प्रहरीमाथि नै गोली चलाएर भाग्न खोज्ने एक भारतीय पक्राउ
५ कार्तिक, काठमाडौं । बारा प्रहरीले गोली हानी एक भारतीयलाई नियन्त्रणमा लिएको छ । प्रहरीमाथी नै गोली चलाएर भाग्न खोज्दा जवाफी फायर गरी प्रहारीले भारतीयलाई नियन्त्रणमा लिएको हो ।
भारतको मोतिहारी जिल्ला पूर्वी चम्पारण दुधिअवा बस्ने २८ वर्षीय कुशवाहालाई बारा जिल्लाको सिम्रौनगढ नगपालिका वडा नम्बर ९ स्थित सिमा क्षेत्रबाट नियन्त्रणमा लिइएको बंकुलस्थित प्रहरी चौकी कचोर्वाले जनाएको छ ।
प्रहरी हवल्दार छोटेलाल प्रसाद यादवको कमाण्डमा खटिएको टोलीले कुशवाहालाई गोली प्रहार गरी नियन्त्रणमा लगेको हो । अबैध हतियारसहित नेपाल प्रवेश गर्न लागेका ति भारतीयमाथि शंका लागेपछि चेकजाँचका क्रममा रोक्न खोजिएको थियो । तर प्रहरी माथि नै गोली चलाएर भाग्न खोज्दा जवाफमा गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।
प्रहरीले चलाएको गोली कुशवाहाको दायाँ पखुरामा लागेको छ । कुशवाहाले चलाएको गोली भने प्रहरीलाई नलागेको प्रहरी चौकी कचोर्वा बाराका प्रहरी हवल्दार नरसिंह नारायण यादवले जानकारी दिए ।
प्रहरीले भारतीय कुशवाहाको साथबाट १ थान पेस्तोल र ५ राउण्ड गोली बरामद गरेको छ ।