काकाको हत्या गरी भागेका अभियुक्त ६ महिनापछि पक्राउ
४ कार्तिक, काठमाडौं । आफ्नै काकाको हत्या गरी ६ महिनादेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । मृतक टङ्कबहादुर तामाङको दाइका छोरा ४६ वर्षीय इन्द्रबहादुरलाई प्रहरीले पक्राउ गरेको हो ।
ओखलढुङ्गाको सुनकोशी गाउँपालिका वडा नम्बर ६ बान्द्रे घर भई विगत तीन वर्षदेखि पोखरामा मजदुरी गर्दै आएका ५५ वर्षीय टङ्कबहादुर तामाङको हत्या गरेर ६ महिनादेखि इन्द्रबहादुर सम्पर्क बिहिन भएका थिए ।
गत वैशाख २१ गते पोखरा–२० स्थित जङ्गल छेउमा रहेको पाल तथा स्याउलाले बनाएको छाप्रोमा टाउको तथा अनुहारमा गम्भीर चोट लागेको अवस्थामा तामाङको शव फेला परेपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । घटनामा इन्द्रबहादुरको संलग्नता देखिएपछि खोजतलासको क्रममा लमजुङको मध्यनेपाल नगरपालिका–२ सोतीपसलबाट पक्राउ गरी पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
घटनापछि मृतकको छोराले तामाङविरुद्ध किटानी जाहेरी दिएका थिए । गत वैशाख २० गते राति मदिरा सेवन गरेपछि दुई जनाबीच झैझगडा शुरु भएको र सोही क्रममा इन्द्रबहादुरले टङ्कबहादुरको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो । प्रतिवादी तामाङले प्रारम्भिक सोधपुछ गर्दा घटना घटाएको स्वीकार गरेको र उनलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी नायक उपरिक्षक हमालले जानकारी दिए ।
(रासस)