पूर्व पर्यटन मन्त्री स्व. रवीन्द्र अधिकारीको सम्झनामा पूनर्मिलन कार्यक्रम
७ कार्तिक, काठमाडौं । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले विभिन्न समसामयिक विषयमा परिचर्चाका साथ हरेक वर्ष बडा दशैंको अवसरमा नवमीका दिन पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको सम्झनामा पुनर्मिलन कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम कास्की जिल्लाको भरतपोखरी निर्मलपोखरी र कृस्तीको मध्यम स्थल डाडैपोखरीमा गरिनेछ ।
यस वर्ष कोविड–१९ का कारण स–शरिर उपस्थित भई कार्यक्रम गर्न असुविधा भएकोले ‘दक्षिण कास्कीको समग्र विकास र रवीन्द्र अधिकारीको योगदान’ शिर्षकमा परिचर्चा सहित पुनर्मिलन कार्यक्रम भर्चुअल माध्यमबाट हुने संघीय सांसद एवम् रवीन्द्र अधकारीको जीवन संगिनी विद्या भट्टराईले सामाजिक सञ्जालमार्फत् जानकारी गराएकी छन् ।
यहि कात्तिक ९ गते विहान ११ बजेबाट गण्डकी प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ को प्रमुख आतिथ्यतामा हुने पुनर्मिलन कार्यक्रममा देश विदेशमा रहनु भएका सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरूलाई सहभागी भईदिनु हुन सांसद भट्टराईले अनुरोध गरेकी छन् । जुम प्लेटफर्मको मिटिङ आइडि 874 7791 6861 र पासकोड 2019 रहेको रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले जनाएको छ ।
२०४३ साल देखि कास्की जिल्लाको भरतपोखरी निर्मलपोखरी र कृस्तीको मध्यम स्थल डाडैपोखरीमा रवीन्द्र अधिकारी लगायतका सामाजिक परिवर्तनका पक्षपोषक व्यक्तित्वहरूद्वारा हरेक वर्षको बडा दशैंको अवसरमा नवमीका दिन पुनर्मिलन कार्यक्रम आयोजना हुँदै आएको थियो ।