१३ मंसिर २०७७, शनिबार

कर्णाली प्रदेशका न्याउल्या गीतमा इतिहास र आञ्चलिकता


डा. मधुसूदन गिरी
३ कार्तिक २०७७, सोमबार

समयको दीर्घतम् महानदीमा भूगोलका रेखाहरू कोरिँदै र मेटिँदै जाँदा रहेछन् । प्राचीन वा पूर्व मध्यकालीन कर्णाली प्रदेश आज छैन । आज यो अलि सानो भूगोलमा साँघुरिएको छ । राजनीतिक प्रशासनिक सीमारेखाहरू साँघुरिएर पनि त्यसको आत्मा भाषा, संस्कृति, साहित्य र इतिहास साँघुरिएको छैन । नयाँ नयाँ रूपमा फैलिँदै गएको छ । मात्र आजको यो अत्याधुनिक सर्वग्रासी पाश्चात्य हावाले यसलाई पनि निल्नै लागेको छ । सभ्यता र संस्कृतिका विभिन्न पाटा वा आयाम मध्यको एउटा महत्वपूर्ण आयाम लोक साहित्यको एक महत्वपूर्ण विधा लोकगीत जुन लोक जीवनका आत्माको अभिव्यक्ति हो । यसमा यस प्रदेशको इतिहास, संस्कृति र वर्तमान सबै पाइन्छ, जीवन, जीवनशैली र जीवनको अवस्था तथा बाह्यान्तरिक पीडा, ब्यथा, वेदना वा सुख, दुःख, हाँसो, आँसु सबैको प्रतिविम्ब पाइन्छ ।

कतै एकल, कतै दोहोरी र कतै वृत्ताकार घेरा लागेर काँधमा काँध मिलाई डेढ पाइला अगाडि र डेढ पाइला पछाडि सार्दै दुई पक्षबीच दिनरात मार्मिक एवम् पेचिला प्रश्नोत्तरमा गाइने ड्यौढाका यी प्रायः समान संरचना र विविध लयका गीतहरूको एउटा लयात्मक नाम नै न्याउल्या हो । आज यो प्रायः लोप हुन लागि सकेको छ । यो पनि पहिले पहिले लामो लेग्रो तानेर गाइन्थ्यो भने पछि केही द्वरा छोटो लयमा पनि गाइन थालियो । अझै पनि कुना कन्दरातिर कतै कतै जीवित यस लयको परम्पराबाटै यी गीतको नामकरण गरिएको छ ।

कतै एकल, कतै दोहोरी र कतै वृत्ताकार घेरा लागेर काँधमा काँध मिलाई डेढ पाइला अगाडि र डेढ पाइला पछाडि सार्दै दुई पक्षबीच दिनरात मार्मिक एवम् पेचिला प्रश्नोत्तरमा गाइने ड्यौढाका यी प्रायः समान संरचना र विविध लयका गीतहरूको एउटा लयात्मक नाम नै न्याउल्या हो । आज यो प्रायः लोप हुन लागि सकेको छ । यो पनि पहिले पहिले लामो लेग्रो तानेर गाइन्थ्यो भने पछि केही द्वरा छोटो लयमा पनि गाइन थालियो । अझै पनि कुना कन्दरातिर कतै कतै जीवित यस लयको परम्पराबाटै यी गीतको नामकरण गरिएको छ ।

न्याउल्या यहाँ मात्र होइन न्यौली नामबाट पुरानो कर्णाली प्रदेशअन्तर्गत नै पर्ने कुमाउँतिरको कुमाउँनीमा पनि निकै प्रचलित देखिन्छ । समग्रमा यो यस प्रदेशको प्राचीनतम् एक प्रसिद्ध गीत रहेको देखिन्छ । कुमाउँनी लोकसाहित्य एवम् कुमाउँनी साहित्य नामक पुस्तकमा डा. देवसिंह पोखरियाले न्यौलीको ब्युत्पत्ति नवल वा नवेली बाट भएको चर्चा गरेका छन् । न्यौलीको तात्पर्य (कामिनी) लाई आलम्बन बनाएर सम्बोधन गरी गाइने प्रेमपरक गीत, नयाँ गीतको अवली, नयाँ छन्दका गीत, विरहको प्रतीक कोइलीको एक प्रजातिको प्रियतमका विरहमा रुँदै गाइएको गीतका अर्थमा र यस पङ्क्तिकारले पनि नेपाल प्रज्ञा प्रतिष्ठानको वि.स. २०५०) मा प्रकाशित प्रज्ञा–७७ मा न्याउली चरी कराइका विरहयुक्त स्वर लहरीसँग मिल्दो लामो र सुमधुर सुर लहरीसँग मिल्दो लयका आधारमा न्याउल्या नामकरण भएको मत प्रस्तुत गरेको छ । योगी नरहरिनाथले पनि वि.स. २०१३ सालमा प्रकाशित इतिहास प्रकाश भाग–३ मा कर्णाली प्रदेशका न्याउल्या गीत नामबाटै यस प्रदेशका लोकगीतहरू प्रकाशित गरेका छन् ।

यस प्रदेशमा पाइने प्रस्तुत लोकगीतमा यस प्रदेशको भूगोल, इतिहास, सस्कृति, परम्परा, रहनसहन, जीवन, जीवनशैली, मूल्य र त्यसमा आएको अन्तरण आदि थुप्रै कुराहरू प्रतिविम्बित भएका पाइन्छन् । ती मध्य यस लघुलेखमा केवल दुइटा लोकतत्व, इतिहास र आञ्चलिकताको प्रतिविम्बनका केही थोरै साक्ष्यहरू प्रस्तुत गरिएको छ । भाषा, संस्कृति, रहनसहन, प्रकृति आदि आञ्चलिक रङ्ग र गन्ध दिने अससङ्य पक्षमध्य पनि यहाँ केवल यस क्षेत्रको भूगोलको प्रतिविम्बलाई उल्लेख गरिएको छ ।

कर्णाली प्रदेशका न्याउल्या गीतमा कर्णाली प्रदेशको भूगोलका विम्बहरू :

प्राचीन कर्णाली प्रदेशका भूगोलको प्रतिविम्ब त पूर्णप्रकाश नेपाल यात्रीद्वारा दैलेख जिल्लामै सङ्कलन गरेर भेरी लोक साहित्यमा प्रकाशित गरेको रनी राउतको भारतमा पनि पाइन्छ, रिपु मल्लको चाँचरी, जितारी मल्लको भारतलगायतका गाथा कथादिमा पनि पाइन्छन् । उता प्रा.डा. जयराज पन्तद्वारा भारतको उत्तराञ्चलको चम्पावत जिल्ला चम्पावत नगरपालिकाकी निर्मला गहतोडीद्वारा केशवदत्त पाण्डेयले सङ्कलन गरी नारी शकुन गीतमा प्रकाशित गरेको भनी चर्चा गरिएको कुमाउँनी फाग वा प्रा. पन्तद्वारा नै डोटी सिलगढीको शिवा भद्रबाट सङ्कलन गरेको डोटेली मागलमा पनि देखिन्छ । प्रा. पन्तद्वारा सङ्कलित प्रस्तुत फागमा त दैलेखको प्रस्तुत वैश्वानर ज्वाला रहेको दुल्लु क्षेत्रलाई स्वर्ग नै भनिएको छ ।

प्राचीन कर्णाली प्रदेशका भूगोलको प्रतिविम्ब त पूर्णप्रकाश नेपाल यात्रीद्वारा दैलेख जिल्लामै सङ्कलन गरेर भेरी लोक साहित्यमा प्रकाशित गरेको रनी राउतको भारतमा पनि पाइन्छ, रिपु मल्लको चाँचरी, जितारी मल्लको भारतलगायतका गाथा कथादिमा पनि पाइन्छन् । उता प्रा.डा. जयराज पन्तद्वारा भारतको उत्तराञ्चलको चम्पावत जिल्ला चम्पावत नगरपालिकाकी निर्मला गहतोडीद्वारा केशवदत्त पाण्डेयले सङ्कलन गरी नारी शकुन गीतमा प्रकाशित गरेको भनी चर्चा गरिएको कुमाउँनी फाग वा प्रा. पन्तद्वारा नै डोटी सिलगढीको शिवा भद्रबाट सङ्कलन गरेको डोटेली मागलमा पनि देखिन्छ । प्रा. पन्तद्वारा सङ्कलित प्रस्तुत फागमा त दैलेखको प्रस्तुत वैश्वानर ज्वाला रहेको दुल्लु क्षेत्रलाई स्वर्ग नै भनिएको छ । दुल्लु क्षेत्रका वैश्वानर ज्वालालाई विक्रमको आठौं नवौं शताब्दितिर हिन्दू धर्मको पुनरुत्थानका क्रममा हिमालय क्षेत्रका तीर्थस्थलको महत्वलाई उजागर गर्ने क्रममा लेखे लेखाइएको वैश्वानर पुराणको हिमवत्खण्डमा वद्री केदारभन्दा बढी पुण्यदायक भनिएको छ ।

प्रा. पन्तद्वारा प्रस्तुत फागहरूमा डोटीको वद्रीमालिकाको कालिका मन्दिरभित्रका अखण्ड दीप निभ्दा त्यहाँका पुजारी परिवारका ब्यक्तिले खराउ लगाएर पैदल यात्रा गरी दुल्लु क्षेत्रबाट उक्त वैश्वानर ज्वाला ल्याई उक्त अखण्ड ज्वाला बाल्ने परम्परा रहेको उल्लेख गरिएको छ । त्यस्तै कुमाउँबाट वैश्वानर ज्वाला खोज्दै अनेक ठाउँ चहारेर नपाई दुल्लु पुग्दा ती प्राप्त भएको र उक्त ज्वालाले ती क्षेत्रमा अनेक पाप कर्म फैलिएकाले जान नमानेको प्रसङ्गले दुल्लुको पावन धार्मिक पर्यटकीय महत्व स्पष्ट हुन्छ । समाज शास्त्रीय दृष्टिबाट हेर्दा यसलाई मानव जातिले आगोको आविष्कार गरेताकको आगोको महत्व र खोजीको प्राचीन आद्यवशेष (टोटेम, आर्किटाइप) भन्न सकिन्छ । यस अर्थमा यस क्षेत्रका सभ्यता, संस्कृति र इतिहासको अतिप्राचीनता तथा पावनताका प्रस्तुत साक्ष्यमध्यका फाग/मागलहरू यसपूर्व नै यसै पत्रिकामा प्रकाशित भइसकेका छन् । अतः यहाँ प्रस्तुत न्याउल्या गीतमा प्रतिविम्बित यहाँको भूगोलका विम्ब खोज्ने प्रयत्न गरिएको छ । यसरी हेर्दा सुगौली सन्धिपश्चात् पनि नेपालको भाषिक सांस्कृतिक राज्य अनुभव हुने वर्तमान भारतका केही प्रदेशमध्य उत्तराञ्चलका कुमाउँ र गढवालतिरका लोकगीतमा प्रतिविम्व यहाँको भूगोलको विम्ब यस्तो छ :

दाँतले फुट्न्याँ उखड्, जुम्ला पारि हुँछ ।
दुसारा को मन बुझुन्या, आफी किलै रुँछ ।।

यसरी कुमाउँनी र गढवालीमा नेपालको भूगोल सुरक्षित छ, पश्चिम नेपालका दुल्लु, जुम्ला, डोटी सिल्गढी आदि अङ्कित छन्, अर्थात् नेपाली भाषा, संस्कृति र इतिहासको सांस्कृतिक साम्राज्य त्यहाँसम्म विस्तारित छ, विद्यमान छ, जस्तो कुमाउँनीकै एउटा लोकगीतको एउटा स्थायीमा यसरी सिल्गढी अङ्कित हुन गएको छ ।

सिल्गढी का पाल चाल, कलुँ पुल्या लाल ।
छोड सङी पिछौडी चाल, फल्जु माया जाल ।।

कर्णाली प्रदेशभित्रकै लोकगीतमा पनि आफ्नो भूगोल, आफ्नो प्रकृति र आफ्ना सम्पदाको महिमा गान भएको पाइन्छ जस्तो कि यहाँको एउटा पुरानै लोकगीतमा यहाँका सम्पदाको महिमा गान यसरी गरिएको छ :

भूर्ति राम्णा पञ्च देवल दैलेख राम्णा गणी ।
दुल्लु राम्णा कीर्तिखम्म एक होइ एक बणी ।।

यी गीतहरूमा दुल्लु अलि बढी नै आएको पाइन्छ । ती सबै उल्लेख गर्नु सम्भब नभए पनि एक दुई उदाहरण यस्ता छन् ।

मालिका मेलाका जज्ञ हात पोल्यो हुम्याको ।
रमाइलो दुल्लुको डाँडो फनक्क घुम्याको ।।
दुल्लुधेइ पान्नाउलीसम्म जाइँथी हान्यो खम्म ।
गाउँ पनि दुल्लुकै राम्णो बाटो पनि सम्म ।।
जिन्नगी भरिया भैगो माल र मदेश ।
पानी माग्या दूध मिल्लो थी धन्न दुल्लु देश ।।
बैशाख गुरौंसी फुल्या लेखै रातामाता ।
जुम्ला हुम्ला घट्ट चल्ला दुल्लु अछाम जाँता ।।

सूचक नं. १ को दोस्रो पङ्क्तिमा दुल्लु डाँडाका सर्पाकारमा घुमेको भूआकृतिको चित्रण छ, जसलाई रमाइलो विशेषण दिइएको छ । त्यस्तै सूचक नं. २ को प्रथम पङ्क्तिले दुल्लुदेखि पान्नाउली भनिएको पत्थरको नाउली अर्थात् पानी खाने इनारसम्म जहाँनिर पनि शिलास्तम्भ गाडेको कुराको उल्लेख छ भने दुल्लुको गाउँ रमाइलो भएको र यहाँका बाटाहरू पनि उकाला ओराला र उवडखावड नभई सम्म भएको भाव छ । सूचक नं. ३ को दोस्रो पङ्क्तिमा पुरानो दुल्लुको मानवीयता तथा अतिथि सत्कारको चित्रण छ, जसमा पिउने पानी माग्न आएको बटुवालाई पानी मात्र होइन दूध खुवाएर सत्कार गर्ने परम्पराको चित्रण छ ।

सूचक नं. ४ को प्रथम पङ्क्तिमा वैशाखमा रातै भएर फुल्ने गुराँसको वर्णन छ । दोस्रोमा जुम्ला र हुम्ला नदी निकटमा भएकाले त्यहाँ घट्ट चल्ने हुँदा ढिकी कुट्नु र जाँतो पिँध्नु नपर्ने, तर दुल्लु र अछाममा पर्ने यथार्थ चित्रण छ ।

यस्तै दैलेखको प्रसिद्ध गढी र शिरस्थान, नाभिस्थान आदिका प्राकृतिक ज्वाला पनि निकै लोक गीतमा आएका पाइन्छन्, जस्तो :

दुल्लु राम्णा पाथरनाउली दैलेख राम्णा गढी ।
अरुँला भन्याको होलाई नअरेई मनपणी ।।
घाँस दाउरा पाइ पण्याको छिउडी र छुवाला ।
पानी माथि बल्याका छन् ज्योतिका जुवाला ।।

भीमबहादुर शाहीद्वारा गाइएको यो दोस्रो गीतमा जस्तो यताको विम्ब मात्र होइन यताबाट हेर्दा देखिने आजको उताको विम्ब पनि लोकगीतमा पाइन्छ । उता कुनै समय हाम्रो आफ्नै शरीरको एउटा अङ्ग थियो, जहाँ हामीले (हाम्रा पुर्खाले) हाम्रा रगत र पसिनाले अभिसिन्चित गरेका भूखण्डहरू छन, र त्यो पनि कहिले आफ्नै लागि र कहिले अरुका लागि सुगौली सन्धिपूर्वको हाम्रो एउटा भूखण्ड जहाँ आज पनि झण्डै पाँचलाख नेपालीहरू बसोबास गर्दछन् । जहाँ आज पनि गोर्खा छाउनी छ, गोर्खाली सुधार सभा छ, गोर्खाली भाषा, भूषा, सभ्यता र संस्कृति छ, जसलाई त्यहीँ माथिको नालापानीले पहरा दिइरहेको जस्तो लाग्छ । त्यही भूमिबाट जर्मनसँग युद्ध लड्दाको झझल्को दिने एउटा लोकगीत गाइएको र उध्दृत पनि गरिएको छ । कृष्ण प्रसाद पराजुलीको सङ्कलनमा यसरी प्रस्तुत छ :

दाजु रुँदै जर्मनको धावैमा
भाउजू रुँदै देहरादून छाउनीमा

हामी नेपालीहरूले सधैं अरुकै देश, जाति तथा सान, मान र आन बचाएर भोटो र रोटी जोर्न वीरतापूर्वक यूद्ध लड्यौं, कहिले मजदुरी गर्न हल्दुवानी, नैनीताल, सिम्ला, वेँणुखाल, आदि भू–भागमा पुगेर दयनीय जीवन बितायौं । यी र आफ्नै भूमिका सङ्घर्षका विम्बयुक्त यस्ता असङ्ख्य लोकगीतहरूमध्य केही यस्ता छन् :

दाजु दैलेख सुविदार भाइ सिम्ल्याका मेट
एकै सूर्य घाम ताप्ता छौं कैले होला भेट ।।
गरिबका भाग्यौनै होइ कि माम कामका रोजा ।
कैले बोक्न छुट्न्याँ हुनन् अल्मुडाका बोझा ।।
ताउलाखार लडाइँ पण्यो भोट्याको लाम लाग्यो ।
साउकारका बाँजा धन मेरा क्या काम लाग्यो ।।
जामु कुइँन्याँ रोल पाइनैन मान्छे टम्माटम्म ।
जो दुःख पुराना थिया उई छन् आजसम्म ।।
तली सल्यान माथि प्युठान बाढीले लैगयो ।
तँ छनाइ छै म छनाइ छु भेट भया भैगयो ।।
दैलेख ज्वालाजी ठूला सुर्खेत देवती ।
भावीले भाग हाल्लीं बेला पाण्याँछु छेवती ।।
ताल राम्णा मुगु र डोल्पा गाउँ राम्णा हुम्लाका ।
काफल मिठा कालीकोटका स्याउ मिठा जुम्लाका ।
सिल्गणी सेठका घर सुन्तोला फलिगो ।
भोटान पाटन डुल्ला डुल्लै परानी गलिगो ।।
नैनी ताल्या तल्ला कुवा घुमी आयो रेल ।
हड्डीको मस्यौरो भैगो कलेजीका तेल ।।

प्रा. जयराज पन्तदेखि कालीकोटका महेन्द्र चौलागाई आदिद्वारा सङ्कलित यी लोकगीतका अतिरिक्त आजभन्दा सयौं वर्ष पूर्व हाजिरमान राईद्वारा सङ्कलित वर्मा र जेन्को सात रुप्पे तलव दुश्मनको भरैमा जस्ता लोकगीतहरूमा वर्मा पनि आएको छ र तत्कालीन इतिहास पनि, तर यो लेख केवल पश्चिम नेपालमा प्रचलित लोकगीतमा सीमित भएकाले ती लोकगीतहरूको चर्चा गरिएको छैन ।

मध्य पश्चिम दुर्गम छ, पछि परेको छ र त्यसमा पनि कर्णाली अञ्चल अझ दुर्गम छ, कष्टकर छ, अझ हुम्ला, मुगु र डोल्पा त झनै दुर्गम र कष्टकर छन् । वर्षमा छ महिना भन्दा बढी हिमाच्छादित हुनाले हिउँमा काठिनुको पीडा एकातिर छ, अर्कोतिर यहाँको उत्पादनले वर्षमा दुई महिनालाई धान्न नसक्नु को संकट छुट्टै छ । हुम्लाकै कर्णबहादुर रोकायद्वारा सङ्कलित एउटा गीतमा यसैको एउटा विम्ब छ :

ह्युँ हुम्लै दुर्गम हुम्लै हुम्लै डाँडा पन ।
सुखी गरिब दुःखीधनी वैराग राणकन ।।

जतिसुकै कष्टकर भए पनि जन्मभूमि अत्यन्त प्यारो र राम्रो लाग्नुको साक्ष्य प्रस्तुत गर्ने रोकायाकै एउटा लोकगीत यस्तो छ :
हुम्ला राम्रो बाँझ गुराँस करनाली तिरैमा ।
हाँस्याका छन् बाँझ गुराँस ।

सन्दर्भ सामग्रीः

गिरी, जीवेन्द्रदेव (२०५७), लोकसाहित्यको अवलोकन, काठमाडौंः एकता प्रकाशन ।
गिरी, मधुसूधन (२०४९), कणाली प्रदेशका न्याउल्या गीतमा आलङ्कारिकता, प्रज्ञा (पूर्णाङ्क–७७)
काठमाडौंः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
जोशी, सत्यमोहन (२०१४), हाम्रो लोक संस्कृति, काठमाडौंः रत्नपुस्तक भण्डार ।
थापा, धर्मराज र हंसपुरे सुवेदी (२०४१), नेपाली लोक साहित्यको विवेचना, काठमाडौंः त्रि.वि. पाठ्यक्रम विकास केन्द्र ।
देवकोटा, रत्नाकर (२०५२), कणालीको अथइति, ललितपुरः साझा प्रकाशन ।
पन्त, जयराम (२०६६), देउडा, काठमाडौंः वाङ्मय प्रकाशन ।
पराजुली, कृष्णप्रसाद (२०५७), नेपाली लोकगीतको आलोक, काठमाडौं वीणा प्रकाशन प्रा.लि. ।
पोखरिया, देवसिंह (१९४६) कुमाउनी लोकसाहित्य एवम् कुमाउनी साहित्य, अल्मोडाः श्री अल्मोडा बुक डिपो ।
बन्धु, चुँडामणी (२०५८), नेपाली लोकसाहित्य, काठमाडौंः एकता बुक्स प्रकाशन ।
योगी, नरहरिनाथ (२०१३), इतिहास प्रकाशन, भाग–३ ।
रोकाया, कर्णबहादुर (२०५५), हुम्लाका लोकगीत (अप्रकाशित लघु सोधपत्र), त्रि–चन्द्र क्याम्पस, घण्टाघर ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु