हुम्लाको ठेहेगाउँका महिलाहरूले बन्द गरे जुवातास
समर हुम्ली
१५ कार्तिक, हुम्ला । सिमकोट गाउँपालिकाको वडा नम्बर १ र २ मा पर्ने ठेहे गाउँमा महिलाहरूले जुवातास बन्द गरेका छन् । तास खेल्नेलाई पहिलो पटक एक हजार जरिवाना गरिने भएको छ भने यो काम दोहोरिए थप जरिवाना गरिने भएको छ ।
गाउँका महिलाहरू मिलेर लालपुरी भण्डारीको अध्यक्षतामा जुवातास बन्द अभियान समुह गठन गरिएको छ । यो समुहले गाउँघरका पुरूषहरूले पहिलो पटक जुवातास खेलेमा एक हजार जरिवाना गर्ने भएको छ । दोहोरिएमा पैशा जफत गर्ने र अझ कडा जरिवाना गर्ने उक्त समुहकी सचिव नानी भण्डारीले जानकारी दिएकी छिन् ।
कोरोना महामारीले लकडाउनका समयमा जिल्ला बाहिरबाट गाउँमा मानिसहरू बढेको, विद्यालय बन्द रहेको र अब कृषि कर्मको काम सकिएकाले गाउँमा मानिसहरू धेरै जम्मा हुने समय भएकाले जुवातास रक्सीको ब्यापार बढेका छ । यसकारण झैझगडा बढ्न थालेपछि स्थानीय महिलाहरू मिलेर यो अभियान सञ्चालन गर्नु राम्रो भएको स्थानीय शिक्षक हंस भण्डारीले बताए ।
ठेहे गाउँको जुवातास बन्द अभियान समुहले प्रति दिन गाउँमा कोही कसैले जुवातास खेलेको छ–छैन भने दुई जना महिलालाई जिम्मा दिएको छ । उनीहरूले गाउँमा जुवातास खेले नखेलेका जानकारी समुहलाई दिने छन् । यो अभियानले स्थानीय पुरुषहरू त्रसित भएका छन् भने महिलाहरू खुशी देखिएका छन् ।