१८ मंसिर २०७७, बिहीबार

भेरी अस्पतालका स्वास्थ्यकर्मी र कोरोना सङ्क्रमितले सँगै मनाए दशैँ



११ कार्तिक, काठमाडौं । बाँकेको नेपालगञ्जमा अवस्थित भेरी अस्पताल कोरोना सङ्क्रमितको उपचार केन्द्र जस्तै भएको छ । रात दिन नभनी बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीहरू दशैँमा पनि घर जान पाएनन् । मान्छेबाट एक्लिएर बस्नुपर्ने कोरोना सङक्रमितहरू त घर जाने, दशैँ मनाउने, आफन्त भेट्ने सवालै भएन ।

तर भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले आफ्नो खुशी पनि समेटिने र कोरोना सङ्क्रमितको हौसला बढ्नेगरी अस्पतालमै दशैँ मनाएका छन् । स्वास्थ्य सुरक्षाका मापदण्डलाई उच्च प्राथमिकतामा राखेर पिपिई सेटसहित स्वास्थ्यकर्मीले भाइरस सङ्क्रमितलाई टिका जमरा लगाइदिएको भेरी अस्पतालका मेडिकल सुपरटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिए ।

‘अस्पतालमा यस्तो कार्यक्रम राख्ने कुनै पूर्वतयारी थिएन । तर सङ्क्रमितलाई टिका–जमरा लगाइदिएको भिडियो प्राप्त भएपछि स्वास्थ्यकर्मीहरूले नै स्वतस्फूर्त यस्तो कार्यक्रम आयोजना गरेको थाहा पाए ।’ रारापाटीसँग कुरा गर्दै डा. थापाले भने, ‘हाम्रा स्वास्थ्यकर्मीहरू बिरामीको स्वास्थ्यप्रति हदैसम्म सजग र जिम्मेवार छन् भन्ने व्यवहारको एक ज्वलन्त नमुनाका रूपमा अस्पतालको टिका ग्रहण कार्यक्रमलाई लिएको छु ।’ महत्वपूर्ण कार्यका लागि सम्पूर्ण स्वास्थ्यकर्मीलाई आफुले विशेष धन्यवाद दिएको डा. थापाले बताए ।

आजका दिनसम्म भ्याक्सिन प्रतिपादन भइनसकेको अवस्थामा कोरोना भाइरसलाई जित्ने महत्वपूर्ण औषधि व्यक्तिको बलियो आत्मविश्वास नै हो भनिएको छ । त्यसबाहेकको स्वास्थ्य अवस्थामा सुधार ल्याउन खटिएका स्वास्थ्यकर्मीहरूले सङ्क्रमितहरूलाई टिका–जमरा लगाइदिएर अस्पतालको बेडमै दशैँको माहोल सिर्जना गरिदिनु वास्तवमै सराहनीय कार्य हो । पैसालाई केन्द्रमा राखेर बिरामीको उपचार गर्ने अस्पतालहरूले भेरी अस्पतालका मनकारी स्वास्थ्यकर्मीहरूले गरेको यो उदाहरणीय कार्यलाई सिकाइका रूपमा ग्रहण गर्न सक्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु