२१ फाल्गुन २०७७, शुक्रबार

भ्रष्टाचार विरूद्धका अभियन्ता नमस्कार शाहको ‘खबरदारी’ पुस्तक सार्वजनिक



२ कार्तिक, नेपालगन्ज । भ्रष्टाचार विरूद्धका अभियन्ता तथा बासका कार्यकारी निर्देशक नमस्कार शाहको नयाँ पुस्तक ‘खबरदारी’ विमोचन भएको छ । शनिबार नेपालगन्जमा आयोजित एक कार्यक्रमका बिच नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणा, भ्रष्टाचार विरूद्धका अभियन्ता केदार खड्का, लेखक शाहका आमा रमादेबी शाह र दाई जयनारायण शाहले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन् ।

पुस्तक विमोचन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमसेर राणाले भ्रष्टाचारीलाई सामाजिक रुपमा बहिष्कार नगरेसम्म देशको विकास सम्भव नहुने बताए । भ्रष्टाचार शुन्य गर्न नसके पनि निरन्तर भ्रष्टाचार विरूद्ध काम गरेमा न्यूनीकरण गर्न सकिने उनले बताए । बौद्धिक तथा ईमान्दार ब्यत्तिलाई राजनितिमा आउन अनुरोध गर्दै असल ब्यक्तिले नेतृत्व नगरेसम्म परिवर्तनको अपेक्षा गर्नु गलत हुने उनको भनाई थियो । बास र नमस्कार शाहले भ्रष्टाचार विरूद्ध खेलेको भूमिकाको प्रशंसा गर्दै राणाले भने, ‘विदेशमा भ्रष्टाचारीले चुनाव लड्ने आटै गर्दैन तर नेपालमा अत्यधिक बहुमतले जित्छ, भ्रष्टाचार गरि जेल गएको ब्यक्ति छुट्दा हजारौं नेपालीले नै फूलमालाले स्वागत गर्ने गलत संस्कार नेपालमा विद्यमान छ । यस्तो गलत संस्कार तोड्नु पर्छ ।’ खबरदारी भ्रष्टाचार विरूद्धको एउटा महत्वपूर्ण लिखित दस्ताबेज हुने भन्दै राणाले सुशासनको अभियानमा पूर्ण रूपमा सहयोग र समर्थन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

यस्तै भ्रष्टाचार विरूद्धका अभियन्ता केदार खड्काले लेखक शाहलाई मध्यपश्चिम कै चम्कीलो ताराका रुपमा उदयमान भएको आफूले देखेको प्रतिक्रिय दिए । भ्रष्टाचार विरूद्ध निरन्तर लडीरहनुपर्ने भन्दै युवाहरूको जुझारुपनले मात्रै समाज सुरक्षित हुने उनको भनाई थियो । समाजमा बिद्यमान भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीसँगै सार्वजनिक ब्यक्तिले गरेको पदको दूरूपयोगको यथार्थ चित्रण गरिएकाले ‘खबरदारी’ उत्कृष्ट पुस्तक रहेको उनले बताए ।

‘खबरदारी’का लेखक नमस्कार शाहले आफूले लेखेका लेख, सस्मरणहरू, भ्रष्टाचार विरूद्धको १९ वर्षे लामो यात्रामा गरेका क्रियाकलापहरू र भोगाईहरू पुस्तकमा समेटिएको बताए ।

वि.स. २०४१ साल साउन २३ गते अछामको तुर्माखाँदमा जन्मिएका लेखक शाहले अन्तवार्ताको संग्रह कुराकानी २०६३, को हुन सेतु २०६४, सुशासन २०७३ यस अघि नै प्रकाशन गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु