फापरको एक रोटीको सय रूपैयाँ पर्ने गाउँपालिकाको केन्द्र
समर हुम्ली
८ कार्तिक, हुम्ला । संघीयतापछि लागु भएको तीन तहको सरकारको व्यवस्थाले गर्दा गाउँ–गाउँमा धेरै सेवा सुविधाहरूका साथै महंगी र विकृति पनि पुगेका छन् । यसैको एक उदाहरण हो हुम्ला नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ्ग । जहाँ फापरको एक रोटी अर्थात् लगडको मूल्य एक सय रूपैयाँ पर्ने गरेको छ ।
पछिल्लो समय कोरोना महामारीले पनि उत्तरी नाका हिल्छाबाट बन्दोबस्तीका सामानहरू नआउँदा महंगी अचाक्ली बढेको स्थानीयहरू बताउँछन् । नाम्खा गाउँपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूलाई स्थानीयस्तरमा पनि खाद्यान्न र अन्य सामानहरू किन्न नपाइने र नेपाल खाद्य संस्थानबाट पाइने मासिक कोटाको चामलको पनि व्यवस्था नहुँदा बस्न गाह्रो भएको नाम्खा गाउँपालिकाका इन्जिनियर धनलाल रोकायाको दुखेसो छ ।
उनले भने ‘सकभर खाना नै पाइदैन पाइए पनि प्रतिक छाकको दुई सय रुपैँया र खाजा एक सयदेखि तीन सयसम्म पर्ने भएकाले काम गर्न र बस्न गाह्रो भएको छ ।’ यसरी मासिक खान बस्नकै लागि पनि बीस हजार जति लाग्ने भएकाले जागिर खाने की घरपरिवार पाल्ने भन्ने समस्या भएको नाम्खा गाउँपालिकामा कार्यरत कर्मचारीहरू बताउछन् ।
स्थानीयस्तरको फापरको रोटी अर्थात् लगड खाँदा मोटाई हेरेर एक रोटीको ८० देखि १५० रुपैँयासम्म पर्ने गरेको छ ।