४ कार्तिक २०७७, मंगलवार

कर्णाली प्रदेशकै ठुलो रानिरहडा सामुदायिक खानेपानी आयोजना उद्घाटन



१ कार्तिक, काठमाडौं । कालिकोटको नरहरिनाथ गाउँपालिकाले कर्णाली प्रदेशकै ठुलो सामुदायिक रानिरहडा खानेपानी आयोजना सञ्चालनमा ल्याएको छ । शनिबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष धिरबहादुर बिष्ट र उपाध्यक्ष मनशोभा बुढाद्वारा संयुक्त रूपमा खानेपानी आयोजना उद्घाटन गरिएको हो ।

हेल्भेटास नेपालको आर्थिक सहयोग र स्थानीय साझेदार संस्था हुरूण्डेक नेपालको प्राविधिक सहयोगमा २ करोड ५५ लाख १२ हजार ७ सय ९७ रूपैयाँ लागतमा खानेपानी आयोजना सम्पन्न भएको हो ।

जसमा हेल्भेटासको १ करोड, नरहरिनाथ गाउँपालिकाको १ करोड लगानि र बाँकी स्थानीयको श्रमदानमा महत्वकांक्षी खानेपानी आयोजना सम्पन्न भएको गाउँपालिका अध्यक्ष धिरबहादुर बिष्टले बताए । रारापाटीसँग कुरागर्दै अध्यक्ष बिष्टले भने, ‘एकैचोटी ३८२ घरधुरीमा धाराहरू पुगेपछि पुस्तौंदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयवासी निकै खुशी भएका छन् । डोको बोकेर १ घण्टाको पैदल यात्रा गरी खानेपानीको जोहो गर्नुपर्ने स्थानीयको बाध्यता पनि सदाका लागि अन्त्य भएको छ ।’ तत्काल ३८२ धाराहरू सञ्चालनमा आइसकेको र बाँकी २५० घरधुरीमा धाराहरू जडान गर्न सर्वेक्षण भइरहेको अध्यक्ष विष्टले जानकारी दिए ।

साझेदार संस्था हुरूण्डेक नेपालका अध्यक्ष जजराज शाहीका अनुसार रानिरहडा कर्णाली प्रदेशकै सबैभन्दा ठुलो सामुदायिक खानेपानी आयोजना हो । यस्तो महत्वपूर्ण आयोजनामा साझेदार संस्थाको भूमिका निर्वाह गर्ने अवसर प्राप्त भएकोमा आफु गौरवान्वित भएको अध्यक्ष शाहीले बताए ।

हुरूण्डेक नेपालका उपाध्यक्ष विरेन्द्र बुढाले आफ्नो संस्थाले व्यवस्थापकीय पाटोमा काम गरेको बताए । हुरूण्डेक नेपालले आयोजना निर्माण कार्यमा समुदायको परिचालन, सार्वजनिक लेखा परिक्षण, सामाजिक परिक्षण र अन्य प्राविधिक पाटोहरूमा काम गरेको थियो । ‘मंसीर ५ गतेबाट आयोजना निर्माण आरम्भ गरिएको थियो । असार मसान्तसम्म कार्य सम्पन्न गर्ने लक्ष्य लिइएकोमा असार १० गते नै आयोजनाका सम्पूर्ण कार्यहरू सम्पन्न गर्न सफल भयौं ’ संस्थाका उपाध्यक्ष बुढाले भने ।

खानेपानी आयोजना सञ्चालनमा आएसँगै नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ का भाटगाउँ, गानेचौर, खाटेपडा, श्रीकोट र कोटबाडा लगायतका बस्तीहरू प्रत्यक्ष लाभान्वित भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु