१३ मंसिर २०७७, शनिबार

हुम्लाको दक्षिणी भेगमा तीन हप्तादेखि टेलिफोन सेवा अवरुद्ध



समर हुम्ली

१० कार्तिक, हुम्ला । हुम्लाको दक्षिणी भेगका दुई गाउँपालिका ताजाकोट र अदानचुलीमा तीन हप्तादेखि नेपाल टेलिकमको मोवाइल टावरमा समस्या आउँदा हजारौं हुम्लीहरूलाई सञ्चार सम्पर्क गर्न समस्या देखिएको छ ।

हाल भिंई, सोरूकोट, चिही, श्रीनगर र बारीगाउँमा रहेका टावरहरूमा समस्या आउँदा यहाँका स्थानीयहरू सञ्चार सेवाबाट वन्चित भएको अदानचुली गाउँपालिका श्रीनगरका मानबहादुर थापाले जानकारी दिएका छन् ।

असोज २० गतेबाट यी मोवाइल टावरमा समस्या आएको भए पनि हालसम्म टेलिकम हुम्लाले माथिल्लो तहमा जानकारी गराउनुको सट्टा दशैँमा जिम्मेवार कर्मचारी विदा लिएर घरतिर लाग्दा यस्तो समस्या देखिएको बताएको छ ।

यसका हुम्लाको चंखेली र सर्केगाडमा पनि सञ्चार सेवा अवरुद्ध हुँदा दशैँको समयमा आफन्त र टाढा बसेका घरपरिवारका सदस्यसँग शुभकामना र भलाकुसारी गर्न समस्या भएको भन्दै चंखेली १ का स्थानीय जसे बुढाले दुखेसो व्यक्त गरेका छन् ।

गाउँका विभिन्न स्थानहरूमा रहेका विटीएमा पटक–पटक यस्तो समस्या आइरहेको र नेपाल टेलिकमले प्रयोग गरेको मिश्रित प्रविधिका कारण यस्तो भइरहेको नाम नबताउने शर्तमा टेलिकम स्रोतले बताएको छ । के गर्नु हजुर कतै फोरजी छ त कतै बल्ल टुजी पनि चल्न गाह्रो छ ।

स्थानीय जनप्रनिधिहरू भने आफुहरूले सम्बन्धीत निकायको माथिल्लो तहसम्म पटक–पटक मर्मत सम्भारका लागि भेट गर्न गए पनि हुन्छ मात्र भन्ने र सुनुवाई नभएका कारण यस्तो समस्या देखिएको आरोप लगाएका छन् ।

टेलिकमले धोका दिदा आफ्नो दशैँ नै खल्लो भएको हुम्लाको दक्षिणी भेगका बासिन्दाहरू बताउछन् । जे भए पनि सबै मिलेर गाउँ–गाउँमा सञ्चालित टेलिफोन सेवा छिटोभन्दा छिटो सुचारू हुनु पर्ने स्थानीयहरूको माग रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु