२५ हजार हुम्लीहरूले पाए आँखा उपचार सेवा
समर हुम्ली
९ कार्तिक, हुम्ला । आँखा उपचार केन्द्र हुम्लाले हालसम्म २५ हजार हुम्लीहरूलाई आँखा उपचार सेवा दिएको छ । आँखा उपचार सेवा जिल्लामा नै उपलब्ध हुँदा सर्वसाधारणहरूलाई आँखासम्बन्धि समस्या समाधानका लागि सहज भएको छ ।
जिल्लाभरीका २५ हजार हुम्लीहरूलाई विभिन्न प्रकारका आँखाको रोगहरूको उपचार गरिएको र यसबाट आम हुम्लीहरूलाई सहयोग पुगेको आँखा उपचार केन्द्र हुम्लाका प्रमुख बुम बोहराले जानकारी दिए । उनले भने ‘अझै साधन स्रोत र जनशक्तिको अभाबमा धेरै सुविधा दिन नसके पनि आँखाको साधारण रोगको समाधान र त्यसको उपचारका लागि खर्च हुने आर्थिक भार भने कम भएको छ ।’
‘हुम्ला जिल्लामा नै आँखा उपचार केन्द्र स्थापना भएकोले मेरो आँखाको उपचार सस्तो र सजीलै गर्न सकें नत्र धेरै पैशा खर्च गर्ने मेरो हैसियत थिएन’, स्याँडा गाउँका भैरब बुढाले भने ।
आँखा मानिसको अति संवेदनशिल अंग भएकोले कतिपय सानातिना चोट पटक र चेतनाको अभावमा पनि आँखा गुमाउनु पर्ने अवस्था केही मात्रामा भए पनि कम भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाका सभापति गणेशबहादुर महतले बताए । उनले भने, ‘अनुसार अझै यसलाई अभियानका रूपमा हुम्लीहरूको घरदैलोमा पुर्याउन आवश्यक भएको हुँदा यसका लागि सबैको सहयोग र हातेमालो आवश्यक छ ।’
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाको व्यवस्थापन तथा हिमालयन आँखा अस्पताल घारीपाटन, पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापित तथा सञ्चालित आँखा उपचार केन्द्र हुम्लाले जिल्लाभरी आँखा स्वास्थ्यको बारेमा सचेतना तथा विविध प्रकारका जानकारीहरूमार्फत् सेवा प्रवाह गर्दै आएको छ ।
आँखामा सामान्य चोट पटक, घाउ हुँदा छिटोभन्दा छिटो चिकित्कसकसँग सम्पर्कमा आउन सकेमा धेरै हदसम्म अन्धोपनबाट बच्न सकिने आँखा उपचार केन्द्र प्रमुख बोहराको अनुभव छ ।
यसरी मानवीय सेवामा हातेमालो गर्दै आएको रेडक्रसले हुम्ला जस्तो दुर्गम जिल्लामा आँखाको सेवा र सचेतना दिने एक मात्र सामाजिक संस्था हो । यसले घरदैलो अभियान अन्तर्गत मोती बिन्दुको शल्यक्रियाको सेवा पनि वर्षेनी दिंदै आएको छ ।