हुम्लाको नाम्खाका जनप्रतिनिधिलाई दशैँ खर्चसहित ३ महिनाको सेवा सुविधा
समर हुम्ली
९ कार्तिक, हुम्ला । हुम्लाको उत्तरी स्थानीय तह नाम्खा गाउँपालिकाका स्थानीय जनप्रनिधिहरूले दशैँको पर्व खर्चसहित तीन महिनाको सेवा सुविधा खर्च पाएका छन् । कर्णाली प्रदेश सरकारले २०७७ असार ३० गतेको प्रदेश राजपत्रका सूचना प्रकाशित गरेपछि यो सेवा सुविधा दिनका लागि बाधा अकडाउ फुकेको हो ।
कर्णाली प्रदेश सरकारले २०७७ असार ३० गते प्रकाशित गरेको प्रदेश राजपत्रको खण्ड ३ अतिरिक्ताङ्क २ ले यो वाधा अडकाउ फुकाएको छ । अब हुम्लाका स्थानीय तहका जनप्रतिनिधहरूले आर्थिक वर्ष २०७७/०७८ साउनबाट पुनः तेह्र प्रकारका सेवा सुविधाहरू पाउने भएका छन् ।
सम्भवत हुम्लाका स्थानीय तहका जनप्रतिनिधिहरूका लागि पर्व खर्च र अन्य सेवा सुविधा खर्च खुवाउने नाम्खा पहिलो गाउँपालिका भएको लेखा अधिकृत अश्विनी देवकोटाले जानकारी दिएका छन् ।
उनले भने, ‘हामीसँग गाउँपालिकाको आफ्नो संचित कोषमा रकम भएकाले नाम्खा गाउँपालिका मातहतका कर्मचारी, शिक्षक र अन्यलाई पनि दशैँ खर्चसहित तलव भत्ता खुवाएका छौं । केही रकम घटबढ भए पछि मिलान गरिने छ ।’ कर्णाली प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिहरूलाई सेवा सुविधा लगायतका अन्य खर्चका लागि बाटो खोलिदिएका कारण आफुहरूलाई सहज भएको लेखा अधिकृत देवकोटाले बताए ।
कर्णाली प्रदेश सरकारले प्रकाशन गरेको प्रदेश राजपत्र भाग १, खण्ड ३ सुर्खेत, २०७७ साल असार ३० गते प्रकाशित अतिरिक्ताङ्क २ को अनुसूचि १, २ र ३ मा उल्लेख भए अनुसार नै भुक्तानी गरिएको जानकारी प्राप्त भएको छ ।
नाम्खा गाउँपालिकाले २७ जना स्थानीय जनप्रतिनिधिहरूका लागि साउन, भदौ, असोज र एक महिना बराबरको दशैँ खर्च गरी ४ महिनाको सेवा सुविधावापतको रकम एकमूष्ट भुक्तानी गरेको छ ।