१३ जेष्ठ २०८०, शनिबार

दैलेखका ११ पालिकाका बजार केन्द्र बन्द : स्वाब संङ्कलन गरिएका ८० प्रतिशतमा कोरोना



१२ कार्तिक, काठमाडौं । कोरोना सङ्क्रमणको जोखिम थप जटिल भएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले कार्तिक १५ सम्म ११ पालिकाका बजार केन्द्रहरू बन्द गरेको छ । कोरोना परिक्षणका लागि संङ्कलन गरिएका ८० प्रतिशत स्वाबमा भाइरस सङ्क्रमण देखिएपछि प्रशासनले अत्यावश्यक काम बाहेक सबैखाले आवतजावत बन्द गरेको हो ।

सदरमुकाम दैलेख बजार भित्रै काम गरिरहेका १४ स्वास्थ्यकर्मी, १५ सुरक्षाकर्मी, ३ सञ्चारकर्मी, २० होटेल व्यावसायी र २० जना व्यापारीलाई पछिल्लो एक सातामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धेरै मानिसहरूसँग सम्पर्कमा आउने व्यक्तिहरूलाई नै एकसाथ भाइरस सङ्क्रमण देखिएपछि स्थिति भयावह बन्ने देखिएको छ ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले २ जना डाक्टरसहित १४ जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएको बताए । उनले भने, ‘कोरोना परिक्षणका लागि दिइएका ८० प्रतिशत स्वाबमा भाइरस सङ्क्रमण देखिएको छ । दैलेखको सदरमुकाममा मात्रै प्रभावकारी परिक्षण गर्ने हो भने ४० देखि ५० प्रतिशतमा सङ्क्रमण देखिने आशंका गरेका छौं ।’ डा. पन्तका अनुसार कडा ज्वरो आउने, खोकी लाग्ने र श्वासप्रश्वासमा गम्भिर समस्या भएर अक्सिजन दिनुपर्ने अवस्थाका बिरामी पनि बढ्दै गएका छन् । पछिल्लो एक सातामा सक्रिय सङ्क्रमितको संख्या पनि बढेको छ ।

भाइरस समुदायस्तरमै फैलिसकेको आशंका बढेपछि मास्क नलगाएर हिँडडुल गर्नेलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गर्न थालेको छ । दशैँ मनाउन शहरबाट गाउँमा आवतजावत बढेपछि भाइरस सङ्क्रमण एकाएक बढेको हुनसक्ने प्रशासनको अनुमान छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखले सबैलाई उच्च सतर्कता अपनाउन र लक्षण देखिएमा सुरक्षित तवरले कोरोना परिक्षण गराउन आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको