उप-प्राध्यापक प्रेम चलाउनेमाथिको आक्रमणका योजनाकार नेविसंघका नेता पक्राउ
१३ कार्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उप-प्राध्यापक प्रेम चलाउनेमाथिको साङ्घातिक आक्रमणका योजनाकार दिपक ओझा पक्राउ परेका छन् । नेविसंघका नेता ओझालाई कैलाली प्रहरीसँगको समन्वयमा महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।
चलाउनेमाथिको योजनाबद्ध साङ्घातिक आक्रमणका योजनाकार भनिएका नेविसंघका नेता ओझालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेली, कैलालीका डिएसपी भरत चौधरीले बताएका छन् ।
कुटपिटमा संलग्न तीन जनालाई प्रहरीलले यसअघि नै पक्राउ गरी हिरासतमा राखिसकेको छ । पक्राउ परेका टौदह घर भएका निरज राना मगर, सिराहा घर भएका रूपेश शाह र रविन लामाले त्रिविमा अध्ययनरत नेविसंघका नेताको निर्देशनमा चलाउनेलाई कुटपिट गरेका स्वीकार गरिसकेका छन् । रूपेश शाह र रविन लामा दुबै त्रिचन्द्र क्याम्पसका विद्यार्थी हुन् ।
गत असोज २० गते विश्वविद्यालय परिसरमै उप-प्राध्यापक चलाउनेलाई ४ जना युवाले बाँसको चिर्पट र रडले निर्घात कुटपिट गरेका थिए । खुट्टा भाचेर मरणासन्न अवस्थामा छोडेर भागेका ३ जना र योजनाकार भनिएका दिपक ओझासहित ४ जना पक्राउ परेका छन् । योसँगै आपराधिक घटनाको बेलिविस्तार खुलस्त हुने अपेक्षा गरिएको छ ।