१८ मंसिर २०७७, बिहीबार

“युद्ध र सपना”



तिमीलाई पनि
न्याय दिलाउँछु
हेलामुक्त बनाउँछु
छुवाछुत हाटाउँछु भन्यो
हुन्छ हजुर भने

म कहिल्यै
हतियार नउठाएको मान्छे
तर बदलामा
बन्दुक उठाउनु पर्छ भन्यो

सियोले घोच्दा घोच्दा
लाटो भै सकेको
आमाको
हातका औँला सम्झिएँ
दशैँ सम्झिएँ
दशैँको बालिघरे भाग
खसीको पुच्छर सम्झिएँ
म हेपिएको मान्छे
हुन्छ हजुर भने ।

तिमीलाई पनि
पेटभरि खान पाउने बनाउँछु
आफ्नै खेत बारीको
मालिक बनाउँछु भन्यो
हुन्छ हजुर भने

म कहिल्यै
पटका नपड्काएको मान्छे
तर बदलामा
बम पड्काउनु पर्छ भन्यो

कम्लरी बहिनीको
रगतको टाटो सम्झिएँ
जो महिनावारी भएर
बगेको थिएन
साहुको बारी जोत्दा जोत्दा
हलो जस्तै दोब्रिएको
बाको ढाड सम्झिएँ
म दबिएको मान्छे
हुन्छ हजुर भने ।

यो देश तेरो पनि हो
अब उठ् आस्याङ्ग
जाँड बनाउने होइन
भविष्य बनाउने हो भन्यो
हुन्छ हजुर भने

म कहिल्यै
ढडिया नथापेको मान्छे
तर बदलामा
एम्बुस थाप्नुपर्छ भन्यो

छोरीको आँशु अनि
बम्बइको कोठी सम्झिएँ
आलेको खल्तीको मट्याङ्ग्रा
घाँटीको गुलेली सम्झिएँ
भिरबाट लडेको गोरू सम्झिएँ
स्वास्नीको फुटेका पैताला
च्यातिएको फरिया सम्झिएँ
म पिछडिएको मान्छे
हुन्छ हजुर भने ।

तर !
मलाई के थाहा
आफैले चलाएको बन्दुकको गोली
यत्तिका बर्ष पछाडि
मेरै निधार ताकेर फर्किन्छ भनेर ।

के थाहा !
उतिबेला पड्काएको
बमको धमाकाले
आज बाँच्दै गरेको जीवन
अँध्यारो बनाउँछ भनेर ।

मलाई के थाहा !
आफैले थापेको एम्बुसमा परेर
उछिट्टिएर खाडी पुगेको
मेरो सन्तति
रातो बाकसमा फर्किन्छ भनेर ।

फेरि
कुन युद्धको तयारी गर्दैछ
हरे !
एउटा सरकारमा बसेर
सपना बाँड्दैछ
अर्को
सडकमा भात बाँड्दैछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु