासप्रश्वासको समस्या थप जटिल भएपछि विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार सुरू गरिएको हो ।
नेता विश्वकर्माको फोक्सोमा निमोनिया देखिएको र श्वासप्रस्वासमा समस्या आएकोले भेन्टिलेटरमा राखेर उपचार भइरहेको कांग्रेसले जनाएको छ । कोरोना पुष्टि भएपछि उनलाई कात्तिक ९ गते वीर अस्पतालमा भर्ना गरिएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि धापासीस्थित उनलाई ग्राण्डी अस्पताल लगिएको थियो । गा्रण्डीमा पछिल्लो तीन दिनदेखि आइसियूमा राखेर उपचार भइरहेको नेता विश्वकर्माका आफन्त विवश पौडेलले जानकारी दिए ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरी नेता विश्वकर्माको स्वास्थ्यका बारेमा जानकारी गराएका छन् । उनले प्रतिनिधिसभा सदस्य विश्वकर्माको उपचारको सहयोगका लागि प्रधानमन्त्री ओलीलाई विशेष आग्रह गरेका छन् । खाणले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई पनि फोनमार्फत् नेता विश्वकर्माको उपचारका लागि आवश्यक पहल गरिदिन आग्रह गरेका छन् ।
प्रमुख सचेतक खाणले प्रतिनिधिसभा सदस्य विश्वकर्माको स्वास्थ्य उपचारका लागि गम्भीर बनेर सरकारको तर्फबाट आवश्यक सहयोग गरिदिन प्रधानमन्त्रीलाई विशेष आग्रह गरेको कांग्रेस संसदीय दलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।