१२ सय वर्ष पुरानो गुम्बा व्यवस्थापनको तितो व्यथा सुन्ने कसले !
बाहिरबाट हेर्दा लाग्छ यो गुम्बा नेपालको आफैमा एक अनमोल र ऐतिहासिक सम्पदा हो । तर होइन रहेछ राज्यले नाम मात्र दिएर संरक्षण नदिएको लामो व्यथा र कथा पनि गुम्बाले संगालेर राखेको छ । यो हो हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ हल्जी गाउँमा अवस्थित करीब १२ वर्ष पुरानो गुम्बा व्यवस्थापनको मार्मिक कथा !

असोज महिनाको पारिलो घामको किरणसँगै सुनौलो रङ पोतिएको लोभलाग्दो वातावरणमा म कर्णबहादुर रोकाया र नरजंग तामाङ्ग लिमी गाउँको खाद्यान्न समस्याको विशेष रिपोर्टिङ्गका लागि वडा अध्यक्ष पाल्जोर तामाङ्गको सिफारिशमा लिमी पुगेका थियौं ।
असोज २७ गते बुधबार बिहान ८ः३० बजे हामी नेपालको अति प्राचिनकालमा बनेको १२ सय वर्ष पुरानो गुम्बाको आँगनमा त्यहाँका टावाहरूसँग गुम्बा दर्शनका लागि अनुरोध गर्दै थियौं । त्यसैबेला एक जना जर्मन पर्यटन एजेन्सीमा काम गर्ने हल्जी गाउँका युवासँग जम्काभेट भयो । अन्दाजी २५ वर्षका छेवाङ्ग ङुटुप तामाङ्गले हामीहरू लिमीको हल्जीमा आउनेको कारण सोधे, हामीहरू पत्रकार हौं र यहाँको खाद्यान्न समस्याको बारेमा जानकारी लिन आएको बतायौं । उनी आफ्नो खेतमा जाँदै थिए ।
म गाउँको सामुदायिक भवन चिकाङमा गएँ, जहाँ हल्जी गुम्बाका टावाहरू आफ्नो नित्य पूजा गर्दै थिए । मैंले एक जना टावालाई गुम्बा दर्शन गर्नका लागि अनुरोध गरेँ । उनले तुरून्तै चावी ल्याएर गुम्बा दर्शन गराउनका लागि राजी भए । हामी उनीसँगै गुम्बाभित्र प्रवेश गर्यौं । बाहिर भेटिएका छेवाङ्ग ङुटुप तामाङ्ग पनि गुम्बाको माथिल्लो बार्दलीमा आइपुगेका रहेछन् । उनी नेपाली, अंग्रेजी र स्थानीय लामा भाषा बुझने भएकाले हाम्रो पनि स्वयम्सेवी गाइड बनेर गुम्बाको प्राविधिक र परम्परागत कुराहरूको जानकारी दिन थाले ।
उनै छेवाङ्ग ङुटुपका अनुसार तिब्बतका महान् अनुवादक रिन्छेन जाङ पोले स्थापना गरेको १०८ गुम्बामध्ये यो हल्जी गाउँको गुम्बा अन्तिम भएको र उनले पनि यही लिमीको पबित्र भूमिमा नै समाधी लिएको थिए । उनैले प्रचलनमा ल्याएको रेखठेक र राठा अर्थात् चालचलन र संस्कार आजसम्म पनि सुचारू रहेको थाहा पाइयो । यो गुम्बाको इतिहास, पुरातत्व, धर्म, संस्कृति, परम्परा र अन्य कुराहरूमा पृथक महत्व रहे पनि सरकारले आजसम्म हेर्न नसकेको बताउदै गुम्बाका मुख्य टावा अर्थात् बुक्वा सोनाम तुन्डुप तामाङ्गले दुःख व्यक्त गरे । उनले भने ‘यहाँ कति आए कति आए । गुम्बा हेर्न आउँछन्, यो दिन्छु ऊ दिन्छु भनेर ट्वाक अर्थात् गफ हाँकेर जान्छन् । गएपछि बिर्सन्छन् । तिमीहरू पनि त्यस्तै त हौला नि ? किन आएको यस्तो महामारीको समयमा ? के ल्याएर आयौं ? किन आयौं ?’ यस्ता धेरै आक्रोसपूर्ण आवेशका भावहरू हामी माँझ पोखे । मैले पनि स्पष्ट भाषामा भने, ‘हामी तपाईहरूलाई केही दिन आएका हैनौं । भर्खर सरकारले लिमीको तीन गाउँ तील, हल्जी र जाङका लागि दिएको चामल र यहाँको समस्याका बारेमा जान्न आएका हौं । तपाईले हामीलाई गुम्बा दर्शन गराउने नगराउने तपाईको इच्छा’ यति भनेपछि उनले गुम्बाको तल्लो तलामा रहेको विभिन्न प्रकारका मुर्तिहरूका साथमा रहेको गुम्बा स्थापना गर्ने रिन्छेन जाङ पोको बारेमा पनि जानकारी दिए । यसका साथै गुम्बाका लागि चाहिने अत्यावश्यक कुराहरूको फहरिस्त बताए ।
भनिन्छ राज्यको सेवा सुविधा पनि नेपालका दूरदराजमा पुगेका छैनन्, पुगेको बजेट र विकास पनि राजनीतिका अगुवा र हगुवाहरूले खाई दिँदा स्थानीयहरूको आक्रोस बढ्नु पनि स्वाभाविक देखिन्छ । यो १२ सय वर्ष पुरानो हो भनेर हामीले जति गर्व गछौं, त्यस्तै यो गुम्बालाई अहिलेसम्म यस्तो धरोहर बनीरहनुमा यहाँका टावाहरू र स्थानीयहरूको रगत, पसिना र श्रमको थोपा–थोपाको योगदान छ । चाहे मानसिक कष्ट किन नहोस्, चाहे शारीरिक र आर्थिक व्यथाले नै किन नपिरोलोस् उनीहरू निस्वार्थ गुम्बा संरक्षणमा खटिरहेका छन् ।
भनिन्छ राज्यको सेवा सुविधा पनि नेपालका दूरदराजमा पुगेका छैनन्, पुगेको बजेट र विकास पनि राजनीतिका अगुवा र हगुवाहरूले खाई दिँदा स्थानीयहरूको आक्रोस बढ्नु पनि स्वाभाविक देखिन्छ । यो १२ सय वर्ष पुरानो हो भनेर हामीले जति गर्व गछौं, त्यस्तै यो गुम्बालाई अहिलेसम्म यस्तो धरोहर बनीरहनुमा यहाँका टावाहरू र स्थानीयहरूको रगत, पसिना र श्रमको थोपा–थोपाको योगदान छ । चाहे मानसिक कष्ट किन नहोस्, चाहे शारीरिक र आर्थिक व्यथाले नै किन नपिरोलोस् उनीहरू निस्वार्थ गुम्बा संरक्षणमा खटिरहेका छन् ।
हाल उत्तरी नाका सामाजिक र राजनीतिक कारणले बन्द हुँदा एक छाक थुक्पा खाएर भए पनि गुम्बाको रक्षा र सुरक्षाका लागि यहाँका टावाहरूले कष्टमय जीवन व्यतित गरेको कुरा मुख्य टावा सोनाम तुन्डुप तामाङ्गले हामीलाई जानकारी गराए ।
उनका अनुसार यहाँ बस्ने ३५ जना टावाहरूका लागि दैनिक अत्यावश्यक खानेकुराहरूको परिपूर्तिका लागि महिनामा दुई लाख खर्च हुने गरेको छ । यसको जोहो प्रत्येक टावाहरूले आ–आफ्नो घरबाट ल्याएर परम्परा धानेका छन् । हाल गुम्बामा खाद्यान्न, नुन, तेल, दाउरा, धुप गर्ने घीउ, तरकारी र अन्य सामानहरूको चरम अभाव छ ।
न त श्रम गर्ने ठाउँ र वातावरण छ । न आम्दानीको स्रोत र समय पनि । अब त हिउँद पनि आयो पूजाआजाका दिन पनि बढ्दै गए । सीमित स्रोत साधनले यो असीमित कामलाई के कसरी व्यवस्थापन गर्ने हो टावालाई ठूलो चिन्ता छ ।
यो वर्ष गुम्बाको दैनिक पूजाआजा र अन्य नियमित पूजाका लागि धेरै गाह्रो हुनेमा हल्जी गाउँका स्थानीयहरू पनि सहमत छन् । यो वर्ष हल्जी गाउँमा रहेको १२ सय वर्ष पुरानो गुम्बाको दैनिक क्रियाकर्म चलाउन गाह्रो हुने देखिएको छ । यसका लागि सरकारले पनि नियमित कुनै कोषको व्यवस्था गरेर यो ऐतिहासिक तथा पुरातात्विक सम्पदालाई जोगाउने काममा ध्यान दिने हो कि ? सबैलाई चेतना भया, ऊँ मणिपद्मे हुँ सा ।